विचार

धैर्यवान अनि शान्त र सावधान !!

- गोपाल किराती

संविधानसभा चुनावको परिणामले देखाएको छ,- नेपाली जनताले आधारभूत रूपमा आफूलाई न्याय गर्न सक्दछन् । विगत १९५०को लोकतान्त्रिक आन्दोलनदेखि महान् जनयुद्ध हुँदै हालसम्म नेपाली समाजको अग्रगामी राजनीतिक शक्तिद्वारा अगुवाई गरिएको जनतान्त्रिक आन्दोलनको प्राथमीक अपेक्षा पनि यही थियो, जसका निम्ति हजारौं जनयोद्धाहरूले आफ्नो ज्यानको वलिदान गर्दै आए र हजारौं जीवित योद्धाहरूले आफ्नो जीवनको राजीनामा देश र जनताको नाममा लेखेर आए ।

समानुपातिक प्रणालीतर्फ प्रभावशाली उमेद्वारहरू दिन नसक्नु र प्रचारमा जोड् पुर्‍याउन नसक्नुको परिणाम पूर्ण वहुमत प्राप्त नभएको स्थिति रहे पनि हाम्रो पार्टी नेकपा माओवादी अत्यन्त ठूलो पार्टी भने बन्न पुगेको छ । १९५० र १९९० पछिको चुनावहरूमा आन्दोलनकारी दल नै ठूलो पार्टी बन्ने गरेको पृष्ठभूमिमा नेपाली समाजको आमूल परिवर्तनका लागि सशस्त्र जनयुद्ध र जनआन्दोलनको नेतृत्व गरि आएको शक्तिका हिसाबले हाम्रो पार्टीलाई जनताद्वारा बढी मत प्रदान गरिनु हाम्रो समाजको महत्वपूर्ण ऐतिहासिक अभिव्यक्ति नै थियो । परन्तु, जनसमुदायमा रहेको भ्रम अपेक्षित गहिराईसम्म चिर्न नसक्दा हाम्रो पार्टीले अपेक्षा गरेको अधिकतम् दुई तिहाई र न्युनतम रूपमा पूर्ण वहुमतको सरकार भने बन्न नसकेको तीतो स्थिति पनि सामना गर्नैपर्ने भएको छ । फेरी पनि ठूलठूला ढाडिएका किर्नाहरू भटाभट आगोमा ढलेको देखेर हामी सबैमा प्रसन्नता छाएको पनि छ ।

समानुपातिक तर्फको प्रस्तुत कम्जोरीका साथै वर्ग-संघर्षलाई छाडेर अन्तरपार्टी संघर्षलाई प्रधान बनाउने गंभीर बदमासीका कारण लिम्वुवान र मिथिलाको सत्ता प्रतिक्रान्तिकारी-संशोधनवादी तत्वहरूलाई बुझाउने एउटा अपराध नै भएको छ । मधेस राज्य र मिथिला उपराज्य बनाएपछि सबै ठीक हुन्छ भन्ने तथा किरात राज्यको विभाजनबाट लिम्वुवान राज्य खडा गरेपछि चमत्कार देखाइन्छ भन्ने हाम्रै पार्टीका कुपमण्डुकहरूका कारण नै त्यस क्षेत्रमा हाम्रो पार्टीले सर्मनाक पराजय व्यहोर्नु परेको छ । र, ती क्षेत्रहरूले प्राप्त गरेको राज्य संरचना एवं आत्मनिर्णयको अधिकार कुन शक्तिले संचालन गर्दाे रहेछ, भन्ने खतर्नाक वास्तविकता सबैका सामु प्रस्ट पारेको छ । यतिसम्म कि लिम्वुवानको राज्य इन्चार्ज र सेक्रेटरी मात्र होइन, माओवादी लिम्वुमोर्चाको केन्द्रीय अध्यक्ष नै तेस्रो स्थानमा मात्र देखा पर्नुले त्यस क्षेत्रमा भारतीय विस्तारवाद लगायत प्रतिक्रान्तिकारी अखडा कायम नै रहेको खतरालाई आम पार्टीपंक्ति तथा देशभक्त शक्तिहरूले मनन गर्नै पर्दछ । त्यसका विपरित किरात राज्यमा भने दुई जना महिला सहित १२ स्थान मध्ये दश स्थानमा सान्दार विजय हासिल गरेर किरात राज्य नै पूर्वी नेपालको एक मात्र माओवादी लालकिल्ला हो, भन्ने तथ्य दुनियाँमा स्थापित गरिनु नेपाली क्रान्तिकै महान्तम् गौरवशाली योगदान भएको छ । सोलुमा ९ का विरुद्ध १९ गोलले क.गोपाल किराती, ओखलढुंगामा क.केशव राई र बालकृष्ण ढुंगेल, उदयपुरमा क.मणी खम्वु र मोहन्बहादुर खत्री, खोटाङ्गमा क.रामकुमार 'पासाङ' र क.समिता कार्की, भोजपुरमा क.पदमबहादुर राई र क.सुधन किराती तथा संखुवासभामा क.पूर्णप्रकाश राईको विजयले किरात राज्यमा मौजुद चुनावी स्थान मध्ये ८३∞ भन्दाबढी नेकपा -माओवादी)को विजयलाई प्रमाणीत गरेको छ । बाँकी उदयपुर क्षेत्र नं. १ र संखुवासभा क्षेत्र नं. २ मा पराजयको मूलकारण हाम्रो पार्टीको चार एकीकृत कार्यनीति -जनयुद्ध, जनआन्दोलन, वार्ता र कुटनीति)को व्यवहारिक प्रयोगको अभाव हो, भनेर नै बुझ्नु पर्दछ । यद्यपि उदयपुरमा क. राजन किराती तथा संखुवासभामा क.राजेन्द्र किराती ज्यादै झिनो मतले मात्र पछाडी पर्नु भएकोले यी दुवै क्षेत्रका जनताद्वारा हाम्रो पार्टीलाई कडा प्रतिस्पर्धाको स्तरमा सम्मान गरिएको प्रष्ट छ ।

यसरी किरात राज्य समेत देशका नौ वटा राज्यहरूमा गौरवशाली विजयका लागि अमर शहीदहरूको बलिदान, शहीद परिवारहरूको आँसु र पार्टी कार्यकर्ताहरूको पशिनाको समुन्द्रले भूमिका खेलेको छ । त्यसरी रगत, आँसु र पसिनाको पोखरीमाथि ठड्याइएको विजयको झण्डालाई जवसम्म मानव समाज साम्यवादको दुनियाँमा पुग्ने छैन, तवसम्म कहिल्यै झुक्न नदिने सर्वहारा क्रान्तिकारीहरूको प्रतिवद्धता अपरिहार्य छ । सोलुको सन्दर्भमा चुनावी अभियानमाथि भ्रष्टाचारीद्वारा हमला गरिएर शहादत प्राप्त गर्नु हुने क.गंगा भूजेलको बलिदानले जिल्लालाई एक पटक विश्वव्यापीकरण गरेको छ । जिल्ला पार्टी, वाइसीएल, जवस-मोर्चा तथा सोलु-काठमाडौं गणतान्त्रिक मञ्च र चम्किलो तारा साँस्कृतिक परिवारको नेतृत्वदायी भूमिका रहेको थियो । अन्य संस्थाहरूमा जनजाती महासंघ अन्तर्गतका जिमीराई समाज, तामाङ्ग घेदुङ्ग, शेर्पा संघ, मगर संघ एवं गुरुङ्ग संघहरूले सशक्त भूमिका निर्वाह गरेका छन् । साथै नेपाली कांग्रेस र एमालेभित्रका सच्चा गणतन्त्रवादी मित्रहरूको सकारात्मक प्रयत्नले सोलुखुम्वुमा विश्व क्रान्तिको नयाँ कमाण्ड पोष्ट खडा गर्न हाम्रो पार्टी सफल रहेको छ । प्रस्तुत संस्थाहरू र आम मतदाताहरूलाई हाम्रो पार्टी धन्यवाद सहित विजयको निम्ति वधाई ज्ञापन गर्दछ । किरात राज्यव्यापी रूपमै मुठ्ठीभर घुसखोर तथा गुण्डाहरू वाहेक कुनै विनापूर्वाग्रह सबै देशभक्त, गणतन्त्रवादी एवं वामविचारका नयाँ नेपालको इतिहासका निर्माता महान् जनसमुदायप्रति राज्य पार्टी कार्यालय धन्यवाद र वधाइ ज्ञापन गर्दछ ।

अन्तमा, यो विजयको लहरलाई संगठनमा ढाल्ने र राजावादी- भ्रष्टाचारीलाई कानुनी एवं जनकार्यवाही गर्दै दीर्घकालीन विकासका लागि राजनीतिक प्रतिस्पर्धामा सबैतिर दुईध्रुव खडा गर्न हामी लागि पर्नु पर्दछ । किरात राज्यको निर्वाचित प्रतिनिधिले आफ्नो क्षेत्र वा जिल्लाको सबै गाजसमा वर्षमा एक पटक पुगेर भेटघाट तथा सुझाव संकलन कार्यक्रम संचालन गरेको हुनै पर्ने योजना निश्चित गरिन्छ । अवको हाम्रो तात्कालिक प्राथमिकता संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यन्वयन हुनेछ भने नयाँ संविधानमा नयाँ नेपालको नयाँ राज्यव्यवस्थाका लागि केन्द्रदेखि गाउँसम्म राज्यसत्ताको वैज्ञानिक पुनःसंरचना र आर्थिक क्रान्तिलाई जोड दिइनु पर्दछ । यसबाट मात्र नेपाली समाजको क्रान्तिकारी रूपान्तरण सम्भव रहेको तथ्य हाम्रो पार्टीले हिजैदेखि जाहेर गर्दै आएकै छ । यी संभावनाहरू पक्डनका निम्ति भियतनामी नेता क.होचिमिन्हले निर्देशन गर्नु भए झैं "एक जना क्रान्तिकारी सधै धैर्यवान अनि शान्त र सावधान रहन्छ ।"लाई आम पार्टी कार्यकर्ता एवं राष्ट्रियता प्रधान गणतन्त्रवादी नागरिकहरूले आत्मसात गर्नै पर्दछ ।

हामी निर्वाचित सभासदहरूले त झन् देश र जनताको हितमा उच्चतम् गंभीरता र जवाफदेहीपूर्ण ढंगले धैर्यवान अनि शान्त र सावधान रहनै पर्दछ । नेपाली क्रान्तिका सामु ठडिएको ज्यादै ठूलो पहाड हामीले चढिसक्यौं । यसका अगाडि सानातिना डाँडाकाँडा र खोल्साहरू अझै बाँकी छन् । सबैको जिम्मेवारीपूर्ण धैर्यताले संविधानसभाका प्रतिनीधिहरूद्वारा ती डाँडाकाँडाहरू छिट्टै पार गरिने छन् र हामी नेपालीहरू नयाँ नेपालको विशाल मैदानमा निकट भविष्यमै पुग्दैछौं त्यसको निम्ति पनि क्रान्तिकारी धैर्यता नै जरुरी छ ।

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd