अन्तरवार्ता
राजतन्त्र
समाप्त भइसकेको छ
- डा.बाबुराम भट्टराई, वरिष्ठ
माओवादी नेता
तपाईहरुले सांस्कृतिक राजा राख्दै
हुनुहुन्छ रे हो ?
यो आकाशबाट हो कि कहाबाट हो यस्ता
कुराहरू वर्षेका छन् हामीलाई थाहा छैन । जसरी १० वर्षे
जनयुद्धमार्फत् नेपाललाई गणतन्त्रमय बनायौं त्यसमा हामी
गर्व गर्छाै । नेपाली जनताले हाम्रो गणतन्त्रको
एजेण्डालाई अनुमोदन गरेका छन् । अन्तरिम संविधानले पनि
नेपाललाई गणतन्त्र घोषणा गरिसकेको छ, पहिलो बैठकले
त्यसलाई कार्यान्वयन गर्ने मात्रै हो । त्यसैले यस्ता
बेतुकका हल्ला गर्नेहरूको खण्डन गरेर हामी समय बर्बाद
गर्न चाहादैनौं ।
तर अहिले पनि राजावादीहरुसाग
तपाईहरुको भेटघाट बढेको छ भनिन्छ नि ?
हिजो पञ्चायतकालमा सबै राजावादी
थिए । सीमित क्रान्तिकारीहरू मात्रै गणतन्त्रवादी थिए
। बदलिएको परिवेशमा हिजोका राजावादी जो अहिले
गणतन्त्रवादी भएका छन् उनीहरूलाई हामी साथमा लिएर जान
चाहन्छौं । अहिलेको आवश्यकता भनेको नयाँ आधारमा नयाँ
राष्ट्रिय एकता हो । सबै राजनीतिक शक्तिहरू मिलेर
मुख्य देशभक्त, गणतन्त्रवादी र वामपन्थी शक्तिहरूको
बृहत् एकता गरेर जानुपर्छ भन्ने हाम्रो मान्यता हो ।
त्यसअनुसार हामी सबैलाई गणतान्त्रिक युगका सहयात्री
बन्न आहृवान गर्न चाहन्छौं ।
त्यसो भए पूर्व राजा
ज्ञानेन्द्रलाई संविधानसभाको पहिलो बैठक अगाडि नेकपा
(माओवादी)ले के सन्देश दिन
चाहन्छ ?
ज्ञानेन्द्रले जनताले दिएको
जनादेशको सम्मान गर्दै कार्यान्वयनलाई सहज बनाएर
लैजानुपर्छ । एउटा सामान्य नागरिकको रूपमा बस्ने उहााले
वातावरण बनाएर लैजानुपर्छ । त्यसो हुन सक्यो भने देशमा
नयाँ राष्ट्रिय एकताको वातावरण बन्न सक्छ । त्यसपछि
देशी विदेशी प्रतिगामी तत्वहरूले खेल्न पाउदैन । त्यसो
नहोस् भनेर हामी सबैलाई आग्रह गर्न चाहन्छौं । विशेषतः
ज्ञानेन्द्र शाहलाई जनताको जनादेश शिरोधार्य गर्दै
गणतन्त्र कार्यान्वयनको प्रक्रियालाई सहज बनाउन आग्रह
गर्दछौं । उहालाई सम्मानित नागरिक भएर बस्न र नयाँ
नेपाल निर्माणको अभियानलाई सघाउन हामी आग्रह गर्दछौं ।
के त्यसो भए पूर्व राजा आम
नागरिकको रूपमा बस्छन् ?
सबै नागरिकले बराबर अधिकार
प्राप्त गर्न सक्छन् । ज्ञानेन्द्रलाइ पनि सामान्य
नागरिक सरह सामाजिक, आर्थिक, सांस्कृतिक अधिकारको कुरा
हामीले गरेका हौं । राजाको अधिकारको कुरा हामीले गरेका
छैनौं । राजतन्त्र त समाप्त भइसकेको छ ।
अरु राजनीतिक दलहरूसागको
तपाईहरूको संवाद कहा पुग्यो ?
राजनीतिक दलहरूसाग हाम्रो छलफल
जारी छ । संविधानसभाको बैठकको प्रक्रियाको विषयमा पनि
संविधानविद्साग हामीले छलफल गरिरहेका छौं । सात दल र
अन्य दलहरूसाग छलफल गरी संविधानसभाको पहिलो बैठक
छिटोभन्दा छिटो बोलाउने र त्यसबाट गणतन्त्र
कार्यान्वयन गर्ने र नयाँ सरकार निर्माण गर्ने तयारीमा
हामी छौं । सबै कुरा सहज ढंगले अगाडि बढ्नेछ । किनकि
जनताको जनादेश पनि यही हो । यसलाई सबैले पालना पनि
गर्छन् ।
एमाले र कांग्रेस नयाँ सरकारमा
नबस्ने भनिरहेका छन् नि ?
जनताको जनादेश र देशको आवश्यकता
भनेको सबै जिम्मेवार राजनीतिक शक्तिहरू मिलेर अगाडि
बढुन् भन्ने नै हो । संविधानसभाको निर्वाचन कुनै
संसदीय निर्वाचन होइन । त्यसैले सबैको सहमति लिएर नयाँ
संविधान निर्माण गर्नुपर्छ । त्यस निम्ति कांग्रेस,
एमालेलगायतका सबै राजनीतिक पार्टीहरूको सहकार्य जरुरी
छ भन्ने लाग्छ । त्यसकै निम्ति हामीले पहल गरिरहेका
छौं । सबैसाग हामी यसका लागि आग्रह पनि गर्छाै ।
जहासम्म सरकार छोड्ने कुरा हो नयाँ सरकार बनाउने ढोका
खुला गरिदिनका लागि अहिलेको सरकार त सबैले छोड्नैपर्छ
। । तर आगामी नयाँ सरकारमा सबै नयाँ ढंगले समावेश भएर
जानुपर्छ ।
अबको सरकारको नेतृत्व अध्यक्ष
प्रचण्डले गर्नुहुन्छ हो ?
यहाा धेरैलाई एउटा के भ्रम
परिरहेको छ भने सरकार भनेको मन्त्रिमण्डल मात्रै हो ।
जबकि हामीले राज्यसत्ता नै नयाँ निर्माण गर्दैछौं ।
गणतान्त्रिक नयाँ राज्य व्यवस्थाको सरकारको स्वरूप तय
हुन बााकी छ । त्यस अर्थमा समग्र राज्यसत्ताको नेतृत्व
नै हाम्रो पार्टीले गर्नुपर्ने हुन्छ । त्यसको प्रमुखको
हैसियतले अध्यक्ष प्रचण्डले नै सरकारको नेतृत्व
गर्नुहुन्छ । हाम्रो आम धारणा यही हो । तर कतिपय
मान्छेहरूले यसलाई अमूक पद धारण गर्ने वा नगर्ने भन्ने
ढंगले प्रचार गरेका छन् । त्यो हाम्रो पार्टीले निर्णय
गरिसकेपछि समग्रमा नयाँ नेपालको नेतृत्व क.प्रचण्डले
गर्नुहुन्छ । यो यथार्थ हो । कुन रूपमा भन्ने कुरा
संवैधानिक व्यवस्था कस्तो गरिन्छ त्यसमा भर पर्छ ।
बजारको चर्चा अधुरो र अपूरो हो ।