दृष्टिकोण

अब नेपालमा एउटै कम्युनिष्ट पार्टी भए पुग्छ

- कृष्ण केसी

हँसियाहथौडा अंकित रातो झण्डा फहराउने मानिसहरू यो देशमा सबैभन्दा धेरै छन् भन्दा कतिपय मान्छेहरू तीनछक पर्छन् होला, कति मख्ख पर्छन्, कति अत्तालिन्छनु र छटपटाउँछन् होला । यो सच्चाइलाई पचाउन नसक्नेहरूले यस्तो हुनै सक्दैन भनेर इन्कार र तिरस्कारसमेत गर्न खोज्छन् । त्यो झण्डा बोकाउने पार्टीहरू पनि औसत रूपमा अरु झण्डा बोक्ने पार्टीभन्दा धेरै छन् । त्यस्ता पार्टी कति छन् ? बयान गरी साध्य छैन । कम्युनिष्ट पार्टी स्थापना गर्दा एउटै थियो, अहिले यति धेरै छन् र अब थपिदैनन् भनेर दावी गर्न सक्ने स्थिति र अवस्था छैन । एउटै पार्टी फुटाएर र चोइटाएर जति पनि पार्टीहरू बनाउन सकिंदोरहेछ भन्ने शिक्षा कम्युनिष्ट आन्दोलनले दिएको छ । यसरी चोइटिइएका र फुटेका कम्युनिष्ट पार्टी मध्ये सबैभन्दा ठूलो कम्युनिष्ट कुन हो ? भन्नै मिल्दैन । भन्यो भने त्यो पार्टी फेरी फुट्न सक्छ । त्यस्तो पार्टी फुटाउन कम्युनिष्ट विरोधीहरू ज्यान फालेर लाग्छन र लागेकै छन् । सबैभन्दा क्रान्तिकारी पार्टी कुन हो ? त्यसलाई पनि चिनाउन मिल्दैन । अन्य सबै स्वघोषित कम्युनिष्ट पार्टीहरू रिसाउँछन्, उक्सिन्छन् र झम्टिन्छन् । त्यो पार्टीलाई बिगार्न भत्काउन र सकेसम्म आफूभन्दा खराव बनाउन नसके आफू जस्तै बनाउन लाग्छन् र लागेकै छन् । सबैभन्दा खराब कम्युनिष्ट कुन हो ? त्यो त झन् चिनाउनै हुँदैन, त्यसका रूप, रङ्ग र आवरणहरूको चित्ररण गर्नै हुँदैन । त्यसलाई चिनायो र जस्ताको तस्तै देखायो भने देशभित्र र बाहिरका कम्युनिष्ट विरोधीहरूसमेत झस्किन्छन्, रिसाउँछन् । सबैभन्दा क्रान्तिकारी पार्टी नै सबैभन्दा खराब पार्टी हो भनेर चिच्याउँछन् र त्यही खराब कम्युनिष्ट पार्टीलाई बोकेर अघि बढ्छन् र बढेकै छन् । सबैभन्दा खराब कम्युनिष्ट पार्टी कुन हो त्यो जनताले चिनेपछि जनताको नजरमा गिर्छ र कम्युनिष्ट आन्दोलनबाट बडारिन्छ । कम्युनिष्टहरू कुरा गर्न होइन काम गर्न सिपालु हुन्छन् भनिन्छ तर नेपालमा यस्ता कम्युनिष्टहरू छन्, जसको राजनीतिक पेशा नै 'कुरा गर्ने' देखिन्छ । र उनीहरू कुरा गर्न असाध्यै सिपालु छन् तर व्यवहार र आचरणमा विषालु छन् । तर उनीहरूलाई विषालु भनेर चिनाउन हुँदैन । कम्युनिष्ट विरोधीहरूले तिनै विसालु कम्युनिष्टहरूलाई मिलाएर इमान्दार कम्युनिष्टहरू सिध्याउँछन् र कम्युनिष्ट आन्दोलनलाई सुक्ष्म तरिकाले केलाएर हेर्ने हो भने त्यस्तै विसालु कम्युनिष्टहरू क्रान्तिका बाधक बनेका छन् । यसतर्फ नेपालमा रहेका सबै कम्युनिष्ट पार्टी र ती पार्टीभित्रका सबै इमान्दार कम्युनिष्टहरूले गम्भीर ध्यान दिनुपर्छ, सोंच्नुपर्छ र कठोर कदम चाल्ने जोखिम पनि उठाउनुपर्छ । अरुलाई आदेश, उपदेश, सल्लाह सुझाव विरोध र भण्डाफोर गर्ने होइन, आफूलाई आफैंले चिन्नुपर्छ जोगाउनुपर्छ । गल्नु र विक्नु हुँदैन, झुक्नु र जिउँदो लाश बन्नु हुँदैन । वास्तवमा कम्युनिष्टहरूको शुद्ध र सरल चरित्र नै इमान्दारिता हो । इमान्दारिताको मूल आधार जनताको न्याय, मुक्ति, समानता र स्वतन्त्रताप्रतिको निष्ठा र प्रतिबद्धता नै हो । जनताको निम्ति जस्तोसुकै कदम चाल्न, आफूभित्र रहेको बल, बुद्धि, विवेक, विचार र व्यवहारद्वारा जनताकै सेवा गर्न र आवश्यक परे जनताको निम्ति जीवनकै वलिदान गर्ने क्रान्तिकारीहरू पनि यतिबेला नेपाली धर्तिमै जीवन्त मात्र होइन संसार विउँझाउने गरी जागेका छन् छन् । तिनलाई नदेख्ने र नचिन्ने कम्युनिष्टहरू पनि नेपाल भित्रै छन् । तिमीहरू कम्युनिष्ट होइनौं, हामी मात्रै होऔं भनेर दावी गर्ने तिनै नेताहरूको दम्म र घमण्डले कम्युनिष्ट आन्दोलनलाई बदनाम गरेको छ । तिमी पनि कम्युनिष्ट होऔं हामी पनि कम्युनिष्ट नै होऔं , हामी सबै जुट्नुपर्छ र २१ औं शताब्दीको पूर्वासन्ध्यामा नेपालमा क्रान्ति गरेर विश्व क्रान्तिको विगुल फुक्नुपर्छ भन्ने नेता नेपाली कम्युनिष्ट आन्दोलनमा छ कि छैन ? छन् भने त्यसलाई नेपाली कम्युनिष्टहरूले चिन्नुपर्छ, छैनन् भने इमान्दार कम्युनिष्ट चिनेर जुटाउने त्यस्ता नेता जन्माउनुपर्छ र हुर्काउनुपर्छ । सर्वहारा श्रमजीवी वर्गको राज्य नै खडा गछौं, दुःखी गरिबहरूलाई खुशी दिलाउछौं दलित-उत्पीडितहरू मुक्त गराउँछौं । आदिवासी जनजातिहरूलाई स्वाधिन बनाउँछौं । हेपिएका-चेपिएकाहरूलाई सम्मानित गर्छाै । पिछडिएकाहरूलाई अघि बढाउँछौं । अन्याय भोगेकाहरूलाई न्याय दिलाउँछौं । दमन-उत्पीडनमा परेकाहरूलाई स्वतन्त्र बनाउँछौं । शोषण-उत्पीडनमा परेकाहरूलाई मुक्त गराउँछौं्र भनेर दावी गर्ने, नारा लगाउने र मन्त्रै जम्ने कम्युनिष्ट पार्टीहरूको नेपालमा कमी छैन, तर आफैंले लिएका दर्शन, नीति र योजनाहरूलाई व्यवहारमा उतारेर देखाउने कम्युनिष्ट पार्टी नेपालमा छ कि छैन, छ भने त्यो पार्टीलाई पनि सबै इमान्दार कम्युनिष्टहरूले चिन्नुपर्छ, त्यही पार्टीमा मिसिनु पर्छ र जीवनकै बाजी लगाएर क्रान्तिमा होमिनुपर्छ । त्यो पार्टी कुन हो ? कसैले देखाउनु र चिनाउनु पर्दैन । संसारै हल्लाउने जनयुद्ध र जनआन्दोलनमा होमिएका नेपाली जनतालाई राम्रोसँग थाहा छ र रोजेका पनि छन् राम्रोसँग चिनेका पनि छन्, नेपालमा भएका सबै जनसंघर्ष, जनआन्दोलन र जनयुद्धका ऐतिहासिक उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर नयाँ नेपाल निर्माण गर्ने महाअभियानमा जुटेका जनतालाई फुटाउन खोजे गणतन्त्रप्रेमी नेपालीले फेरि विद्रोहको विकुल फुक्नेछन् र जुरुक्क उठ्नेछन् । संसारभरिका जनआन्दोलन र जनक्रान्तिका कथा र गाथाहरूलाई सजिवन शब्दको मालामा उनेर जनताको दिल र दिमाखमा पस्कने र संसारलाई नै एउटै घर परिवार सम्झने कलमवीरहरूलाई नेपालका क्रान्तिकारीहरूले फेरि विउँझाई दिनेछन् । २० औं सताब्दीको विहानीमा नेपाली जनताले शान्तिका प्रतिक बुद्ध जन्मिएको नेपाललाई शान्त र सम्मृद्ध नयाँ नेपाल बनाउने संकल्प गरेका छन् । युगान्तकारी जनयुद्ध र जनआन्दोलनले जन्माएको संघीय गणतान्त्रिक नयाँ नेपाललाई ऐतिहासिक संविधानसभाको निर्वाचनले संस्थागत गरेको छ, अब धेरै कम्युनिष्ट पार्टी चाहिंदैन, नेपालमा एउटै कम्युनिष्ट पार्टी भए पुग्छ आउनुहोस, सबै इमान्दार कम्युनिष्टहरू एउटै झण्डामुनी लामबद्ध बनेर नयाँ नेपाल निर्माण गर्न जुटौं ।

सबै नयाँ नेपालप्रेमी गणतन्त्रवादीहरूलाई चिनौं, राष्ट्रिय एकता र स्वाधिनताको मालामा गाँसौं, तपाईहरूलाई सोंच्ने फुर्सद छैन भने नेपाली जनताले दिएको आदेश मानेर साझा, सुन्दर, समुन्नत र सम्वृद्ध नेपाली फूलवारीमा फुल्नुहोस् र सुगन्ध छर्नुहोस । पुष्पलाल र विपीले कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई सूत्रपात र संस्थागत गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गरेर अमर हुनुभयो । अब फुटेका इमान्दार कम्युनिष्ट र वफादार देशभक्त लोकतान्त्रिक गणतन्त्रवादीहरूलाई एकतावद्ध गरेर नयाँ नेपाल निर्माण गर्ने युगान्तकारी अवसर प्रचण्डले नेतृत्व र संयोजन गरेको शक्तिलाई ऐतिहासिक जनयुद्ध, जनआन्दोलन र वहुचर्चित संविधान सभाको निर्वाचनले दिएको छ । जनताको आदेश नमान्ने पार्टी र त्यस्ता पार्टीका जनक्रान्ति विरोधी नेताहरू पनि राजतन्त्रसँगै बढारिनेछन् । राष्ट्रघाती, जनविरोधी र देशद्रोहीहरूलाई नेपाली जनताले राम्रोसँग चिनेकाछन् । जुनसुकै रूप, रङ्ग र आवरणमा लुक्न र देखिन खोजे पनि राष्ट्रघाती, जनविरोधी र देशद्रोहीहरू अब बाँकी रहने छैनन आउनुहोस् सबै देशभक्त लोकतान्त्रिक गणतन्त्रवादी र इमान्दार कम्युनिष्टहरू नयाँ नेपाल निर्माण गर्ने महाअभियानमा लामबद्ध बनौं ।

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd