दृष्टिकोण

संविधानसभा चुनावको परिणामले पैदा गरेका सम्भावना र चुनौती

- शीतलकुमार

नेकपा (माओवादी)ले संविधानसभा निर्वाचन-०६४ मा प्रत्यक्षतर्फ स्पष्ट बहुमत र समानुपातिकतर्फ अग्रता हासिल गरेको छ । शान्ति, समृद्वि र सम्मानपूर्ण जीवनयापन गर्ने नेपाली जनताको अभिलासा पूरा गर्न हाम्रो पार्टीले अघिसारेको प्रतिबद्धतापत्रप्रति विश्वस्त भएर नयाँ विचार र नयाँ नेतृत्वलाई जनताले रोजेका छन् । 'सबैलाई हेर्‍यौं पटक-पटक, माओवादीलाई हेरौं यस पटक' भन्ने नारालाई जनताले आत्मसात गरेका छन् । र अध्यक्ष प्रचण्डलाई नयाँ नेपालको प्रथम राष्ट्रपतिको रूपमा प्रस्तुत माओवादी प्रस्तावलाई जनताले अनुमोदन गरेका छन् । वामपन्थी, गणतन्त्रवादी, देशभक्तहरूबीच केन्द्रीयस्तरमा चुनावी तालमेल गर्ने हाम्रो प्रयासप्रति अन्य दलहरू मुख्यतः एमालेको उदासिनता र उपेक्षा भावलाई हाम्रो पार्टीका अध्यक्षले व्यवहारबाट जनतालाई बुझाउन सकेकाले ती दलहरूप्रति आक्रोश व्यक्त गर्दै वामपन्थी, गणतन्त्रवादी र देशभक्त जनताले जनस्तरमा तालमेलको स्वयं पहल गरेर माओवादीलाई अग्रस्थानमा पुर्‍याउन सफल भएका छन् । युगको आवाज र आवश्यकतालाई बुझेर आफ्नै विवेकले पहल लिने नेपाली जनता महान् सावित भएका छन् ।

संविधानसभाको चुनावमा हाम्रो विजयले नेपाललाई आमूल परिवर्तनको संघारमा उभ्याइदिएको छ अर्थात् नेपाली क्रान्ति विजयको सन्निकट आइपुगेको छ । १९औं र २०औं शताब्दीका क्रान्तिहरूले क्रान्ति सम्पन्न भए पछि वैधानिकता प्राप्त गरेका थिए । क्रन्ति पछि वैधानिकता प्राप्त गर्न क्रन्तिका नायकहरूले निकै संघर्ष गर्नु परेको थियो । क्रान्ति सम्पन्न हुनुपुर्व नै क्रान्तिले वैधानिकता प्राप्त गर्नु २१औं शताब्दीको क्रान्तिको विशेषता हो । यो विशेषतालाई बोध गरेर नै हाम्रो पार्टीले २१औं शताब्दीको क्रान्तिको नयाँ मोडेल विकास गरिरहेको छ । यो नयाँ मोडेललाई ठिक ढंगले बुझ्न र बुझाउने चुनौती हाम्रो सामु छ । वर्तमान परिवर्तनलाई अनुभववादीहरूले क्रान्ति सम्पन्न भइसकेको अर्थमा बुझ्दछन् । र पार्टी सत्तामा पुगिसकेको भ्रमपूर्ण सोचबाट ग्रसित हुन पुग्दछन् । भावी दिनमा सत्ताको लागि संघर्ष गर्नुपर्ने आवश्यकताको बोध गर्न सक्दैनन् । यसका विपरीत जडशुत्रवादीहरूले पार्टी संसद्वादमा फसिसकेकाले वर्तमान राजनीतिक परिवर्तनको कुनै अर्थ र महत्त्व नरहेको निष्कर्ष निकाल्दछन् । यस प्रकारका मानिसहरू मात्रात्मक र गुणात्मक परिवर्तनलाई एकअर्काको पूरकको रूपमा होइन एकअर्काको विरुद्ध उभ्याउने कोसिस गर्दछन् । यस प्रकारका सुधारवादी र 'वामपन्थी' सोचबाट पार्टीलाइ मुक्त गर्न जरुरी छ ।

रूप पक्षबाट हेर्दा हाम्रो पार्टी सत्तामा पुगिसकेको देखिन्छ । माओवादीको नेतृत्वमा नयाँ सरकार बन्न गइरहेको छ । तर सारतः द्वैध सत्ताको स्थिति विद्यमान छ । पुरानो सत्ता पूर्णरूपमा विघटन भएर नयाँ सत्ताको उदय भएको होइन । अझै पनि संक्रमणकालीन स्थिति कायमै छ । संक्रमणकालीन राजनीतिक सत्तालाई बुझ्ने सवालमा जनता अझै स्पष्ट छैनन् । २०६४ साल कार्तिक २२ गते नयाँ संविधान जारी हुादाको संक्रमणकालीन स्थितिलाई बुझ्न नसक्दा र मधेसी जनता भ्रमित हुन पुगेको घटना हाम्रो सामु छ । सत्ताको वर्गीय सारतत्वलाई ठीक ढंगले बुझ्न र बुझाउन नसक्दा आगामी दिनमा विपक्षीहरूले हाम्रै राजनीतिक र आर्थिक एजेण्डालाई अगाडि सारेर जनतालाई भड्काउने कुरा निश्चित प्रायः छ । निकारागुवामा साण्डानिष्टाविरुद्ध अमेरिकाले कोन्ट्रा विद्रोही तयार गरेर प्रतिक्रान्ति गरेको घटना हाम्रो सामु छ । समस्यैसमस्या र अभावै-अभावको बीचबाट गुजि्ररहेको जनताले माओवादीलाई सरकारमा पुर्‍याएर राहत अनुभव गरेको छ । माओवादीलाई विजयी गराएपछि आफ्नो दायित्व पूरा भएको र अब माओवादीले दायित्व पूरा गर्न मात्र बाँकी छ भन्ने जनताको अभिमतभीत्र गम्भीर चुनौती लुकेको छ । सामाजिक क्रान्ति अझै पूरा भएको छैन । सरकारको स्वरूप बदलिए पनि सार्वभौमसत्ता अझैं जनताको हातमा आएको छैन र यसका लागि अझैं संघर्ष जारी राख्नुपर्ने कुरा जनतालाई बुझाउने कुरा नै मुख्य चुनौती हो ।

जनताका हातमा सम्पूर्ण सत्ता नआउँदासम्म समाजमा आमूल परिवर्तन गर्न सकिन्न । तत्कालीन झिनामसिना आवश्यकतामा जोड र आमूल परिवर्तनलाई ओझेलमा राखेर पञ्च, कांग्रेस र एमालेले जनताको आदत बिगारिदिएका छन् । यस प्रकारको जनताको सुधारवादी सोचलाई बदल्नु निश्चय नै कष्टसाध्य अभिभारा हो । हामीले हाम्रा नीति, योजना र कार्यक्रमलाई दुई भागमा विभक्त गर्नु पर्दछ । तात्कालिक र दीर्घकालीन । हामीले दीर्घकालीन कामलाई प्राथमिकता दिनुपर्दछ, तात्कालिक कामलाई त्यसको पूरक बनाउनु पर्दछ । तात्कालिक कामहरूले जनताका अगाडि तत्काल देखापरेका समस्याहरूलाई सम्बोधन गर्नु पर्दछ अर्थात् सुधारका केही कामहरू गर्नु पर्दछ । जनताका आधारभूत समस्यालाई हल गर्न दीर्घकालीन महत्त्व राख्ने कामहरू गर्नु पर्दछ । सुधारका कामहरूको उद्देश्य जनतालाई आमूल क्रान्तिकारी परिवर्तनका लागि संघर्ष गर्न आधार तयार गर्ने हुनु पर्दछ । र जनतालाई अग्रगमन, शान्ति र सम्मान प्राप्त गर्नका लागि संघर्ष गर्न प्रेरित गर्नु पर्दछ । यस सवालमा दुई ओटा गलत प्रवृत्ति प्रथमः, सुधारका कामहरूको कुनै अर्थ छैन आमूल परिवर्तनभन्दा तलको कुरा गर्नु क्रान्तिबाट विचलित हुनु हो भन्ने उग्रवामपन्थी चिन्तन द्वितीय, सुधारका काममा नै एकतर्फी जोड दिएर आमूल परिवर्तनलाई ओझेलमा राखेर क्रान्तिबाट विमुख हुने सुधारवादी चिन्तनबाट बच्नु पर्दछ । यी दुवै सोच विरुद्ध संघर्ष गर्नु पर्दछ ।

हाम्रो पार्टी शान्तिसम्झौतामार्फत सरकारमा सामेल भएपछि जनताले हामीबाट नयाँ कार्यशैली र नयाँ योजनाको अपेक्षा गरेका थिए । अनुभवको कमी र अवसरवादीहरूको घेरालाई तोड्न नसक्दा र मन्त्रिमण्डलमा सहभागी नेतृत्व र स्थानीय नेतृत्व बीच आवश्यक छलफल, तालमेल र सहकार्य हुन नसक्दा हाम्रै कार्यकर्ता पंक्ति असन्तुष्ट बन्दा जनअसन्तोषलाई चिर्न निक्कै कठिन भयो । 'जुन जोगी आए पनि कानै चिरेको' भन्ने जनगुनासो रहन गयो । सरकारमा हामी कुन स्थिति र परिवेशमा गएका छौं अर्थात् सत्ताको वर्गीय सारतत्त्वलाई ठीक ढंगले बुझ्न र बुझाउन नसक्दा तिखो आलोचना हुन पुग्यो । सरकारमा हामी संघर्ष गर्न गएका हौं भन्ने कुरा बुझाउन नसक्दा पैदा भएको जटिलताबाट शिक्षा लिएर अब बन्ने नयाँ सरकारको नेतृत्व गर्नु पर्ने आवश्यकता छ । हामीले यो कुरा पनि बुझ्न र बुझाउन सक्नुपर्छ कि विशुद्ध चुनावी धारबाट मात्र बनेको सरकार यो होइन । चिली र इन्डोनेसियाको स्थिति जस्तो पनि होइन । बिगतमा एमालेको नेतृत्वमा बनेको जस्तो निरीह सरकार पनि होइन । दश बर्षको जनयुद्ध र १९ दिनको जनआन्दोलनको जगमा वनेको सरकार हो । यो सरकारले सुधार र आमूल परिवर्तनलाई एक अर्काको पूरक बनाउँदै मुख्यतः क्रान्तिकारी परिवर्तनको आधार तयार गर्न सुधारका कामलाई अबलम्वन गर्नु पर्दछ ।

अन्तर्राष्ट्रिय र राष्ट्रिय शक्तिकेन्द्रले अपेक्षा गरेभन्दा नितान्त भिन्न चुनावी परिणाम आएको परिवेशमा जनमत विरुद्ध उभिन प्रतिगामी र यथास्थितिवादीहरूको लागि प्रतिकूल भएकाले नै उनीहरूले पुरानो सारलाई नयाँ रूपले छोपेर प्रस्तुत हुन विवश हुनु परेको छ । उनीहरूले एक हातले हरियो घाँस देखाइरहेका छन् भने अर्को हातले तरबार उचालिरहेका छन् । 'हलो अड्काएर गोरु पिट्ने' नीतिलाई उनीहरूले व्यवहारमा उतार्नेछन् । यतिबेला हाम्रो पार्टीलाई एकातिर लोभ लालच देखाउने र अर्कोतिर घुमाउरो तरिकाले धम्की दिने काम हुादैन भन्न सकिन्न । विरोध र समर्थनलाई हामीले यान्त्रिक अर्थमा बुझ्नु हुन्न । कतिपय बेला विरोध गर्नु सच्याउनु सहयोग गर्नु हुन्छ । कतिपय बेला समर्थन गर्नु सिध्याउनका लागि हुन्छ । ब्वाँसाले कन्याएर आन्द्रा भुँडी निकालेको दृष्टान्त हाम्रो सामु छ ।

मुख्य कुरा ठीक ढंगले पार्टी पंक्ति र जनतालाई बुझाउने प्रश्नले नै सर्वाधिक महत्त्व राख्दछ । पार्टी पंक्तिलाई सैद्धान्तिक पक्षबाट बुझाउन सकिन्छ । तर जनतालाई व्यावहारिक अनुभवबाट बुझाउन सक्नु पर्दछ । हाम्रो पार्टीको रणनीति र कार्यनीति सही छ भन्ने कुरा जनतालाई व्यवहारबाटै बुझाउन सक्नु पर्दछ । हाम्रा नीति, योजना र कार्यक्रम जनपक्षीय र क्रान्तिकारी हुनु पर्दछ । जब प्रतिगामी र यथास्थितिवादीहरू हाम्रो जनपक्षीय नीति, योजना र कार्यक्रमको विरोधमा उभिन्छन् तब हामीले उनीहरू शान्ति, अग्रगमन र समृद्ध नेपालको विरोधमा भएको कुरो जनताले बुझ्ने गरी व्यवहारबाट देखाइदिनु पर्दछ । हामीले जनताको आधारभूत आवश्यकता पूरा गर्न के-कसरी पहल र प्रयत्न गरेका छौं र अन्य प्रतिगामी र यथास्थितिवादी दलहरू हाम्रो प्रयत्न र पहललाई असफल बनाउन कसरी षड्यन्त्र गरिरहेका छन् भन्ने कुरा जनतालाई व्यवहारबाट हामी बुझाउन सक्छौं कि सक्दैनौ ? हाम्रो सफलताको कुँजी यसै कुरामा अन्तर्निहित छ । सरकारमा हामी पुगे पनि सम्पूर्ण सत्ता जनताको हातमा अझै आइसकेको छैन । जबसम्म सम्पूर्ण सत्ता जनताको हातमा आइपुग्दैन तबसम्म सत्ता प्राप्तिको संघर्षलाई ओझेलमा पार्न हुन्न भन्ने कुरा जनतालाई बुझाउनु पर्दछ । जनताको हातमा सम्पूर्ण सत्ता आएन भने आज प्राप्त गरेका उपलब्धिहरू भोलि सजिलै खोसिने छन् । २००७ साल, ०३६ साल र ०४६ सालका आन्दोलनका उपलब्धिहरू खोसिनु जनताको हातमा सत्ता पूर्णरूपमा नआउनु कै परिणाम हो भन्ने कुरा जनतालाई बुझाउने कुराले अहम् महत्त्व राख्दछ । यसका साथै हाम्रो जीवनशैली अर्थात् कार्यशैलीबारे पनि हामी स्पष्ट हुनु पर्दछ । संसदीय पार्टीहरूले विगतमा प्रदर्शन गरेको जनविरोधी कार्यशैलीबाट हामी कसरी बच्ने ? यद्यपी कार्यशैलीको प्रश्न विचार र नीतिसँग जोडिन्छ । संसद्वादीहरूको विचार र नीति अवैज्ञानिक भएकोले उनीहरूको कार्यशैली पनि जनविरोधी बन्न पुग्यो । हाम्रो विचार र नीति वैज्ञानिक भएकाले हाम्रो कार्यशैली स्वाभाविक रूपमा जनपक्षीय हुन्छ । तर यसलाई पनि यान्त्रिक अर्थमा बुझ्नु हुन्न । कहिले-काँही विचार सही हुँदा-हुँदै पनि कार्यशैली गलत हुन पुग्दछ र गलत कार्यशैलीले सही कार्यदिशालाई गलत दिशातीर लै'जान सक्दछ । अवसरवादीहरूको घेरामा परेर थाहा नै नपाईकन आफू स्वयं अवसरवादी वन्न सक्ने संभावना रहन्छ । उच्च विचार, साधा जीवन र कठोर संघर्षलाई जीवन व्यवहारमा उतार्न सक्ने कि नसक्ने भन्ने प्रश्नको सही उत्तर हामी दिन सक्छौं कि सक्दैनौं ? यसैमा नै नेपाल र नेपालीको भविष्य अन्तर्निहित छ ।

९ बैशाख ०६५

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd