समय सन्दर्भ

इतिहासले सुम्पेको यो दायित्व

- देवेन्द्र कोइराला

"अन्तरिम संसदमा रहेको ८३ सिटले माओवादीको जुंगा टांसेको हो, संबिधानसभाको चुनावले माओवादीको जुंगा झार्छ" माओवादी शान्ति प्रकृयामा आएदेखि अत्यन्तै तल्लोस्तरमा ओर्लेर माओवादी बिरुद्व जेहाद छोड्दै आएका राजभक्त के.पि. ओलीको यो महानवाणी गत चैत्र १ गतेको कान्तिपूरमा निकै महत्वकासाथ छापिएको छ । त्यसैगरी हरेक अङ्कलाई माओवादी बिरुद्धको बिशेषाङ्कको रूपमा सम्पादकीय र बाङ्गो समाचार छाप्ने अभियान चलाएको कान्तिपूरले अहिले ओलीको मात्रै नभै कांग्रेस, एमाले र कान्तिपूर स्वयंको जुंगा कतातिर खसेछ भनेर अनुसन्धान थाल्नुपर्ने देखिन्छ । ओली स्वयंमा कुनै टिप्पणी गर्न लायकका व्यक्तित्व त होइनन् तर पनि ट्राफिक जामको बेला किनारामा झुण्ड्याइएका होर्डिङ्ग बोर्डमा आंखा लगाउनु नियमित प्रकृया भएकोले मात्रै यो प्रसङ्ग उठाइएको हो । मकैको सुकेको ढोडले टेक्न र थेग्न नसक्ने भएपनि तुरुन्तै आगो बाल्न सक्ने भएकोले सुकाएर गराका कुनामा थुपारेर राख्ने चलन छ । ढोडको बैशाखी टेकेर नयां नेपाल बन्छ भन्ने बिश्वास जनतामा थिएन र त्यो ढोड बारीका कुनामा थन्क्याउन लायक थियो भन्ने परिणाम जनताले देखाइदिए । अर्कोतर्फ महाभारतमा सकुनीको पक्षमा लडेका द्रोणचार्यहरूले अनाहकमा बलिदानी दिनुपरेको थियो जसरी आज बामदेव गौतम र योगेश भटृराईहरूले दिएका छन् । बिगत १५ बर्षदेखि माधव नेपाल, ओलीहरूका नक्कली जुंगाले चमत्कार ल्याउने आशमा बसेका जनतामा अहिले कति ईख पलाएको रहेछ भन्ने कुराको अनुमान अहिले सायद उनीहरूले गरिसकेका होलान् । धेरैवर्षसम्म दरवारको मजेरीमा जुवा खेलेर अन्त्यमा दरवारबाटै खेदिएका जुवाडेहरूलाई यसपटक जनताले नाकै छोप्नुपर्ने गरी हराइदिएका छन् ।

चुनाव सकियो तर कांग्रेस एमालेहरूलाई बल्ल चुनाव लागेको छ । बिहेको रन्कोमा खन्चुवा र पियक्कडहरूको बाहुल्य भएको जन्तीलाई सम्हाल्न गार्‍हो हुन्छ । पलेटी कसेर डकार्दै खाने र अघाएपछि नुन नपुगेको, पिरो बढि भएको भात कांचै भएको कुरा काट्नु उनीहरूको नियमित जस्तै हो । चुनाव अगाडि र्‍याल चुहाउंदै जन्तिबाख्रो हसुरेका कांग्रेस एमालेका पुराना अनुहारहरू अहिले मासु पीरो भएर भोकै बस्न परेको कहानी सुनाइरहेका छन् । लडिसकेपछि लौरो खोज्ने उनीहरूको पुरानो संस्कारको कारण आˆनो पुरानो धरातल भासिएकोमा उनीहरू इन्तु न चिन्तुको अबस्थामा छन् । चुनाव अगाडि प्रत्येक दिन माओवादी पत्तासाफ हुने घोषणा गर्दै अब वाईसिएल र जनमुक्ति सेनालाई समेत आˆनो पार्टीमा छिरेर आˆनो एकवारको जुनी र भविश्य सुरक्षित गर्न उपदेश दिंदै आएको एमाले नेतृत्व अहिले मुर्छित अवस्थामा छ । माओवादीको बिगतमा माओवादीलाई पाखा लगाएर आफु आफु बीचमा व्यापक धांधली गरी सिंहदरवार कव्जा गर्दै आएका दलहरूलाई अहिले निकै अप्ठ्यारो देखिएको छ । संसारभरका पर्यबेक्षक र त्यसमाथि माओवादीलाई अझै आतंककारीको सूचिमा राखेको अमेरिकाले समेत चुनाव निश्पक्ष भनिसकेको छ । भ्रम, पैसा र गुण्डाको आडमा चुनाव जित्ने संस्कारमा हुर्केका र आफुले धांधली, बुथ क्याप्चर गर्न नपाउनु भनेकै धांधली हो भन्ने धमिलो सिद्धान्त बुझेका कांग्रेस एमालेहरूलाई सफा चुनाव स्वीकार गर्न गार्‍हो परिरहेको छ ।

यसपटकको चुनावले माधव नेपाललाई सबैभन्दा बढि चोट परेको छ । कमजोर मुटुको मान्छे यो चोटले दुईखुटृा टेकेर उठ्न पनि सक्दैन । चुनाव अगाडि पण्डित नारायण पोख्रेलको बाचन शैलीमा माओवादी बिरुद्ध धारावाहिक रूपमा लगातार खनिएका माधव नेपालको कारण उनको मात्र नभै सिङ्गो एमालेको भविश्य चकनाचुर भएको छ । एकपटक भएपनि यो देशको प्रधानमन्त्री बन्ने धुनमा उनले बिगतमा के मात्र बांकी राखेनन् । देशभर संकलकाल लगाएर माओवादीका नाममा जनताहरूको आमहत्या गर्ने, राजामा पाउमा दाम चढाउने, बिन्तीपत्रको मुठो बोकेर दरवार जाने, घरी आन्दोलन गर्ने र घरी राम्रो संकेत आएको भनी आन्दोलन स्थगित गर्ने, प्रतिगमन आधा सच्चियो भन्दै दरवारको खेतालो बनेर सरकारमा जाने जस्ता अत्यन्तै लज्जाजनक हर्कतहरूको जवाफ दिनको लागि जनता तयार भएर बसिरहेको उनीहरूलाई पत्तै भएन । दरवारको हली बनेर पुरानो मेलोमा जोतेका खेतालाहरूको हलोको फाली भांचिएको छ र अबका दिनहरूमा उनीहरूको खेत बांझै रहने देखिन्छ । उनीहरूसंग बांकी रहेका इमान्दार खेतालाहरू पनि यो क्रान्तिको रोपाईमा सहभागी हुन आतुर हुनेछन् र देशको राजनीति अब माओवादीको नेतृत्वमा एउटा प्रगतिशिल मूलधारमा अगाडि बढ्ने प्रष्ट छ । जनताको निर्णयबाट बेहोस भएकाहरू तत्काल उठ्न नसक्ने अबस्थामा पुगेका छन् तर षडयन्त्रमा माहिर देखिएका पुराना शक्तिहरू त्यसै चुप लागेर बस्ने अबस्था भने छैन । निकट भविश्यमा नै उनीहरू आफुाई सम्हाल्दै फेरी उठ्नेछन् ।

हतियारबाट नसकेपछि चुनावबाटै भएपनि माओवादीलाई सिध्याउन गरिएको धेरैको लगानी खेर गएको छ । चुनाव अगाडिका सर्भेक्षण र जनतालाई खरिद बिक्रीको लागि बगाइएका डलरको खोलो नदीमा पुग्न नपाई बीचमै सुकेको छ । बिभिन्न सर्भेक्षणहरूबाट माओवादीको ३/४ सिट पनि नआउने, चुनावपछि माओवादीको अस्तित्व समाप्त हुने रिपार्टहरू सार्वजनिक भए । भियतनाम युद्ध र इराक युद्धपछि अमेरिकी अनुमान गलत सावित भएको तेश्रो देश सायद नेपाल नै हुनुपर्दछ । राजधानीका महलमा बसेर माओवादीको अवसानको काल्पनिक आनन्दमा डुबेका र आफुलाई राजनीतिक बिश्लेषणको प्रवक्ता भन्न रुचाउनेहरू माओवादीले ५ सिट जितेमा पनि ठूलो उपलव्धी हुने गफ हांक्दै थिए । हामी चुनावको दिनसम्म धैर्य गरी पर्खेर हेर्न आग्रह गर्दा पनि उनीहरू आˆनो निर्णय सुनाइरहेका हुन्थे र उनीहरूको दिमागमा माओवादीको अन्त्य र पुरानै कुशासनको मीठो कल्पना घुमिरहेको हुन्थ्यो ।

नयां नेपालको निर्माण गर्ने स्पष्ट जनादेश माओवादीको कांधमा आएको छ । यो जनादेशले घांटीमा प्रजातन्त्रको तक्मा भुण्ड्याएर देश र जनतालाई बर्बाद गर्दै आएका पुराना शक्तिलाई पाखातिर फालिदिएको छ र नयां सोच र शक्तिलाई चुनेको छ । उच्च बलिदानी मात्रै नभै चमत्कारिक बिचार र नेतृत्व बिकास गर्न सफल माओवादीको नेतृत्वलाई नयां नेपाल निर्माणको अभियानमा साथ दिन अब बिदेशीहरू समेत बाध्य भएका छन् । तसर्थ सधैं झुट, जालसाजी र अनेकौं तिकडमहरूबाट सत्तामा रहिरहने पुरानो प्रथाको अन्त्य भएको छ र नयां नेपाल निर्माणको प्रकृयासंगै नेपालको नयां राजनीतिक सत्ताले स्थायित्व कायम गर्नेछ । इतिहासको सुनौला सम्भावना र कठिन चुनौतिहरूका बीच स्वणिर्म कल्पनामा बांचिरहेका हामी नेपालीहरू अत्यन्तै भाग्यमानी छौं, जसको अनुभूति हाम्रा पुर्खाहरू र आगामी पुस्ताले समेत आˆनै आंखाले हेर्न पाएका थिएनन् र पाउने छैनन् । सातसालदेखिको इतिहास भजाएर त्यसको सांवा व्याज खांदै आएका पुराना ठगहरूको पेशा बिस्थापित भएको छ । नयां सोच, योजना र बिचारले लैस रहेको नेतृत्व स्थापित भैसकेको छ । जनयुद्धदेखि अहिलेको चुनावसम्म आइपुग्दा हरेक घटनाक्रमहरूमा चमत्कार प्रदर्शन गर्न सफल क. प्रचण्ड र वहांको नेतृत्वमा रहेको सिङ्गो पार्टीले अबका दिनहरूमा पनि नेपाललाई चमत्कारिक परिवर्तनमा लैजाने कुरामा कुनै शङ्का छैन । अब जनताले आˆनो चेतनालाई परिष्कृत गर्दै केवल शुभ-कामना दिए मात्रै पनि नयां नेपालको कल्पनाले सार्थकता पाउन धेरै वर्ष कुर्नु पर्ने छैन ।

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd