अन्तरवार्ता
हामी विश्व
कम्युनिष्ट आन्दोलनबाट अलग्गिदैनौं र विश्वका अन्य
देशसंग पनि राम्रो सम्बन्ध राख्छौं
- सीपी गजुरेल, वरिष्ठ नेता,
नेकपा (माओवादी)
नेकपा (माओवादी)को
विदेश नीतिबारे धेरैको जिज्ञासा छ, यसबारे केही
बताइदिनु हुन्छ कि ?
विदेश नीतिको अहिलेको दुनियाँमा
धेरै महत्त्व छ । हाम्रो सही विदेश नीति भएन भने देश
विकास गर्ने र नयाँ नेपाल बनाउने काम पूरा हुन सक्दैन
। त्यसैले हाम्रो विदेश नीतिबारे सबैमा चासो हुनु
स्वाभाविक नै हो । हाम्रो विदेश नीतिको पहिलो आधार
पञ्चशील, दोस्रो आधार जनता र राष्ट्रको सर्वाेपरि हितको
प्राथमिकता रहन्छ । विदेश नीति आफैमा देशभित्रको
परिवर्तनको प्रतिविम्ब पनि हो । त्यसकारण नेपालमा अहिले
जुन ठूलो परिवर्तन आएको छ, त्यसलाई हाम्रो विदेश नीतिले
आत्मसात गर्छ । हाम्रो विदेश नीति परम्परागत रूपमा
मात्रै सीमित रहादैन ।
के तपाईहरुको विदेश नीति
कम्युनिष्ट क्रान्ति सम्पन्न भएका रुस र चीनको भन्दा
फरक हुनेछ ?
हाम्रो विदश नीति विगतको चीन र
रुसको भन्दा फरक हुन्छ । त्यसबेला रुसमा भिन्न
परिस्थितिमा क्रान्ति सम्पन्न भएको थियो । तर अहिले त
हामी सशस्त्र क्रान्तिबाटै जितेर आएको पार्टी त होइन ।
एउटा निश्चित विजय त हासिल गरेकै हौं । त्यसले तयार
पारेको वातावरणबाट अर्काे प्रक्रिया सुरु गरेर संसदीय
पार्टीहरूसंग चुनावी प्रतिस्पर्धा गर्दै सरकारमा जान
लागेका छौं । दोस्रो कुरा अहिलेको विश्व परिवेशमा
हामीसंग अहिले कुनै समाजवादी क्याम्प पनि छैन । साच्चै
भन्ने हो भने भरपर्दाे समाजवादी राष्ट्र पनि छैन । यो
अवस्थामा क्रान्तिलाई अगाडि बढाउनुपर्ने भएकोले निश्चय
पनि पहिले रुसले र चीनले लिएको नीतिको ठ्याक्कै नक्कल
गरेर यहाँ हुँदैन ।
पार्टीको अन्तर्राष्ट्रिय
सम्बन्ध र सरकारको अन्तर्राष्ट्रियसम्बन्ध फरक फरक
हुनेछ ?
हामी सरकारमा जाने भइसकेपछि अब
हाम्रो अरु देशहरूसंग दुई वटा सम्बन्ध हुन्छ । पहिलो
हामी कम्युनिष्ट पार्टी भएको हुनाले कम्युनिज्मप्रतिको
हाम्रो प्रतिबद्धता र अन्तर्राष्ट्रिय कम्युनिष्ट
आन्दोलनसम्मको एउटा सम्बन्ध हुन्छ । अर्काे हामी स्वयं
सरकारमा गएपछि सरकारले अन्य राष्ट्रसंग गर्ने सम्बन्ध
पनि संगसंगै स्थापित गरेर जानुपर्ने हुन्छ । दुवै
पक्षलाई समावेश गर्नेखालको विदेश नीति हामीले
बनाउनैपर्छ ।
अमेरिकासंग विगतमा त सम्बन्ध
राम्रो थिएन नि ?
निश्चित रूपमा हामी जनयुद्धमा
हुँदा यहाँको राजतन्त्रलाई बचाउन हामीविरुद्ध शाही
सेनाले गर्ने युद्धयोजनासमेत अमेरिकाले बनाएको थियो ।
उसले हामीविरुद्ध फौजी सहायता गरेको थियो । त्यसबेला
ऊसंग हाम्रो सम्बन्ध शत्रुतापूर्ण नै थियो । तर अहिले
युद्ध छैन । हामीले शान्तिप्रक्रियालाई, यो
संविधानसभाको निर्वाचनको परिणामलाई स्वीकार गर्छा
भनिसकेका छौं । त्यसैले अहिले अमेरिकाको नीतिमा पनि
फेरबदल आएको छ । हामीलाई पनि राष्ट्र चलाउने जिम्मेवारी
आएको छ । त्यसकारण हाम्रो नीति पनि केही फेरबदल
हुनैपर्ने हुन्छ । त्यसकारण अब अमेरिकासंगको सम्बन्ध
विगतमा जस्तो तिक्ततापूर्ण थियो अहिले छैन । त्यो हुनु
पनि हुँदैन । हामीले सरकार सञ्चालन गर्ने हैसियतले
अमेरिकासंग पनि हाम्रो कुनै न कुनै किसिमको कुटनीतिक
सम्बन्ध कायम गरेरै जानुपर्दछ ।
तर अहिले पनि तपाईहरुलाई आतंककारी
कै लिस्टमा राखिएको छ ?
अमेरिकाले हामीलाई अझै आतंककारीको
सूचीबाट हटाएको छैन । विहीबार दातृ निकायसंगको छलफलमा
अमेरिकी राजदूत पनि आएकी थिइन् । तर अध्यक्षसंग उनले
कुनै कुरा गरिनन् । मसंग पनि उनको कतिपटक डिनरहरूमा
भेटघाट हुन्छ । उनी सकभर टाढैबाट तर्किन्छिन् । भेटघाट
भैहाल्यो भने पनि हात मात्रै मिलाउने काम हुन्छ, तर
कुराकानी हुँदैन । मेरो यस बीचमा अमेरिकाको एउटा
डेलिगेशन टोलीसंग भेट भएको थियो । उनीहरूसमक्ष हामीलाई
आतंककारीको सूचीबाट नहटाइएकोबारे जिज्ञासा राखेको थिए
। उनले अमेरिकाले त्यो लिस्टमा राखिसकेपछि प्रायः
कसैलाई नहटाउने नीति रहेको बताए । अपवादको रूपमा एउटा
मात्र घटना लिबियालाई लिस्टबाट हटाइएको रहेछ । उसले
आफ्नो नीतिमा १८० डिग्रीको परिवर्तन गरेका कारण उसलाई
हटाएको रहेछ । अरु कसैलाई हटाएको रहेनछ । तर
विश्वस्तरबाट अमेरिकाभित्रबाटै पनि ठूलो दबाब बुस
प्रशासनलाई छ ।
भारतबारे नि ?
भारतको पनि विगतको कुरा गर्ने हो
भने उसले पनि राजतन्त्रलाई सघाउादै हामीविरुद्ध लडेकै
हो । जनयुद्धकालमा हाम्रा धेरै साथीहरूलाई गिरफ्तार
गरेर नेपाल सरकारलाई बुझाइएकै हो । त्यहाँ गिरफ्तार
गरेर आतंककारी संगठनकै रूपमा हामीलाई यातना दिइएकै हो
। तर १२ बुदे समझदारीदेखि भारतले सकारात्मक भूमिका
खेल्दैआएको छ । अहिलेको परिणामलाई पनि भारतले सहज रूपमा
स्वीकार्दै जनताले दिएको अभिमत हो भनेको छ ।
अनि चीनलाई कसरी हेर्नुहुन्छ ?
जहाँसम्म हाम्रो विदेश नीतिको
कुरा गर्दा भारत र चीनसंगको हाम्रो सम्बन्ध समसामिप्यको
समबन्ध हुनुपर्छ । चीनको पक्ष लिएर भारतको विरोध गर्ने,
भारतको पक्ष लिएर चीनको विरोध गर्ने नीतिबाट हामी
बच्नुपर्छ । त्यो हाम्रो राष्ट्रिय हित अनुकूल हुँदैन
। हामीले नेपाल र नेपाली जनताको हितको निम्ति दुवै
देशसंग जतिसकिन्छ फाइदा लिने कोसिस गर्नुपर्छ । त्यो
नै अहिले हाम्रो सही नीति हुनेछ । हाम्रो प्रयत्न अहिले
त्यतैतिर छ । भारतको अहिले जुन नीति बाहिर आएको छ,
त्यसले सहयोग गर्ने गरिरहेको छ ।
नेपाल दुई ढंुगाबीचको तरुल भन्ने
परिभाषालाई हामी मान्दैनौं । हामी नेपाल दुईतिर दुई
ठूला देश हुँदैमा हामी स्याण्डविचजस्तो चेप्टिनुपर्ने
स्थिति छैन । हामी स्वतन्त्र छौं । हामीले नेपालमा जुन
ढंगले परिचय गराइदिएको छ । न त हामीलाई चीनले सहयोग गर्यो
न त भारतले सहयोग गर्यो । हामीले स्वतन्त्र रूपले ठूलो
परिवर्तन गर्यौं । अहिले हामीलाई के लाग्छ भने हामी
स्वतन्त्र रूपले विकास पनि गर्न सक्छौं । भारत र चीनले
गरेको विकासबाट जति हाम्रो देशले फाइदा लिन सक्छ त्यति
फाइदा लिएर हामी स्वतन्त्र ढंगले अगाडि बढ्न सक्छौं ।
साम्राज्यवाद र विस्तारवादजस्ता
पदावली तपाईहरुले प्रयोग गर्नुहुन्छ भनेर पनि बहस हुने
गरेको छ के भन्नुहुन्छ ?
हामीले भारतलाई विस्तारवाद र
अमेरिकालाई साम्राज्यवाद भन्ने गरेकाबारे नयाँ व्याख्या
गरेका छैनौं । अमेरिका साम्राज्यवाद हो कि होइन भन्ने
कुरा त्यसको समग्र चरित्रले निर्धारण गर्छ । त्यो एउटा
सैद्धान्तिक विषय हो । त्यसको विविध पक्षहरूको
विश्लेषण गरेर भनिने विषय हो । भारतको बारेमा पनि त्यही
कुरा सतय हो । तर अहिले जब हामी सरकारमा गएका छौं ।
अमेरिका, भारतसंग हामीले कुटनीतिक सम्बन्ध राख्नैपर्छ
। त्यो अवस्थामा हरेकपल्ट भेट गर्दाखेरि अमेरिकी
साम्राज्यवाद र भारतीय विस्तारवाद भनिराख्नुपर्दैन ।
माओले पनि भन्नुभएको छ राजनीतिमा कतिपय अवस्थामा हामीले
गद्दार भनेकाहरूसित पनि हात मिलाउनुपर्ने हुन्छ ।
जतिबेला उनीहरूसंग हात मिलाइरहेका हुन्छौं । त्यतिबेला
हामीले ओ मिस्टर गद्दार आउनुस् हात मिलाउा त हामीले
भन्दैनौं । हात मिलाउने बेला त के छ साथी भन्नैपर्छ ।
त्यसकारण त्यही शब्दको प्रयोग जतिबेला पनि
गरिराख्नुपर्ने राजनीतिमा हुँदैन) । अमेरिकालाई
साम्राज्यवाद र भारतलाई विस्तारवाद भन्ने सैद्धान्तिक
विश्लेषणलाई हामीले परितर्वन गरेका छैनौं तर
व्यावहारिक रूपमा जतिबेला पनि त्यही भनिराख्नुपर्छ
भनेर कसैले हामीलाई भन्छ भने त्यो हामी भन्दैनौं ।
अन्तर्राष्ट्रिय कुनै पनि मान्यता त्यस्तो हुँदैन ।
जुनबेला दुईवटा राष्ट्रको प्रतिनिधि बनेर कुरा गर्छाै
। त्यतिबेला पनि साम्राज्यवाद र विस्तारवाद भनेर
सम्बन्धै नगराउने वातावरण हामी बनाउादैनौं । त्यति
मूर्ख हामी छैनौं । त्यो भनेर सम्बन्ध बिगारेर के फाइदा
छ ? न देशलाई फाइदा छ न त जनतालाई नै फाइदा छ ।
युद्धरत भाइचाराहरुलाई के
भन्नुहुन्छ ?
हाम्रा भाइचारा पार्टीहरू कतिपय
देशमा युद्धमै रहनुभएको छ । उहाँहरूले सरकारसंग लड्ने
योजना कसरी बनाउनुहुन्छ, शान्तिवार्ता गर्ने नगर्ने,
संघर्षको कुन रूपको प्रयोग गर्ने त्यही देशको पार्टीले
निर्णय गर्ने कुरा हो । हामी भाइचारा पार्टी भए पनि
हामी शान्तिप्रक्रियामा आयौं र विजयी पनि भयौं ।
तपाईहरू पनि चुनावमा आउनुहोस् भनेर हामी भन्दैनौं ।
त्यो त्यही देशको पार्टीले निर्णय गर्ने कुरा हो ।
जहाँसम्म हाम्रो सवाल हो क्रान्तिद्वारा विजय हासिल
गर्दै सरकारमा पुगेका छौं । सरकारमा पुगिसकेपछि स्वतः
त्यो देशको सरकारसंग सम्बन्ध गर्नुपर्ने आवश्यकता
हुन्छ । त्यसलाई हामी अस्वीकार गर्न सक्दैनौं ।
चुनावपछि रिम र कम्पोसाको नयाँ
धारमा आएको छ कि ?
रिमले निर्वाचनसम्बन्धी साझा
अवधारणा बनाएको छैन । अहिले रिम र कम्पोसाभित्रका केही
पार्टीहरूले परिस्थितिअनुसार माओवादीले गरेको रणनीति र
कार्यनीति ठीक हो भन्ने पार्टीहरू पनि छन् । त्यसैगरी
यो गलत भयो यसले पार्टी दक्षिणपन्थीतिर जान्छ भन्ने
पार्टी पनि छन् । त्यहाँ एकरूपता छैन । हाम्रो आलोचना
गर्ने पार्टीहरूप्रति हाम्रो नकारात्मक सोचाइ छैन् ।
उहाँहरूले हामी चुनावमा गएपछि सिद्धिन्छ भन्ने ठानेका
थिए । किनकि सारा संसारले माओवादीले १०-१५ सिट मात्रै
ल्याउाछ भन्ने प्रचार गरेका थिए । त्यसबाट उहाँहरू पनि
प्रभावित हुनुभएको थियो । उहाँहरूले माओवादी सिद्धियो
भन्ने ठान्नुभएको थियो । तर त्यत्रो विजयी हासिल गरेपछि
उहाँहरू सबैलाई सोच्न बाध्य पारेको छ । किनकि उहाँहरूको
मूल्यांकन सही ठहरिएन नि !
१०-१५ सिट ल्याउने भनेको पार्टीले त पूरै आधा सिट पो
ल्यायो । अहिले उहाँहरू नयाँ ढंगले संश्लेषण र
विश्लेषण गर्दै हुनुहुन्छ होला भन्ने हामीलाई लागेको छ
।
क्युबाली कम्युनिष्टहरुभन्दा
तपाईहरु के कुरामा फरक हुनुहुन्छ ?
क्यूबाले पहिले विश्व कम्युनिष्ट
आन्दोलनका सर्वहारा अन्तर्राष्ट्रवादी संगठनहरूसंग पनि
करिब-करिब सम्बन्ध तोडेको हो । उनीहरू असंलग्न
आन्दोलनतिर गए । पछि त्यहाँबाट पनि अलग भए । अमेरिकाको
नाकै मुनि भएकोले र अमेरिकासंग आत्मसमर्पण नगरेको
हुनाले अमेरिकाले जहिले पनि क्यूवालाई नाकाबन्दी गर्ने
र क्यूवालाई सिध्याउने काम पनि जारी राख्यो । अमेरिकाले
क्यूवालाई सबैभन्दा ठूलो खतरा ठान्यो । उसको सबैभन्दा
नजिकै भएको हुनाले त्यसको असर अमेरिकामा पर्छ र
अमेरिकालाई खतरा हुन्छ भनेर उसले क्यूवालाई सधैं
टार्गेट बनाइराख्यो । क्यूवाले विश्व कम्युनिष्टतिर पनि
ध्यान दिएन र असंलग्न आन्दोलनतिर गयो । अर्कातिर
अमेरिकाको पनि टार्गेट बनिराख्यो । यसरी ऊ दुवैतिरबाट
एक्लियो । तर हाम्रो स्थिति बीचमा छ । हामी विश्व
कम्युनिष्ट आन्दोलनबाट पनि अलग भएका छैनौं । त्यहाँ पनि
हाम्रो सम्बन्ध कायमै छ । संघर्ष होला । तिनीहरूमा
मतभेद होला । तर त्यही आन्दोलनमै छौं । अर्काेतिर
अहिलेको बदलिएको विश्व परिवेशलाई मध्यनजर गर्दै विश्वका
धेरै राष्ट्रहरूसंग सम्बन्ध कायम गरेका छौं । हामी कतै
अलग्गिएकै छैनौं । हामी न त विश्व कम्युनिष्ट
आन्दोलनबाट अलग्गिएका छौं, न त विश्वका अन्य
राष्ट्रहरूसंगको सम्बन्धबाट अलग्गिएका छौं । अलग्गिनु
हुँदैन भन्ने हाम्रो मान्यता हो हामी अलग्गिंदैनौं पनि
।