साहित्य कला
प्रहरी
क्याम्पमाथि आक्रमणको प्रत्यक्ष रिपोर्टिङ
-
गोविन्द आचार्य
करिब ढेड महिने रुकुम भ्रमणबाट
र्फकने क्रममा पार्टीका जिल्ला इन्चार्ज क.पूर्ण
घर्तीले 'अब उच्च फौजी कारबाहीको रिपोर्टिङका लागि पनि
बोलाउने छौ’ भन्नुभएको थियो । त्यसको अढाइ महिनापछि
२०५७ चैत १३ गते विहान उहाँको फोन आयो । फोनमा उहाँले
'जनआन्दोलन दिवसको अवसर पारेर राप्तीमा एक उच्च फौजी
कारबाहीको योजना बनेको र त्यो कारबाही रुकुममै हुन
लागेकाले तपाईसहित २ जना पत्रकार जानु पर्यो’ भन्नुभयो
। उहाँले १७ गतेसम्म रुकुमको चुनवाङ पुगिसक्नुपर्ने
बताउँदै बाँकी कुरा क.पासाङजीले नै गर्नु हुनेछ
भन्नुभयो । फौजी कारबाहीको प्रत्यक्ष रिपोर्टिङ गर्न
पाउने खबरले ममा एक किसिमको रोमाञ्चपूर्ण तरङ्ग पैदा
भयो ।
०५७ चैत १४ गते साँझ साथी दीपक
सापकोटा र मैले दाङको रात्री बसबाट यात्रा सुरु गर्यौं
। १५ गते बिहान दाङको पार्टी सम्पर्क पोष्टमा पुग्दा
जिम्मेवार कमरेडहरूलाई नभेटेपछि हामी पैदलै रोल्पातर्फ
अघि बढ्यौं । साँझ रोल्पाको नाकामा रहेको राप्ती
उपक्षेत्रको सम्पर्क पोष्टमा पुग्यौं । पोष्ट इन्चार्ज
क.शेषले हामीलाई व्यापक केरकार गर्नु भो । उहाँले
हामीलाई नचिनेको र हामीसँग पत्रसमेत नभएकाले कसरी
विश्वास गर्ने भन्ने प्रश्न राख्नु भो ! अब अघि बढ्न
पाउँदैनौं कि भनेर हामी चिन्तित बनिरहेकै बेला माओवादी
नेता ककृष्णबहादुर महराका एकजना स्टाफ मित्र जसले मलाई
चिन्नु हुन्थ्यो आइपुग्नुभयो । उहाँको आगमनपछि बल्ल
शेष कमरेडले हामीलाई अघि बढ्ने अनुमतिका साथै सम्पर्क
पनि जोडिदिनुभयो ।
चैत १६ गते हामी घर्तीगाउँमा बास
बस्न पुग्यौं । जनयुद्ध शुरुवातताका कांगे्रसी ज्यादति
र प्रहरी दमनको पीडामा छटपटिएका स्थानीय वासिन्दाले
अहिले आफूहरूले मुक्ति पाएको बताए । अहिले घर्तीगाउँ
जनयुद्धको आधार किल्लामा बदलिएको रहेछ । त्यहाँबाट हामी
१७ गते बिहानै हिंड्यौं । त्यसदिन इरिवाङसम्म मात्रै
पुग्न सकियो । इरिवाङको बाघमारामा माओवादी
कार्यकर्ताहरूले धेरै मिहनेत गरेर एक आर्कषक पुल बनाएका
रहेछन् । सोही गाउँमा रंगशालासमेत बनाइएको रहेछ । साँझ
इरिवाङमा पार्टी कार्यकर्ता र जनतासँग कुराकानी गरियो
।
चैत १८ गते सबेरै हामी
चुनवाङतर्फ लाग्यौं । हामी चुनवाङ पुग्दा कारबाही
स्थलतर्फ जनमुक्ति सेना बाटो लागि सकेछ । हामी छुट्यौं
भनेर धेरै चिन्ता लाग्यो । उक्त गाउँमा जिम्मेवार साथी
कोही हुनुहुन्छ कि भनेर बुझ्न थाल्यौं । बहादुर र
परम्परा गौतम कमरेडलाई भेटाएपछि उहाँहरूले कारबाहीको
दिन आज नभै भोलि भएको र कारबाहीस्थल पनि नगिचै भएकाले
साथीहरूलाई सजिलै भेटाउनु हुन्छ भन्नु भो । त्यसपछि
हामीलाई कतिखेर जनमुक्ति सेनाको सम्पर्कमा पुग्ने भन्ने
आतुरता लाग्न थाल्यो ।
साथीहरूले खोजिदिनु भएका एकजना
बाटो चिनेको साथीसँगै हामी त्यसैदिन उकालो लाग्यौं ।
उकालो निस्किएपछि शोभा गाविसको एउटा सानो गाउँमा पुग्दा
रात झमक्क भइसकेको थियो । रातिमा टर्च बाल्ने अनुमति
थिएन । पानी परेको चिप्लो बाटो अाध्यारोमा हिंड्दा धेरै
पटक लड्ने र बाटो भुल्ने समस्या आयो । हामीले नगिचैको
एउटा घरमा बास माग्यौं र गुन्द्रीमा सुतेर रात कटायौं
। त्यो रातभर प्रहरी वेस क्याम्पमाथिको आक्रमण कस्तो
हुने हो भन्ने कल्पनाले निद्रा नै परेन ।
अर्को दिन विहान झण्डै १ घण्टा
हिंडेपछि जनमुक्ति सेनाको अन्तिम सेल्टरमा पुगियो ।
रुकुमकोट र महत प्रहरी बेस क्याम्पबीच रहेको खोंचको
सानो बस्तीलाई अन्तिम सेल्टर बनाइएको रहेछ । जनमुक्ति
सेनाका योद्धाहरू स-सानो गु्रपमा विभाजित भएर छलफलमा
व्यस्त देखिन्थे । हामी सिधै पासाङ कमरेड भएको स्थानमा
गयौं, उहाँ एउटा घरभित्रको कोठामा कमाण्डर टीमबीच छलफल
गरिरहनु भएको थियो । पासाङ कमरेडले दरिलो हात मिलाउँदै
भन्नुभयो "स्वागत छ, तपाईहरूलाई, हाम्रो फौजी कारबाहीमा
पत्रकारकै रूपमा सहभागी हुने तपाईंहरू पहिला पत्रकार
हुनुहुन्छ ।" त्यसपछि उहाँले सोही दिन राती हुन लागेको
कारबाहीबारे संक्षिप्त बि्रफिङ गर्नुभयो । सो कारबाहीमा
क.पासाङले कमिसार र क.राजेशले कमाण्डरको भूमिका
निर्वाह गर्दै हुनुहुँदो रहेछ । क.राजेशले हामीलाई
कारबाही स्थल रुकुमकोट प्रहरी बेस क्याम्प आक्रमणको
लागि आफैले तयार पारेको स्केच नक्शा देखाउँदै आक्रमण
कसरी गरिदैछ भन्ने जानकारी गराउनुभयो । नक्शामा कसको
भूमिका के हो र को कहाँ रहने सबै स्पष्ट गरिएको रहेछ ।
उहाँहरूबाट हामीले हाम्रा थुपै्र जिज्ञासाहरूको जवाफ
पाइसकेपछि कारबाहीको तयारीमा व्यस्त जनमुक्ति सेनाका
योद्धाहरूसँग एक-एक गरी कुराकानीतर्फ लाग्यौं ।
योद्धाहरूले आफूहरूले यतिबेला दुश्मनमाथि विजय हासिल
गरिएको बाहेक अरु केही नदेखेको बताउँदै थिए । जाजरकोटका
प्लाटुन सहायक कमाण्डर क.राजेन्द्रले आफूहरू बलिदानी
भएर भएपनि कारबाही सफल पारेरै छाड्ने उद्घोष गर्नुभयो
। प्यूठानका प्लाटुन कमाण्डर यमराज -क.पावेल)ले
कमाण्डर साथीहरूसँग हामीलाई चिनजान गराउनुभयो र कसरी
यसअघिका प्रहरी चौकी आक्रमण सफल पारिएका छन् भन्ने
जानकारी दिनुभयो ।
उक्त दिन दिउासोसम्म जनमुक्ति
सेनाका योद्धाहरू नक्सा अध्ययन गर्दै आफूहरू कुन आर्कमा
रहेर कसरी लड्ने भन्ने छलफलमा लाग्नुभयो । योद्धाहरू
पालैपालो गरी माथि डाँडामा निस्केर दुरबिनबाट हेर्दै
आफ्नो आर्क क्लिएर गरेर आइरहनुभएको थियो । हामीले ४
बजेतिर खाना खायौं, झोलामा एक पोका चाउचाउ र चिउरा
राख्यौं अनि साँझ ५ बजेतिर आक्रमणको लागि अघि बढेको
जनमुक्ति सेनाको फर्मेशनमा पंक्तिबद्ध भएर अघि बढ्यौं
। जनमुक्ति सेना गोली गठ्ठा र हतियारले सुसञ्जित थियो
भने हामी क्यामरा, क्यासेट, कापी र कलमजस्ता हाम्रा
हतियार बोकेर अघि बढिरहेका थियौं । मुसलधारे पानीका
बीच हामी निथु्रकै भिजेर अघि बढिरहँदा पनि हामीमा एक
किसिमको तातो जोश र गर्वको अनुभूति भइरहेको थियो ।
रुकुमकोट प्रहरी चौकीको फेरिफेरि नगिचै पुगेपछि
क.पासाङ र राजेशले कमाण्डो गु्रप, एसल्ट गुप्र, माइन
गुप्र, रिजर्भ गुप्र, एचपी गुप्र, स्वयंसेवक गुप्र
सबैलाई अन्तिम निर्देशन दिंदै ठीक ११ कजे फायर खोल्न
आदेश दिनुभयो । कारबाही कमाण्डर राजेशले एसल्ट गु्रपका
कमाण्डरलाई सुरुमा उत्तरबाट फायर गरेर त्यता दुश्मनको
ध्यान खिच्ने अनि दक्षिणतिरबाट टिमभित्र घुसेर आक्रमण
गर्ने निर्देशन दिंदै छिटो-छिटो पहल लिइएन भने युद्ध
लम्बने छ भन्नुभयो । त्यसपछि सबै गु्रप आ-आफ्नो आर्कमा
पुग्यौं ।
हामी प्रहरी क्याम्पभन्दा अलिक
माथिको डाँडामा जहाँबाट लडाइा प्रष्ट देख्न सकिन्थ्यो
त्यहाँ बस्यौं । रुकुमका डिसिएस अथक, कैलाली डिसिएस
प्रसान्त, दीपक सापकोटाजी र मसहित ६ जना एकै ठाउँमा
बसेर आक्रमणको प्रतिक्षा गर्यौं । हामीले कमरेड
अथकबाट जानकारी पायौ कि शोभा गाविसमा पर्ने यो प्रहरी
क्याम्प सदरमुकाम बाहिरको सबैभन्दा बलियो क्याम्प हो ।
यहाँ पहिले जिल्ला सदरमुकाम थियो । हाल दोस्रो
सदरमुकाम पनि भनिन्छ । यहाँको क्याम्प शाही सेनाको
ब्यारेकको फोर्टिफिकेशनमा बनाइएको रहेछ । यहाँबाट
सदरमुकाम पुग्न ६ घण्टा र महत प्रहरी क्याम्प पुग्न २
घण्टा पैदल हिंडनु पर्दोरहेछ । प्रहरी चौकीमा ८० जना
प्रहरी रहेछन् । जनसेनातर्फ २५० जतिको फोर्स थियो ।
२०० जति स्वयंसेवकको फोर्स थियो ।
११ बज्न १० मिनेट बाँकी रहँदा
प्रहरी क्याम्पमा बत्ती निभ्यो, कुुकुर जोडतोडले भुक्यो
। प्रहरीले कराउँदै गाली गरे । पुनः ५ मिनेटपछि बत्ती
आयो । जनमुक्ति सेनाले काँडेतार काटेरभित्र छिर्नका
लागि पूर्व योजना मुताविक बिजुलीको लाइन अफ गरिदिएको
अनुमान हामीले लगायौं । हाम्रो आँखा घडीको सुईमा थियो,
टर्च घोप्टो पार्दै घडी हेर्दै कतिखेर ११ बज्ला भन्ने
प्रतिक्षामा थियौं । पुनः ११ बज्न १ मिनेट बाँकी रहँदा
लाइन निभ्यो । त्यसको लगत्तै प्रहरी क्याम्पभन्दा
उत्तरबाट ड्याम्म थ्री नट थ्री राइफलबाट फायर खुल्यो ।
लगत्तै प्रहरी चौकीभन्दा उत्तरतिर खोला पारि रहेको
गाउँमा सयौं मशाल जुलुशहरू वालिए र बाजा गाजासहित नारा
घन्किएको सुनियो । त्यसपछि त आकाशै थर्कने गरी बम र
बन्दुकका आवाजहरू आउन थाले । हाम्रा टाउका माथिबाट
सुइंय-सुइंय गर्दै गोली जान थालेपछि क.अथकले कभर लिनुस्
यो त ३०० मिटर रेञ्जभित्र पर्छ, गोली लाग्ला भनेपछि
हामी ढुङ्गा, रुखको आड लिएर लम्पसार पर्यौं । क्षणभरमै
दक्षिणतिरको सेन्ट्री पोष्टमा आगो दन्कियो । लगत्तै
माइनको धमाकाले आकाशै थर्केजस्तो लाग्यो । हामी
जनसेनाले जित्दै गरेको अनुमान गर्दै घस्रदै अघि बढ्यौं
। आधा घण्टासम्मको भीषण लडाइापछि दक्षिण र पूर्वतर्फका
केही पोष्टहरू कब्जा भएको तर उत्तर र पश्चिमतिरको लडाइा
घनिभूत बनेको खबर आयो । हामीलाई तारबारको घेराभन्दा
भित्र जान दिइएन । दोहोरो भिडन्त घमासान चलिरहेको थियो
। १ घण्टा जतिपछि हामी दक्षिणतिरको तारबारबाट भित्र
पस्यौं । लडाइा जारी नै थियो । उत्तर र पश्चिमतिरका
टनेलहरूमा रहेका प्रहरीहरू आत्मसमर्पण गर्न मानेका
थिएनन्, उनीहरू फायर गरिरहेका थिए । जनमुक्ति सेनाका
योद्धाहरूले प्रहरीलाई आत्मसमर्पण गरेमा ठूले राईलाई
झैं स-सम्मान छाड्ने कासन भइरहेको थियो । दक्षिण र
पूर्वतिरका सबै पोष्टहरू र बंकरहरूमा दनदनी आगो
सल्किएको थियो । हामी अघि बढ्यौं । आगो बलिरहेको पोष्ट
नगिचै गएर पानीले भिजेको हाम्रो शरीरलाई तताउन थाल्यौं
। त्यतिकैमा अकस्मात आगो बलिरहेको पोष्टमा गि्रनेट
बिष्फोट हुँदा उछिट्टएिको टुक्रा मेरो निधारमा पर्यो
। गोली लाग्दा सुरुमा चिसिक्क मात्र गर्छ थाहै हुन्न
भन्ने सुनेकाले मैले आफूलाई गोली त लागेन भनेर हातले
निधार छाम्न पुगेछु । तर सानो ढुङ्गा उछिट्टएिर लागेको
मात्रै रहेछ, केही पनि भएको थिएन ।
पुरै २ घण्टासम्मको घमासान
लडाइपश्चात् पुरै बेस क्याम्प जनसेनाको कब्जामा आयो ।
जनसेनाको सर्च टोलीको साथमै हामी पनि निरीक्षणमा लाग्यौं
। २० वटा बंकर र सेन्ट्री पोष्ट पूरै ध्वस्त थिए, घाइते,
लाश र सामानहरू बाहिर निकालेर एकै स्थानमा जम्मा पार्दै
थिए जनसेनाका योद्धाहरू । जनसेनाका डाक्टरहरूले घाइते
प्रहरीहरूको उपचार गरिरहेका थिए । जम्मा १५ जना प्रहरी
घाइते भएका रहेछन् । मृतक प्रहरीका लाशहरू गन्दै जाँदा
३२ जनाको मृत्यु भएको रहेछ । कब्जामा आएकामध्ये घाइते
नभएका २२ जनालाई जनमुक्ति सेनाले युद्धबन्दी बनायो ।
६,७ जना प्रहरी भागेछन् । हामीले घाइते प्रहरी,
युद्धबन्दी र विजयी जनसेनासँग कुराकानी गर्यौं । सो
क्याम्पमा महत्त्वपूर्ण हतियारसहित चारैतिर भूमिगत
टनेल, फाइरिङ टे्रन्च, एकदमै भिरालो भू-भाग, ५
लाइनसम्म काँडेतार, ठाउँ-ठाँउमा माइन बिच्छाइएको,
सैन्य ब्यारेककै स्तरमा बनाइएको यो चौकी जनसेनाले कसरी
कब्जा गर्न सक्यो हामी आफैलाई आश्चर्य लाग्यो । युद्ध
सामग्री र अन्य सामानहरू जम्मा पारिसकेपछि ३ बजेतिर
गगनभेदी नारा लगाउँदै जनसेनाको पंक्ति फिर्ता भयो ।
र्फकने क्रममा दीपक, प्रशान्त र म फर्मेशनबद्ध जनसेनाको
पंक्तिलाई उछिन्दै अघि बढिरहेका थियौं, अकस्मात भागेका
प्रहरी भनेर पक्राउ परिहाल्यौं । हामी ३ जनाले सिभिल
डे्रस लगाएकाले पनि यसरी शंकाको घेरामा परेका थियौं ।
जनसेनाले समातेर केरकार गर्दै गर्दा परिचित प्लाटुन
भिसी क.निर्माणले देख्नु भएपछि मुक्त भयौं ।
बेस क्याम्पभन्दा आधा घण्टा माथि
आएपछि क.पासाङसहितको जनसेनाको पंक्तिले शहादत प्राप्त
गर्नु हुने ८ जना वीर योद्धाहरूप्रति श्रद्धाञ्जली
अर्पण गर्दै पार्टीको झण्डा ओढाएर शव गाड्ने काम भयो ।
श्रद्धाञ्जली सभामा क.पासाङले आँशुका धारा बगाउँदै
अत्यन्तै भावपूर्ण मन्तव्य व्यक्त गर्नु हुँदा मेरो
आँखाबाट पनि आँशु बगे । केही घण्टा अघि मसँगको
कुराकानीमा आफू बलिदानी भए पनि जितेरै छाड्ने उद्घोष
गर्ने प्लाटुन भीसी क.राजेन्द्रले उच्च शहादत प्राप्त
गर्नुभएको थियो । युद्ध भनेकै यस्तै हुँदोरहेछ, एकै
छिनमा खुशी, आाशु, पीडा र आक्रोश । बेस क्याम्पको
उत्तरतिरको निर्णायक लडाइामा उहाँहरूले ज्यानको बलि
चढाएर नलडेको भए विजय हासिल हुने थिएन । सोही स्थानमा
मात्रै ६ जना योद्धाको शहादत भएको थियो ।
क.राजेन्द्रसहित शहादत प्राप्त गर्ने वीर योद्धाहरूमा
क.गौरव, क.सर्वजित, क.मिलन, क.गर्जन, क.राजन, क.अमित,
र क.शक्तिप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेपछि हामी
पुनः उकालो लाग्यौं । उक्त कारबाहीमा घाइते हुनुभएका ४
जना योद्धाहरूलाई स्वयंसेवक साथीहरूले बोकेर
हिंडिरहनुभएको थियो । केही माथि आएपछि कारबाही
कमाण्डरले सबैलाई आराम गर्न र नास्ता खान कासन गर्नुभयो
। हामीले बोेकेका ड्राइफुड खायौं र पुनः हिंड्न थाल्यौं
। माथि डाँडामा आइ नपुग्दै उज्यालो भइहाल्यो । केही
छिनमा हामी माथिबाटै हेलिकोप्टर आए । जनसेनाका
साथीहरूले आकाशतिर राइफल सोझ्याउनुभयो । पासाङ कमरेडले
घाइते र लाश लिन आएको हो, केही नगर्नुस् भन्नु भएपछि
जनसेना अगाडि बढ्यो ।
हामी चुनवाङमा पुग्दा बिहानको
खाना पाकेर ठिक्क रहेछ । खाना खाएलगत्तै हामी कब्जा
भएका युद्ध सामग्री हेर्न तथा विजयी जनसेना, बन्दी
प्रहरी र स्थानीय वासिन्दाको प्रतिक्रिया बुझ्न लाग्यौं
। ६७ थान हतियार, १० हजार जति गोलीसहित भारी मात्रामा
युद्ध सामग्री कब्जा भएका रहेछन् । प्रहरी कार्यालयबाट
कब्जा भएका कागज पत्र हेर्ने क्रममा कतिपय कांगे्रसका
स्थानीय कार्यकर्ताहरूले माओवादी बारे सुराकी गरेर
पठाएका पत्र, प्रहरीका महत्त्वपूर्ण सर्कुलरहरू पनि
फेला परे । सोही दिन साँझ रेडियो नेपालको समाचारमा "रुकुमकोटमा
१० हजार माओवादी आएर ३२ जना प्रहरीलाई कब्जामा ल्याएर
मारेको, २२ जनालाई अपहरण गरेको र त्यसक्रममा भएको
भीडन्तमा ११५ जना माओवादीको मृत्यु भएको र सयौं घाइते
भएको छ ।" भनेर सम्प्रेषण गरियो । मैले प्रत्यक्ष
देखेर आएको घटनालाई यति धेरै बङ्ग्याएर खबर प्रसारण
गरेपछि सरकारले कसरी झुठको खेति गर्दो रहेछ भन्ने थप
स्पष्ट भयो ।
हामी अर्कोदिन चैत २१ गते
काठमाडौंतर्फ र्फकनका लागि बाटो लाग्यौं । प्लाटुन
कमिसार कमरेड चिन्तन पनि हामीसँगै नुवागाउँसम्म आउनुभयो
। ठाउँ-ठाउँको प्रहरी नाकाबन्दीलाई छल्दै २३ गते हामी
दाङ आइपुग्यौं । दाङबाट काठमाडौंमा समाचार फ्याक्स
गरेपछि मात्रै काठमाडौंको रात्री बस समात्यौं ।
काठमाडौंमा हामीले लडाइाको मोर्चामा प्रत्यक्ष रेकर्ड
गरेका अडियो प्लेयरहरू डबिङ गरेर केही साथीहरूलाई
बााड्नुका साथै हाम्रा अनुभूतिहरू सुनायौं । युद्ध
मोर्चाको हाम्रो यो प्रत्यक्ष रिपोर्टिङ पछि काठमाडौमा
रहनुभएका सहकर्मी साथीहरू पनि क्रमशः विभिन्न
युद्धमोर्चामा रिपोटिङ्गका लागि जाने लहर नै चल्यो ।
२०५८ जेठ १५ गते
(लेखक
जनदिशा दैनिकका प्रधान सम्पादक हुन् ।)