अन्तरवार्ता
यस्तै गरे
उनीहरुलाई जनताले सधैंलाई सुताउँछन्
- प्रमोद काफ्ले,
मानवअधिकारवादी नेता
तपाईहरूले संविधानसभाको चुनावको
पर्यवेक्षण के-कसरी गर्नुभयो ?
हामीले दक्षिण एशियादेखि यूरोप,
अमेरिकासम्मका हाम्रा विदेशी मित्रहरूलाई हाम्रो
संस्थामार्फत् पर्यवेक्षणमा खटाएका थियौं । उनीहरू ४२
जना थिए । त्यसमा २५ जना पत्रकारहरू पनि थिए । यसरी ६७
जनाको समूह थियो । ४२ जना विदेशी मित्रहरूको ४२
जिल्लामा पर्यवेक्षण गर्नुभयो । उहाँहरूले तराईका २०
जिल्ला र पहाड र हिमालका २२ जिल्लामा पर्यवेक्षण
गर्नुभयो ।
माओवादीले डर, धम्की, त्रास
देखाएर आपनो पक्षमा मत लिएको आरोप विभिन्न पार्टीहरूले
लगाइरहेका छन् । तपाईहरूले पर्यवेक्षणमा के देख्नुभयो
?
पर्यवेक्षणका आफ्नै सीमा छ ।
विदेशका २० वटा र नेपालका १४ वटा आधिकारिक संस्थाहरूले
९० हजारभन्दा बढी पर्यवेक्षक खटाएका थिए । उनीहरू
कसैकोमा माओवादीले डर, धम्की र धाँधली गरेको रिपोर्ट
आएको छैन । यो आरोप नितान्त राजनीतिक फोहोरी खेल र
हिजोकै प्रवृत्ति हो । जब जनताबाट नाङ्गीन्छन् अनि
जनतालाई नै उनीहरू अवमूल्यन गर्छन् । अहिले यदि कुनै
राजनीतिक पार्टी या समूह वा व्यक्तिहरूले निर्वाचनमा
माओवादीले धाँधली गरेको हो भन्छन् भने ती-ती
व्यक्तिहरूको ठाउा तोकेर नै म भन्न सक्छु । ती
व्यक्तिहरूले नै धाँधली गरेर हारेका छन् । धाँधली गर्दा
पनि हारेपछि उनीहरूले माओवादीलाई आक्षेप लगाएका हुन् ।
यो माओवादीप्रतिको आक्षेप होइन जनताप्रतिको आक्षेप हो
। यस्तै पारा उनीहरूको रहिरहने हो भने आगामी चुनावमा
उनीहरूले जमानत पनि जोगाउन सक्दैनन् ।
त्यसो भए तपाईहरूले कहीं पनि
माओवादीबाट धाँधली भएको देख्नुभएन ?
माओवादीको तर्फबाट अवरोध भएको कहीं
हामीले देखेनौं । चुनावमा २-४ प्रतिशत घटनाहरू हुन
सक्छन् । तर, हामीले पर्यवेक्षणमा पाएको कुरा के हो भने
तराईमा अत्यधिक धाँधली भएको छ । जहाँ माओवादीले जितेको
छैन । तर त्यसबारे कसैले आवाज उठाएको छैन । कांग्रेसले
एमालेको उम्मेदवार मारेको छ । कांग्रेसले सिन्धुलीमा
एमालेको खुट्टा भाचेको छ । यसबारे ती पार्टीले कुरा
उठाउादैनन् । दाङमा ७ जना माओवादीको हत्या भएको छ
यसबारे कुरा उठ्दैन । तर, उहाँहरू सुनियोजित रूपमा
हरूवा गोरुको छेरुवा ताल जस्तै माओवादीमाथि मात्रै
आरोप लगाउादै हुनुहुन्छ । जनताले चिनेका छन् । अहिले
अलिअलि भोट पाएका छन् यस्तै हो भने उनीहरूको अर्काे
चुनावमा जमानत जफत नै हुन्छ ।
अहिले माओवादी सबैभन्दा ठूलो दल
भइसकेपछि पनि उसको नेतृत्वमा सरकार गठन गर्न पाउदैन
भन्ने एकथरिले तर्क गर्छन् नि ?
माओवादीले पाएको सिटको आधा पनि
अन्य पार्टीको छैन । चुनावअघि नै उहाँहरूले दुईतिहाइ
चाहिन्छ भनेको भए मलाई लाग्छ दुईतिहाइ जनताले दिन्थे ।
होइन यो संविधानसभा हो । सबै पक्ष, सबै विचारका मान्छे
जानुपर्छ भनेर जनताले माओवादीलाई अत्यधिक मत र अन्य
पार्टीलाई केही मत दिएका हुन् । संविधान मिलेर बनाउन
भनेका छन् । तर अहिले उनीहरू दुईतिहाइ चाहिन्छ भनेर
भन्नु भनेको बहुलाउने दिशातिर गइरहेको संकेत हो ।
स्वस्थ दिमाग भएको मान्छेले यस्तो कुरा गर्दैन ।
तपाईहरू नागरिक समाज र
मानवअधिकारवादीहरुले अहिले ती पार्टीहरुलाई के सुझाव
दिनुहुन्छ ?
सबैभन्दा ठूलो भनेको जनताको
अभिमत हो । जनताको अभिमतलाई नबुझेर कसैले सुतेको
अभियान गर्छ भने तिनलाई जनताले सजाय दिन्छन् ।
माओवादीले सरकारको नेतृत्व गर्नुपर्छ । उसले अन्य
पार्टीहरूलाई पनि संगै मिलाएर लैजानुपर्छ । दलित,
जनजाति, मधेसी, पिछडिएको समुदायलाई प्राथमिकता दिएर
उनीहरूलाई रोजगारी, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत
कुराहरूमा ध्यान दिनुपर्छ । यसमा माओवादीले ध्यान दिएन
भने जनताका लागि धोका हुन्छ ।
के माओवादी नेतृत्वको सरकार सफल
हुनसक्छ ?
२०४८ सालको चुनावमा कांग्रेसले
प्रचार गर्दा एमालेले बुढाबुढीलाई मार्छ भन्थे । आज
त्यस्तै कुरा कांग्रेस र एमालेले माओवादीलाई लगाइरहेका
छन् । अझ विडम्बना त आफूलाई वामपन्थी भन्ने दल नै यस्ता
कुरा गरिरहेका छन् । उनीहरू अहिले माक्र्सवादी र
लेनिनवादी नरहेपछि बकवास गरिरहेका छन् । हामीसंग सोच र
प्रतिबद्धता छ भने मात्रै यो देश बन्छ । विदेशीले त
सहयोग गर्ने मात्रै हो । पुराना पार्टीले झुक्याएको
हुनाले अहिले माओवादी पक्षमा जनमत आएको हो । माओवादीले
स्पष्ट धारणासहित जनभावनाको कदर गरेर देशको नेतृत्व
गर्नुपर्यो ।
जनमुक्ति सेनाको कमाण्डर अध्यक्ष
प्रचण्ड भएकोले उहाँले सरकारको नेतृत्व गर्न नपाउने,
वाईसीएल विघटन गर्नुपर्ने जस्ता कुराहरु पनि केही
पक्षले उठाइरहेका छ नि ?
यो भनकेो बौद्धिक दिवालियापन हो
। शान्तिसम्झौता उहाँहरूले राम्ररी पढ्नुपर्छ । जनताको
करबाटै दुवै सेना पालिएका छन् । उनीहरूले निदाएको
अभिनय गरिरहेका छन् । यस्तै हो भने जनताले उनीहरूलाई
सााच्चैको निदाइरहने बनाइदिने छन् । अब माओवादीले होइन
जनताले विद्रोह गर्नेछन् । प्रचण्डले सरकारको नेतृत्व
गर्न पाउने सय प्रतिशत अधिकार छ । मानवअधिकार र नगारिक
समाजको हिसाबले हेर्ने हो भने यसमा कुनै शंका छैन । यी
सबै टुङ्गसिकेका कुरा किन अहिले उठाईंदैछ । किन नयाँ
नेपाल बनाउने र नयाँ बाटोमा जान नदिने प्रयत्न गरिंदैछ
यहाँ प्रश्न उब्जिएको छ ।
अन्तमा के भन्न चाहुनुहन्छ ?
यो ठूलो प्रश्न भएजस्तो लाग्यो
मलाई । जनमतलाई अगाडि बढाउन माओवादीले पहल
गरिहाल्नुपर्छ । नियोकलगायतका चुनाव पर्यवेक्षण
संस्थाले चुनावअघि देखिन प्रत्येक घटनामा माओवादीलाई
दोष दिएर आफ्नो गलत नियत उदाङ्गो पारिसकेका थिए ।
त्यस्ता संस्थाले समेत अहिलेको चुनाव निष्पक्ष भइरहेको
बताइरहेका छन् । जसको उद्देश्य नै माओवादीको कमजोरी
खोज्नु थियो । अहिले यहाँ कुनै अमूक, पार्टी वा
संस्थाले माओवादीलाई आरोप लगाउाछ भने त्यो कुतर्क
मात्रै हो । कुकुर भुक्दै गर्छ हात्ती अगाडि बढ्दै
गर्छ । माओवादीले खुट्टा लर्बराउनु हुँदैन । सबैभन्दा
ठूलो कुरा माओवादीले जनताको आधारभूत आवश्यकता पूरा
गर्नेतर्फ लाग्नुपर्छ ।