दृष्टिकोण
उत्कृष्ट
सहकार्य नभए निकृष्ट परिणति हुनसक्छ
- रविकिरण निर्जीव
यो संविधानसभाको चुनावमा नेकपा (माओवादी)प्रति
यति उच्च र उल्लासमय लहर किन आयो ? यो पार्टीले बहुमत
वा बढी मत प्राप्त गरेपछि पुराना र नयाँ पार्टीहरूबीच
सहकार्य कस्तो होला , सहकार्यको विलम्ब तथा शीघ्रताले
के-कस्ता नकारात्मक र सकारात्मक परिणामहरू ल्याउलान् ?
यो नेपाली सचेत नागरिकहरूका मनमस्तिष्कमा उठेका आजका
जिज्ञासाका ज्वारभाटाहरू हुन् ।
असम्भव मानिएको नभए पनि
हिंसात्मक होला भनी ठानिएको यो चुनाव यसरी सापेक्ष
रूपमा शान्तिपूर्ण र स्वच्छ भएकोमा आश्चर्यचकित नहुने
कोही छैन । नेकपा (माओवादी)ले नेपाली कांग्रेसलाई
घिसारेर, एमालेलाई घचेटेर र अरु पार्टीलाई तानेर चैत
२८ गतेसम्म ल्याएको यथार्थता सर्वसम्मत छ ।
समावेशीमूलक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक
राज्यसंरचना बनाउने भन्ने यो पार्टीको जोड पनि जगजाहेर
छ । उक्त 'आश्चर्य’लाई 'सामान्य’ बनाउने यी दुई मूल
गुदीहरू हुन् । प्रतिशतमा छुट्याउन आवश्यक नहुने यस
पार्टीप्रति नेपाली नागरिकहरूमा आएको विश्वासका थप
आधारहरू अरु जसलाई यसरी उल्लेख गर्न सकिन्छ ।
पुराना पार्टीका सरकारहरूद्वारा
राम्रा काम हुन नसकेकोमा विकर्षण तथा विरोध र नयाँ
पार्टीप्रति आशावादी हुन् (१) शान्तिको तीव्र अभिलाषा,
(२) नयाँ पार्टी प्रतिबद्धताप्रति भरोसा, (३) नयाँ
पार्टीको प्रभावकारी निर्वाचन प्रचार तथा तयारी, (४)
पार्टी कार्यकर्ता एवं वाईसीएल कार्यकर्ताहरूको समर्पण
तथा कठोर परिश्रम (५) नयाँ पार्टी अध्यक्ष प्रचण्डका
रोचक, मनोवैज्ञानिक र भरपर्दा सम्बोधनहरू आदि ।
वाईसीएलको भय तथा दमन यो पार्टीको अप्रत्याशित जितको
कडी हो भन्ने आशयका आरोपहरू विपक्षीहरूले लगाएको भए
तापनि वस्तवमा यो कुरा हारको मानसिकता र आत्मालोचनाको
दुर्बलता सिवाय अरु सकारात्मक कुरा हुनसक्तैन । नयाँ
पार्टीको चुनावी सफलताप्रति छिमेकी र टाढाका
मित्रराष्ट्रहरूले व्यक्त गरेका शुभकामना र बधाईका
सन्देशहरूले पनि यो चुनावको निष्पक्षतामा लाहा छाप
लगाउदैन र ?
प्रधानमन्त्री गिरिजाप्रसाद
कोइराला, निवर्तमान महासचिव माधवकुमार नेपाल, अध्यक्ष
प्रचण्डलगायत अरु नेताहरूले पनि ७ पार्टीहरूको सहकार्य
पछिल्ला दिनहरूमा पनि निरन्तर कायम रहनुपर्छ भनी बचन
दिएका हुन् । अन्तरिम संविधानले पनि यही बचनलाई समर्थन
गरेको छ र चुनावी पार्टी घोषणापत्रहरूले समेत यही
विषयमाथि प्रतिबद्धता जाहेर गरेका छन् । हरेक तह र
तप्काका नागरिकहरूमा यो सहकार्यप्रति दृढ समर्थन रहनेछ
र यसको विपरीत कोही रहने छैन । यस्तो सर्वसम्मत र
सकारात्मक अवस्थामा सहकार्यप्रति आस्था र सहमति नहुनु
घोर दुर्भाग्यपूर्ण स्थिति हुँदैन र ? अझ एमालेको
अहिल्यै सरकार छोड्ने कुरा कतिसम्म वैरभावपूर्ण हो ?
यो समय खासगरी नेपाली कांग्रेस र
एमालेको आत्मसमीक्षाको उत्तम अवसर हो । आत्मालोचना पनि
गर्ने तर त्यसमा पराजयको रोष मिसाएर राजनीतिक,
अपरिपक्वता र प्रतिशोध प्रदर्शन गर्ने समय होइन यो ।
ने.कां. र एमाले नेताहरूका भावी संयुक्त सरकारमा नरहने
अभिव्यक्तिहरू आउन थालेका छन् । सहकार्यको लिगबाट पाखा
लाग्ने -अमुक पार्टीको बहुमतको अवस्थामा) परिघटना
राजनीतिक रूपले सही भए तापनि देशको आजको स्थितिको
सापेक्षतामा सही होइनन् । नेकपा -माओवादी)ले सहकार्य
विपरीत एकल कार्य गर्न खोजेको स्थितिमा बाहेक अरु
अवस्थामा जिम्मेवार पार्टीहरू पलायन हुन कीमार्थ
मिल्दैन, अपितु माओवादी एक्लै सरकार बनाउने मनस्थिति र
योजनामा भए पनि त्यसलई सहकार्यको परिधिभित्र
ल्याउनुपर्छ । माओवादीको यस्तो मानसिकता नै छैन । सबैले
साथ नदिएदेखि ऊ एक्लै हिंड्नुपर्छ र जनताले साथ पनि
दिनुपर्छ । संविधानसभापूर्ण भइसकेको यो अवस्थामा
सहकार्यको उल्टापट्ट हिंड्न मिल्छ ? कथंकदाचित आवेगमा
उभिएर पार्टीहरूले यो प्रवृत्तिको चरितार्थ गरिदिए भने
संविधानसभाले पूर्णता पाउला ? गणतन्त्र कार्यान्वयन
होला ? देशमा स्थापित भइसकेको शान्ति साकार होला ? यी
अर्का यक्ष प्रश्नहरू हुन् । यस्तो अपि्रय र
विडम्बनायुक्त स्थिति उत्पन्न भएमा नेपाली जनताले
प्रमुख पार्टीहरूलाई के भन्लान् ? सहकार्य विपरीत जाने
कुरै छाडौं, यसका लागि विलम्ब भयो र संयुक्त सरकार
बनाउने, सभाध्यक्ष, उपसभाध्यक्ष निर्वाचन गर्ने,
संविधानसभाको कार्यविधि बनाउने, पहिलो बैठकद्वारा
राजालाई निष्काशित गर्ने आदि ज्वलन्त कार्यमा
गत्यावरोध भयो भने नेपाली बुद्धिजीवी तथा नागरिक एवं
मतदाताहरू नेकपा (माओवादी)माथि जाइलाग्ने कि सात दलका
वा अरु दलमाथि जाइलाग्ने ?
वामपन्थी एकताबारे पनि सन्दर्भ र
प्रयत्न भएका हुन् । यस विषयमा एमालेले आफ्नो उच्च र
माओवादीको नीच मूल्यांकन गरेकोले आज उसको यो दुर्दशा
भयो । समभाव राखेको भए यो स्थिति हुने थिएन । सबै
पार्टीका शीर्षस्थ नेताहरूको निम्ति चुनावी समझदारी
गर्ने भनी चर्चा पनि भएको छ । तर यसले पनि मूर्तरूपले
लिन सकेन, फलस्वरूप संविधानसभामा आउनपर्ने माधवकुमार
नेपाल, वामदेव गौतम, विद्या भण्डारी, भरतमोहन अधिकारी,
कृष्णप्रसाद सिटौला, महेश आचार्य, शेखर कोइराला र
लीलामणि पोखरेल आदि नेताहरू बाहिर भए । अझ सूर्यबहादुर
थापा, पशुपति शमशेर, कमल थापाहरू आइदिएका भए यो सभा
रोचकता, प्रतिस्पर्धी र सतर्कतापूर्ण हुने थियो ।
राजनीतिमा सहिष्णुता हुन्छ, शत्रु हुँदैन भन्ने
सिद्धान्तअनुरूप यो कुरा आएको हो ।
यो सभामा माओवादीका प्रमुख
नेताहरू निर्वाचित भए तर अरु पार्टीका पराजित हुनुमा
ती पार्टीकै नेताहरूको अहं अपरिपक्वता र अदूरदर्शिता
आदि दुर्गुणहरू जिम्मेवार छन् । तिनैले गर्दा
संविधानसभा गरिमामय र प्रतिस्पर्धात्मक हुने
सौभाग्यबाट बञ्चित भएको छ । यही दुर्गुण कतिपय
नेताहरूको 'पतन’ र 'सन्यास’को कारण पनि हुनसक्छ ।
टुप्पाबाट पलाएका केही भ्रष्ट, छुद्र र अराजनीतिक
नेताहरू ? को पराजय भने समस्त जनताको निम्ति खुशी कै
घटना भएको छ ।
कुरा नेकां. र एमालेका मात्र
छैनन् माओवादीका पनि छन् । यदि नेकपा (माओवादी)ले आफ्नो
अभूतपूर्व विजयको आवेग र विपक्षीहरूको न्युन स्थान तथा
पराजयको नैराश्यबीच समायोजन गर्न र आफ्नो विजय हर्ष र
त्यसले उभ्याएका समान उचाइका जिम्मेवारी र
चुनौतीहरूलाई पुनरावृत्ति गर्यो भने उसका पछिल्ला
दिनहरू अत्यन्त घातक र दुःखद् हुनेछन् । आफ्नो शासकीय
दिनहरूको निम्ति यसले पार्टी निर्णय र निर्देशनमा
मात्र होइन आफ्नो पार्टीका बुद्धिजीवीहरूको उचित
परामर्शका साथै नागरिक समाजको सुझावलाई समेत ग्रहण
गर्दै स्वार्थ त्यागको उच्च र उदात्त तहमा पुग्नुपर्छ
।
जनताका आकांक्षा एवं आवश्यकताहरू
अनन्त छन् र ती यथाशीघ्र परिपूर्ति हुनपर्ने छन् तर
भोलिको सरकारको समय र कार्यहरू सीमित छन् । विशेषतः
यसले राजालाई गद्दीच्युत गर्नु र संविधान निर्माण गरी
तदनुरूपको संसद्को निर्वाचन सम्पन्न गरिछाड्नु हो । तर
भोलि बन्ने नेकपा -माओवादी)को संयुक्त वा एकल सरकारले
रोजगारी, मूल्य नियन्त्रण, शान्तिसुरक्षा, युद्धकालीन
सहिद, बेपत्ता, घाइते आदिको व्यवस्थापन र परिपूर्ति
गर्नपर्ने हुन्छ । अझ नयाँ नेपाल बनाउने
प्रतिबद्धतालाई पूर्णता दिंदै नयाँ नेपालको निर्माण
प्रारम्भ गर्दा नेपाली जनताले चित्त बुझाउलान् भन्न
सकिन्छ तर यस्तो नेपालको निर्माणको संकेतसम्म पाएनन् र
सत्तापक्ष र सबै पक्ष वा प्रतिपक्ष विवादमै अल्भिmएर
बस्न थाले एवं आफ्नै वृत्तभित्र माग घुम्न थाले भने
जनताले क्षमा दिने छैनन् । त्यो बेला उनीहरूले एकएक
पार्टी र नेताको जुागा तानेर र कपाल भुत्लेर सत्ता र
शक्तिबाट तल भुइामा झरेर कारबाही गर्नेछन् ।
अरुको आलोचना कम आफ्नो आलोचना बढी
गरी अन्तरिम संविधानको मर्म, जनताको आकांक्षा तथा
जनादेशलाई हृदयंगम गरी सहकार्यलाई उच्च प्राथमिकता दिनु
सबै पार्टी र नेताहरूको परम कर्तव्य हुन गएको छ । साथै
बहुमत वा बढी मत प्राप्त पार्टीको नेताको नेतृत्वमा
सरकार गठन गरी संविधानसभाको पहिलो बैठकद्वारा राजालाई
सत्ताच्युत गरी लोकतान्त्रिक गणतन्त्रात्मक एवं समावेशी
संघीय संविधान निर्माण गरेर तदनुसार संसदीय निर्वाचन
सम्पन्न गराई सत्ता सुम्पनु भोलिको माओवादीको संयुक्त
वा एकल सरकारको ठोस एवं प्रमुख कार्य हुनेछ । एउटा
उत्कृष्ट परिणति निस्कने छ र यसले १२ बुादे सहमति, १९
दिने जनआन्दोलन र चैत २८ गतेको ऐतिहासिक स्वतन्त्र र
स्वच्छ निर्वाचनको मेरुदण्डमा घातक प्रहार गर्नेछ । यो
प्रकारको काल्पनिक त्रासले नागरिक भयभित भइरहेको छ,
त्यसैले बुद्धिजीवी नागरिक अगुवा र सचेत मतदाताहरूले
सहकार्यको पक्षमा तथा यसको विपरीत हिंड्नेहरूको
विरुद्ध बलियो दबाब सिर्जना गरी सहकार्यलाई सार्थक र
सफलीभूत तुल्याइ गणतान्त्रिक सुन्दर र नयाँ नेपालको
निर्माण प्रारम्भ गर्न जरुरी र अबेर भइसकेको छ । यस
पुनीत कार्यमा पााच करोड हातहरूको भर हुनेछ । आऔं, नयाँ
नेपालको निर्माण थालनीको लागि आ-आफ्ना हातहरू उठाऔं ।
भनपा-६ चितवन