विचार

संविधानसभा निर्वाचन परिणाम र आगामी कर्तव्यहरु

- देवेन्द्र पौडेल (सुनिल)

संविधानसभाको चुनावपछि हाम्रो देशमा मात्रै नभएर संसारभरि नै नेपालको बारेमा नयाँ बहस सुरु भएको छ । कैयौं आंकलनहरू फेल भएका छन् । नेकपा-माओवादी)लाई राज्यमा स्थापित हुनै नदिनका लागि दायाँबायाँ तलमाथि सबैतिरबाट षड्यन्त्रहरू गरिरहेका शक्तिहरूका लागि अपत्यारिलो सपनाजस्तो भएको छ । संसारभरिका सबै खाले प्रतिक्रियावादी शक्तिहरूका लागि सगरमाथाको काखमा युद्धको साथै चुनावी मैदानमा पनि माओवादीले बोकेको हासियाहथौडाको झण्डाको फहराटले झड्का महसुस भएको छ । अब उनीहरूका लागि माओवादीलाई चुनावी मैदानमा ल्याउने र खुम्च्याइदिने रणनीति फेल भएर गलत सावित भएको छ । बरु चुनावी मैदानमा पनि आफ्नो अग्रगता र श्रेष्ठता प्राप्त गरेको माओवादीलाई कसरी राज्यमा असफल बनाउने, सरकार निर्माण पछि पनि कसरी चौतर्फी घेराबन्दी गरेर एक्ल्याउने भन्ने बारे नयाँ बहसहरू सुरु भएका छन् । प्रतिगामी शक्तिहरूलाई त माओवादीले ऐतिहासिक जनयुद्धकै क्रममा पराजित गरिसकेको थियो भने कतिपय यथास्थितिवादी संसदीय शक्तिहरूले केही हदसम्म माओवादीसंग जनता नभएको र खाली बल प्रयोगले मात्रै आफ्नो उपस्थिति जारी राखेको भन्ने भ्रम बााकी थियो । निश्चय नै यो भ्रमको वास्तविकता पनि एउटा प्रक्रियाबाट उदांगिनुपथ्र्यो । यो प्रक्रिया संविधानसभाको निर्वाचन हुन पुग्यो । यसरी कैयौ प्रतिक्रियावादी शक्तिहरू, यथास्थितिवादी संसदीय शक्तिहरू र केही रुढाग्रही यान्त्रिक साना पार्टीहरूका मनोगतवादी भ्रमहरूलाई नेपाली जनताले राम्रो जवाफ दिएका छन् । नेपालको इतिहासमा जहिले पनि न्यायको निम्ति संघर्ष गर्दै अगाडि बढेका महान् क्रान्तिकारी जनसमुदायले आफ्नो ऐतिहासिक जिम्मेवारी पूरा गरेका छन् । त्यो ऐतिहासिक जिम्मेवारीलाई पूरा गर्ने दायित्व आम जनतासंग एकाकार हुँदै माओवादीको काधमा आएको छ । नेपाली जनता निश्चय नै नयाँ नेपालको भव्य जग बसाल्न चाहन्छन् । त्यसैले पनि नयाँ नेपाल निर्माणको लागि नयाँ विचारसहितको नयाँ नेतृत्व नेपाली जनताका लागि आवश्यक भएको छ । नयाँ भविष्य हाम्रो सामु छ, त्यो नयाँ भविष्यलाई इतिहासबाट पाठ सिक्दै आफ्नो पहलमा लिनका लागि निश्चय नै संकल्पको आवश्यकता पर्ने छ ।

नेपाली जनताले अग्रगामी र क्रान्तिकारी विचारलाई साथ दिएको कारणले नै माओवादीले निर्वाचनको मोर्चामा अग्रता हासिल गरेको यथार्थतालाई अझै पनि केही शक्ति र व्यक्तिहरूले आत्मसात् गर्न सकिरहेका छैनन् । अझै पनि बल प्रयोग गरेको कारणले, वाईसीएल सक्रिय भएका कारणले धम्की दिएका कारणले, बन्दुकको डरका कारणले चुनाव माओवादीको पक्षमा गएको भन्ने जस्ता अत्यन्तै झुठा र अपत्यारिला कुराहरू अहिले पनि बजारमा फिजाउन खोजिदैछ । निर्वाचनभन्दा पहिला माओवादीमाथि भएका भीषण आक्रमण र हत्याहरूलाई नेपाली जनताले राम्रैसंग देखेका र भोगेका छन् । चुनावमा माओवादीलाई हराउनका लागि रचिएका धाँधलीका षड्यन्त्रहरू कैयौं ठाउमा बाडिएका पैसाहरू प्रयोग गरिएका गुण्डाहरू, मतदाता नामवलीको बेला देखि फर्जी मत खसाल्ने कार्यहरू आदि हेर्दा निश्चय नै यथास्थितिवादी शक्तिहरू कांग्रेस, एमाले माओवादीलाई हराउन कम्मर कसेर लागेका थिए । माओवादीप्रति भएको जनमतअनुसारको चुनावी अनुभव पनि हुन्थ्यो भने परिणाम यो भन्दा धेरै नै फरक भएको आउने थियो । जतिसुकै बढी आए पनि सानो खोला नदीसरह हुन सक्दैन । महान् नेपाली जनताको मुक्तिका लागि दशौं वर्ष लडेको शक्तिलाई ससाना खहरे खोलाहरूले जित्न सम्भव थिएन । त्यसैले नितान्त सोझो र इमान्दारितापूर्वक नेकपा-माओवादी) संविधानसभाको निर्वाचनमा प्रवेश गरेको थियो । विवेकलाई प्रयोग गर्दै धैर्यतालाई नगुमाइकन चुनावी मैदानमा अघिबढेको शक्तिलाई फेरि पनि झुठा आरोपहरू लगाउन खोजिदै छ । आम क्रान्तिकारी न्यायप्रेमी जनसमुदायले अझै पनि यसखाले भ्रामक प्रचारहरूलाई देशका सबै ठाउाहरूका खण्डन गर्न आवश्यक छ । झुठा र बेइमानीपूर्ण भ्रमहरूलाई चिर्नु, अन्यायको निम्ति निरन्तर दृढ भएर संघर्ष गर्नु, निरन्तर रूपमा जनताको दुःख, पीडा, वेदना, रगत र आसुसंग एकाकार भइरहनु माओवादीको विशेषता हो । अहिले पनि निर्वाचनमा प्राप्त गरेको अग्रताप्रति मात्रै ध्यान केन्दि्रत गर्‍यौं र आगामी कार्यभार र गम्भीर प्रकारका चुनौतीहरूको सामना गर्ने साहस गरेनौं भने फेरि पनि क्रान्तिकारी शक्तिलाई अप्ठ्यारो पार्ने खतराका संकेतहरू देखिएका छन । यी चुनौतीहरूलाई चिर्नका लागि नयाँ संकल्प र सक्रियताको आवश्यकता झनै जरुरी भएको छ ।

हामीले जहिले पनि विकासको नियम र गतिलाई बुझ्नुपर्ने हुन्छ । विकास सुल्टो वा उल्टो जसरी भएपनि अविच्छिन्न रूपमा अगाडि बढिरहन्छ । हामी क्रान्तिकारीहरूले बुझ्ने, प्रयोग गर्ने र अगाडि बढाउने विकासको नियम भनेको सुल्टो र सकारात्मक हो । संसार पनि गतिशील, समाज पनि गतिशील र विकासको नियम पनि गतिशील भएकोले स्वाभाविक रूपमा त्यो गतिशीलताको प्रभाव सामाजिक सम्बन्धहरूमा पनि पर्ने गर्दछ । अझै हामी क्रान्तिकारीहरूले सामाजिक सम्बन्धको गतिशीलतालाई मात्रात्मक प्रक्रियाले मात्रै होइन कि गुणात्मक छलाङ्गको प्रक्रियामा बुझ्ने र प्रयोग गर्ने गर्दछौं । ऐतिहासिक जनयुद्ध मानवीय सामाजिक परिघटनाहरूमा व्यक्त भएको गुणात्मक छलाङगको गति थियो । वर्ग विचार र वर्गपक्षधरतामा ओतप्रोत भएर जनताको ठूलो हिस्सा समाज र राष्ट्रलाई बदल्न संकल्पित थियो । गतिको नियमलाई उल्टो बुझ्ने कतिपय प्रतिगामी र यथास्थितिवादीहरूले माओवादी जनयुद्धलाई बुझ्न सक्ने कुरै भएन । एकपछि अर्को गरी गुणात्मक प्रगतिमा बढेको जनयुद्ध वास्तवमा जनताले नै जनताको मुक्तिका लागि सञ्चालन गरेको युद्ध थियो । त्यसले स्वाभाविक रूपमा उत्पीडित जनताको दिलदिमागलाई प्रभाव पारेको थियो । एकपटक मात्रै होइन कि जनताको मुक्तिका निम्ति आवश्यक पर्‍यो भने हजार पटक छाती चोक्टाचोक्टा हुने जेलिसम्म पनि थाप्न सक्ने वीरहरूको पार्टी नेकपा-माओवादी) भएकाले यसले सजिलै विकासको नियमलाई बुझ्न सक्यो । यसै प्रक्रियाको निरन्तर गतिशीलताको अभिव्यक्ति संविधानसभा रूपी निर्वाचन बन्न पुग्यो । माओवादीले नै जन्माएको, पालेको र हुर्काएको एजेण्डा संविधानसभाको निर्वाचन थियो । त्यसैकारण यो निर्वाचनमा माओवादीले जित्नु अप्रत्यासित होइन । महान् जनताले क्रान्तिकारी शक्तिमाथि गरेको न्यायोचित सम्मान हो । गति र विकासको नियमलाई छलाङ्गमा बुझ्दै जनताले सुम्पेको जिम्मालाई अत्यन्तै गम्भिर प्रकारको धैर्यता, साहस र कला प्रयोग गरेर कार्य सम्पादनमा लैजानु हामी क्रान्तिकारीहरूको अर्को महत्वपूर्ण जिम्मेवारी हो । गतिको नियम र विकासको चक्रले स्वाभाविक रूपमा पुरातनको अन्त्य र नूतनको सिर्जना वा उदय गराइरहन्छ । समाजविज्ञान वा मानिसका सामाजिक सम्बन्धहरूमा पनि विकासको नियमले पुरानोलाई क्रमशै निषेध गर्दछ । निषेध भनेको सम्पूर्ण प्रक्रियाको पूर्ण टुटेको कडी होइन कि बरु एकपछि अर्को गरी अगाडि बढ्नेले पछाडिकोलाई छोड्दै वा पछि पार्दै सिक्रीजस्तै अगाडि बढिरहने नियम पनि हो । करिबकरिब १५ वर्षको नेपालको राजनीतिक विकासक्रमले स्वाभाविक रूपमा प्रतिगमनलाई पूर्ण रूपमा पराजित र यथास्थितिवादलाई पछाडि छोड्दै अग्रगामी क्रान्तिकारी धारालाई धेरै नै अगाडि ल्याइदिएको छ । नेकपा-माओवादी) नयाँ विचार र नयाँ नेतृत्वसहितको अत्यन्तै सक्रिय, जुझारु, गतिशील र साहसी शक्ति भएकोले जुनसुकै मोर्चाहरूमा पनि उसको अग्रता हुनु स्वाभाविक नै हो । नयाँ भविष्यको निर्माण नयाँ शक्तिले मात्रै गर्न सक्छ । साइकलले मोटरसाइकलसंग प्रतिस्पर्धा गर्न खोज्नु र जित्ने सपना देख्नु कल्पना मात्रै हुन्छ । त्यसैले एकपटक नेपालको राजनीतिक इतिहासको पाना पल्टिएको छ । एउटा अवस्था र प्रक्रियाबाट अर्को अवस्था र प्रक्रियामा नेपालको राजनीति प्रवेश गरेको छ । संविधानसभाको निर्वाचनभन्दा पहिले आफैलाई मात्रै मुलधारा सम्भिmने संसदीय यथास्थितिवादले जसरी माओवादी बाहेक पनि राज्य चल्न सक्दछ भन्ने भ्रम छरेको थिए, त्यो भ्रम उदांगीएको छ र माओवादी नै मुलधारको रूपमा स्थापित भएको छ । निश्चय नै पुरातनले नयाँ गति र नयाँ बाटो खोज्न प्रयत्न गर्दछ । नुतन पनि एउटा अध्याय पूरा गरे पछि पुरानो बन्न सक्दछ । त्यस्तो अवस्थामा क्रान्तिकारीले कार्यनीति, रणनीति र सामाजिक अन्तरविरोधहरूलाई बुझेर निरन्तर रूपमा अगाडि भइरहने, नेतृत्व गरिरहनका लागि चुनौतीहरूसंग सामना गर्न दृढ हुनैपर्दछ ।

हामी क्रान्तिकारी हमेशा अन्तरविरोधहरूको पहिचान गर्न र ती पहिचान भएका अन्तरविरोधहरूको परिचालन गर्न निपूर्ण हुनै पर्ने हुन्छ । निश्चय नै नेपालको राजनीतिक परिस्थितिले नयाँ नयाँ अन्तरविरोधहरू सतहमा ल्याईदिएको छ । क्रान्तिकारी शक्तिमाथि हुने आक्रमणका आर्कहरू बदलिने छन् । हिजोको अवस्था भनेको सत्ता र राज्यलाई प्रयोग गरेर क्रान्तिकारी शक्ति माथि हमला गर्ने गरिन्थ्यो । जनताको ठुलो हिस्साले साथ दिएको हुँदा माओवादीलाई सिध्याउन सम्भव भएन । अन्ततः सहकार्य र सहमतिको प्रक्रियामा सबै पक्षहरू आउन बाध्य भए । हिजोका कतिपय प्रतिक्रियावादीहरूले माया गरेर वा राज्यमा माओवादीको आवश्कता बोध भएर माओवादीसंग सहकार्य गर्न आएका होइन । मुख्य सामन्तवादले दमन गरेको र आफ्नो औकात र हैसियत नपुगेको बाध्यात्मक अवस्थामा यो अध्याय सुरु भएको थियो । जसरी जुन रूपमा जे गरेर भएपनि राजतन्त्रको विरोधमा भएका यी सकारात्मक सहकार्यहरूले नेपालको इतिहासमा महत्त्वपूर्ण भूमिका अवश्य नै खेलेका छन् । अब परिस्थितिमा केही फेरबदल भएको छ । कतिपय मूलधार हौं भन्नेहरूका जोड घटाउ नमिले पनि नेकपा-माओवादी) आन्दोलनकारी शक्तिहरूसंग अझै पनि नयाँ नेपाल निर्माण गर्नका लागि सहकार्य गर्न तयार छन् तर पनि अति प्रतिक्रियावादीहरूले पर्दा पछाडिबाट अर्को भिन्न र फरक आर्कमा बसेर माओवादी शक्ति तथा क्रान्तिकारी पंक्ति माथि भिन्नभिन्न मोर्चाबाट भिन्नभिन्न तरिकाले आक्रमण गर्ने संकेत देखिएको छ । राज्यसत्ता र सरकारलाई एकलौटी प्रयोग गरेर क्रान्तिकारी शक्तिमाथि धावा बोल्ने अध्याय अहिलेको अवस्थामा असम्भव भएको छ । त्यसैले सारमा के भन्न सकिन्छ भने अन्तरविरोधहरू बदलिएको छन्, अन्तविरोधका चरित्रहरू बदलिएका छन् । यसरी बदलिएका अन्तरविरोध र चरित्र अनुसार क्रान्तिकारी पंक्तिले पनि तीनिहरूको ठिक ठिक पहिचान र परिचालन गर्नसक्नुपर्दछ । क्रान्तिकारी शक्ति मात्रात्मक विकासको प्रक्रियाबाट गुणात्मक शक्तिको रूपमा वैधानिक रूपले समेत स्थापित भएकोले आसन्न चुनौतीहरू खासगरी भिन्न आर्कबाट हुने हमलाहरूलाई प्रतिरोध गर्न जुझारु हुन आवश्यक छ ।

हामीले जहिले पनि इतिहासको धारा प्रवाहलाई बुझ्नका लागि भौतिकवादी द्वन्द्ववादलाई आत्मसात गर्नुपर्दछ । भौतिक सत्य हाम्रो सामु उपस्थित छ । हाम्रो देशको राजनीतिक सन्दर्भमा नेकपा-माओवादी)प्रति जनताको अगाध आस्था भौतिक सत्य हो यो भौतिक सत्यलाई भौतिकवादी अर्थमा ग्रहन गर्नु र गर्विलो जिम्मेवारीवोध गर्न हाम्रो यतिबेलाको अहं दायित्व हो । विभिन्न अन्तरविरोधहरूले जेलिएको समाजलाई बुझ्दा हामीले कहिल्यै पनि द्वन्द्ववादलाई पनि बिर्सनु हुदैन । इतिहासका विभिन्न चरण र अध्यायमा सकारहरू नकारमा र नकारहरू सकारमा बदलिने पनि गर्दछन् हाम्रा अगाडि उपस्थित चुनौतीहरूलाई ठीक ठीक ढंगले सम्पादन गर्न सक्यौं भने हाम्रो आन्दोलन विश्वको निम्ति अझै नयाँ उदाहरण बन्न सक्नेछ । विभिन्न आन्दोलनका प्रक्रियाबाट हाम्रो पार्टी २०५२ सालमा सशस्त्र संघर्षमा प्रवेश गर्‍यो । शसस्त्र संघर्षको सफल सभ्यासपछि वार्तामा प्रवेश गर्‍यो । नेकपा-माओवादी)ले सशस्त्र संघर्षमा पनि गुणात्मक सफलता प्राप्त गर्‍यो । शसस्त्र संघर्षको अवधिमा पनि कहिल्यै पनि जनपरिचालनको मोर्चालाई कमजोर बन्न दिएन । त्यसैगरी कुटनीतिक पहल र वार्ताको मोर्चामा पनि हाम्रो पार्टीले आफ्ना एजेण्डाहरूलाई सशक्त रूपमा अगाडि बढायो र राज्यमा स्थापित गर्न सक्यो । त्यसैले अझै पनि बााकी विजय प्राप्तिको लागि भौतिकवादी हुनु र द्वन्द्ववादलाई प्रयोग गर्नु हाम्रो कर्तव्य हुनेछ ।

पहिलो कर्तव्य भनेको जसरी हामीले वर्ग, जाति, क्षेत्र र लिङ्ग आदिसंग सम्बन्धित उत्पीडनको अन्त्य गर्ने नारा बनायौं, त्यो नारा जन अनुमोदित भएको छ । वर्गीय, जातीय, क्षेत्रीय र लिंगीय उत्पीडनहरूका सबै स्वरूपहरूको अन्त्य गर्ने नाराले लाखौं जनतामा नयाँ जागरण पैदा गरिदियो । हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको खाका त पेश गरेका छौ तर त्सलाई कार्यरूप दिन बााकी छ । हामीले संघीयताको प्रश्न गर्दा भड्काउने प्रयत्न गर्ने छन् । यो विषयमा क्रान्तिकारी धेरै गम्भीर र सचेत हुन आवश्यक छ । यो कर्तव्य पूरा गर्नका लागि हामी नयाँ आधारमा अगाडि बढ्न सक्नुपर्दछ र मात्रै षड्यन्त्रहरू आफै पछारिने छन् ।

दोस्रो कर्तव्य भनेको जुन वर्गले हाम्रो आन्दोलनलाई साथ दियो, त्यो वर्गलाई राज्यमा स्थापित गर्न ध्यान दिनु हो । निश्चय नै शक्तिको पछि लाग्ने समूह पनि समाजमा हुनेगर्दछ । हाम्रो पार्टी बदलिएको मोर्चाबाट नयाँ शक्तिको रूपमा अग्रस्थानमा । तर पनि हिजोको कहालिलाग्दो अवस्थामा साथ दिने जनता नै मुख्य रूपमा हाम्रो पार्टीलाई यहाँ पुर्‍याउने भूमिका खेलेका छन् । कैयौं प्रकारका अप्ठ्यारा जटिलता र प्रतिकूलताहरूका बीचमा पनि आफ्नो विचार र आफ्नै वर्गको निम्ति समर्पित शक्तिसंग मात्रै अन्तिमसम्म हामी भर पर्न सक्दछौ । त्यसकारण बदलिएको परिस्थितिमा विभिन्न ठाउामा रहेका व्यक्तिहरूको आगमनलाई हामी स्वागत गर्नुपर्दछ । तर वर्ग, विचार र पक्षधरतालाई हामीले हमेशा ध्यान दिनै पर्दछ । पार्टी भित्र कुनै पनि प्रकारको अवसरवादलाई हुर्कन नदिनुले मात्रै आगामी दिहरूमा थप विजय प्राप्त गर्न सकिनेछ ।

तेस्रो कर्तव्य भनेको सामन्तवादको सबै अवशेषहरूको अन्त्य गर्न दृढतापूर्वक अगाडि बढ्नु हो । हाम्रो पार्टीका पहलमा अगाडि बढाइने एजेण्डाहरूलाई असफल बनाउन निश्चय नै नयाँ नयाँ प्रतिगामी शक्तिहरू ग्राउण्डमा आउनेछन् । सामन्तवादको अन्त्य गर्ने सन्दर्भमा साम्राज्यवाद र विस्तारवादको उत्पीडन पनि नेपाली जनताले स्वीकार गर्ने छैनन् । सामन्तवादलाई पूर्ण अन्त्य नगरिकन नयाँ अध्यायमा देश प्रवेश गर्न सकिदैन ।

चौथो कर्तव्य भनेको राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताप्रति पूर्ण प्रतिबद्धता हुनु हो । नयाँ शक्तिको रूपमा राज्यमा अगाडि आएको शक्तिलाई कमजोर पार्नका लागि कैयौ देशी विदेशी प्रतिक्रियावादीहरूले विभिन्न षड्यन्त्रहरू गर्ने कुरा निश्चित छ । शरीरमा एक थोपा रगत रहुन्जेलसम्म र सास रहुन्जेलसम्म देशको राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा दृढतापूर्वक उभिनु प्रत्येक क्रान्तिकारीको दायित्व हो । विगत केही समयदेखि अस्वाभाविक रूपमा देखिएका अनावश्यक विदेशी चलखेलहरूले हाम्रो देशको राष्ट्रिय सुरक्षा, सार्वभौमिकता केही हदसम्म खतरामा थियो र छ । साम्राज्यवादी र विस्तारवादीहरूले आफ्नो स्वार्थका लागि हाम्रो भूमिलाई प्रयोग गर्ने खतरा पनि त्यतिकै छ । यस विषयमा पनि नयाँ जिम्मेवारीसहित कर्तव्य निर्वाह गर्नुपर्ने हुन्छ ।

पााचौं कर्तव्य भनेको बदलिएको परिस्थितिअनुसार फेरि पनि रणनीतिमा दृढता र कार्यनीतिमा लचकताको सिद्धान्तलाई आत्मसात गर्नु हो । कैयौं हाम्रै विगतका कार्यनीतिक अनुभवहरू तथा विश्लेषणहरू भविष्यमा पुराना हुन सक्दछन अर्थात समय सापेक्ष नहुन सक्दछन । ती विषयहरूमा हामी लचक हुनै पर्दछ तर रणनीति भनेको हाम्रो मुख्य निष्ठा र आस्था हो , त्यसमा कहिल्यै कसैंसंग सम्झौता हुन सक्दैन । त्यहाँ चुकियो भने हामी युगयुगसम्म पनि पछि पर्नसक्नेछ छौं । त्यसैले आगामी दिनहरूमा रणनीति दृढता र कार्यनीतिमा लचकताको सिद्धान्तलाई हामीले कुशलतापूर्वक अगाडि बढाउनै पर्दछ ।

छैटौ कर्तव्य भनेको नेपाली जनताले आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक परिवर्तन र रूपान्तरण चाहेका छन् । नयाँ प्रकारको शैली, पद्धति र प्रक्रिया चाहेका छन् । त्यसलाई पूरा गर्नका लागि आम जनतालाई साथमा लिएर आमूल परिवर्तनको व्यावहारिक प्रक्रियामा लाग्नु हो । चुनौतीहरू जतिसुकै जटिल भए पनि नयाँ विजयको निम्ति अगाडि बढौं । यही नै यतिबेलाको आवश्यकता हो ।

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd