जनदिशा दैनिक

जनादेश साप्ताहिक

The Red Star

सश्लेषण मासिक

 

गणतन्त्रको उदय

  • आजैदेखि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको कार्यान्वयन n सार्वभौमसत्ता नेपाली जनतामा निहित
  • राजालाई १५ दिनभित्र दरबार खाली गर्न निर्देशन
  • हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस, सार्वजनिक बिदा
  • राजा र राजपरिवारलाई सामान्य जनताभन्दा धेरै सुविधा नदिइने n नारायणहिटीलाई संग्रहालय बनाई राष्ट्रहितमा प्रयोग गरिने

प्रशान्त देवकोटा/सन्तोष पौडेल

काठमाडौं, १५ जेठ

नेपाल बुधबारदेखि संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ । संविधानसभाको बुधबार बसेको पहिलो बैठकले अन्तरिम संविधान २०६३ को चौथो संशोधन गरी गणतन्त्र कार्यान्वयनको प्रस्ताव पारित गरेकाले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र बनेको हो ।

गणतन्त्र कार्यान्वयनसँगै नेपालमा २४० वर्षदेखि एकछत्र शासन गर्दै आएको राजतन्त्रकोे विधिवत् अन्त्य भएको छ भने इतिहासमा पहिलोपटक नेपाली जनता सार्वभौमसत्ता सम्पन्न भएका छन् ।

संविधानसभा बैठकमा सहभागी ५६४ सभासद्मध्ये ५६० जनाले गणतन्त्रको पक्षमा मतदान गरेका थिए भने चारजनाले प्रस्तावको विपक्षमा मतदान गरेका थिए । गणतन्त्र कार्यान्वयनको विपक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सभासद्ले मतदान गरेका थिए ।

बुधबार बेलुका नौ बजेर १७ मिनेटमा सुरु भएको बैठकले राति ११ बजेर २० मिनेटमा गणतन्त्र पारित गर्दै गणतन्त्र नेपालको घोषणा गरेको थियो । पहिलो बैठक बुधबार बिहान ११ बजेका लागि तय गरिएको भए पनि प्रायः सभासद् आइसकेपछि दुई घण्टा ढिलो गरी बैठक तीन बजे अपराह्न सरेको जानकारी दिइएको थियो । तर तोकिएको सो समयभन्दा तीन घण्टा ढिलो गरी छ बजे मात्रै बैठक सुरु गरिने जानकारी पाँच बजे दिइएको थियो ।

संविधानसभाको पहिलो बैठकले भूतपूर्व राजा ज्ञानेन्द्रलाई १५ दिनभित्र नारायणहिटी दरबार छोड्न निर्देशन दिनुका साथै नारायणहिटी दरबारको सुरक्षाको सम्पूर्ण व्यवस्था मिलाउन नेपाल सरकारलाई निर्देशनसमेत दिएको छ ।

पहिलो बैठकबाट राजतन्त्रको विधिवत् अन्त्य भई गणतन्त्रको कार्यान्वयन भएपछि नेकपा -माओवादी)ले गणतन्त्र स्थापनाका लागि २०५२ सालमा सुरु गरेको जनयुद्धमा र १९ दिने जनआन्दोलनमा जनताले व्यक्त गरेका भावनाको कदर भएको छ ।

बुधबारको बैठकमा प्रधानमन्त्रीको तर्फबाट गृहमन्त्री कृष्णप्रसाद सिटौलाले राख्नुभएको नेपालको अन्तरिम संविधान २०६३ को धारा १५९ को उपधारा २ बमोजिम गणतन्त्र कार्यान्वयन गरियोस् भन्ने प्रस्तावलाई ५६० मतले पारित गरेको थियो ।

गणतन्त्र कार्यान्वयनसँगै देश राष्ट्रपतीय प्रणालीमा प्रवेश गरेको छ । सरकारले राष्ट्रपतिका अधिकारहरू के-के रहने भन्नेबारेमा भने अर्को बैठकमा प्रस्ताव लैजाने बताएको छ ।

गणतन्त्र कार्यान्वयनपछि ज्ञानेन्द्र र उनका नातेदारहरूले नेपाली जनताले प्रचलित कानुनबमोजिम प्राप्त गरेका अधिकारहरूबाहेक अन्य कुनै पनि विशेष अधिकारहरू नपाउने भएका छन् । बैठकले ज्ञानेन्द्रले अहिलेसम्म उपभोग गर्दै आएको नारायणहिटी दरबारलाई राष्ट्रिय संग्रहालयमा परिणत गर्ने वा अन्य राष्ट्रहितका काममा प्रयोग हुने भएको छ ।

सरकारले अन्तरिम संविधानमा संशोधन गरी गणतन्त्र कार्यान्वयनको प्रस्ताव संविधानसभाको बैठकमा लैजानुअघि मन्त्रिपरिषद्ले गणतन्त्र कार्यान्वयनको प्रस्ताव पारित गरेको थियो ।

गणतन्त्र कार्यान्वयनका लागि बुधबार सुरु भएको संविधानसभाको पहिलो बैठकमा बोल्दै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपाली जनताको छ दशक लामो प्रतीक्षा पूरा भएको बताउनुभयो । उहाँले नेपालका राजनीतिक दलहरूको सहमतिका कारणले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना गर्न सफल भएको बताउँदै नयाँ संविधान निर्माण गरी मुलुकलाई राजनीतिक स्थिरता प्रदान नगरुन्जेल राजनीतिक दलहरू सहमति गरेर जानुपर्नेमा जोड दिनुभयो ।

राजनीतिक सहमतिका लागि बुधबार संविधानसभाको बैठक बस्नुपूर्व प्रधानमन्त्री निवास बालुवाटारमा सात दलका शर्षि नेताहरूको बैठक बसेको थियो । बिहान आठ बजेदेखि सुरु भएको शर्षि बैठकले अपराह्न सात बजे राष्ट्रपतीय प्रणालीमा जाने सहमति गरेपछि संविधानसभाको बैठकका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा दलका नेताहरू गएका थिए । बिहान ११ बजे बस्ने भनिएको संविधानसभाको पहिलो बैठक बेलैमा दलहरूबीच राजनीतिक सहमति हुन नसक्नाले १० घण्टा ढिलो गरी बेलुका नौ बजेर १७ मिनेटमा सुरु भएको थियो ।

बालुवाटारमा भएको राजनीतिक दलका शर्षि नेताहरूबीच लामो छलफलपछि संविधानसभाको पहिलो बैठकले गणतन्त्र कार्यान्वयनको घोषणा गर्ने, राष्ट्रपतीय प्रणाली अपनाउने, उपराष्ट्रपति तथा प्रधानमन्त्रीको व्यवस्था गर्ने, राष्ट्रपति र प्रधानमन्त्रीको चयन संविधानसभासद्ले गर्नेलगायतका पाँचबुँदे सहमति कायम गरेको थियो । बैठकमा लामो समयसम्म छलफल गर्दा राष्ट्रपति को बन्ने, राष्ट्रपति र प्रधानमन्त्रीको अधिकार तथा कार्यक्षेत्रको विषयमा सहमति हुन नसकेपछि पुनः अर्को बैठक बसी निर्णयमा पुग्ने सहमति गरेको थियो ।

माओवादीले देश निर्माणका लागि राष्ट्रपति शक्तिशाली र दैनिक कार्य सञ्चालनका लागि प्रधानमन्त्रीको नियुक्ति हुनुपर्ने प्रस्ताव गरेको थियो भने कांग्रेस, एमाले र मधेसी जनअधिकार फोरमले संवैधानिक राष्ट्रपति हुनुपर्ने र कार्यकारी प्रमुख प्रधानमन्त्री हुनुपर्ने प्रस्ताव गरेका थिए । संविधानसभाको अर्को बैठक जेठ २३ गते ११ बजे बस्नेछ ।

खड्कालाई कमलाको चप्पल

नेपाली कांग्रेसका नेता तथा भुतपुर्व गृहमन्त्री पूर्णबहादुर खड्कालाई एमालेका तर्फबाट सुर्खेतबाट निर्वाचित सभासद् कमला शर्माले चप्पलले हानेकी छन् ।

संविधान सभाको निर्वाचन प्रक्रियामा आफ्ना श्रीमान ऋषिराम अधिकारीलाई हत्या गरेको भन्दै सभासद् शर्माले चप्पलले हानेकी हुन् ।

उनका अनुसार खड्काले नै उनका श्रीमान्को हत्या गरेको आरोप शर्माले लगाउदै आएकी छन् ।

संविधानसभाको पहिलो बैठकबाट गणतन्त्रको प्रस्तावमा मतदान गरिए लगत्तै सभासद् शर्मा खडकामाथि आइलागेकी हुन् । उनले हत्यार पूर्णबहादुर खड्कामाथि कडा भन्दा कडा कार्वाही गर्नुपर्ने र हत्यारा खड्कालाई तुरुन्त सभाहलबाट निकाल्नुपर्ने भन्दै चप्पलले हानेकी हुन् ।

शाहवंशीय राजतन्त्र : उदयदेखि अन्त्यसम्म

  • विक्रम सम्वत् १८२५ मा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गरेपछि केन्द्रीकृत राजतन्त्रको सुरुआत
  • २०१५ सालमा निर्वाचित सरकारलाई राजा महेन्द्रले २०१७ मा अपदस्थ गरी एकदलीय निरंकुश पञ्चायती व्यवस्था प्रादुर्भाव
  • २०४६ को जनआन्दोलनबाट प्राप्त सीमित राजनीतिक अधिकारलाई राजाबाट पुनः २०५८ सालमा आंशिक रूपमा हत्याउन सफल
  • २०६१ माघ १९ गते राजाबाट पूर्ण रूपमा शक्ति हत्याई आफूलाई कार्यकारी प्रमुखको घोषणा गरी निरंकुशतन्त्रको पुनः सुरुआत
  • २०६२ मंसिर ७ गते सात दल र माओवादीबीच निरंकुश राजतन्त्रविरुद्ध संघर्ष गर्न १२ बुँदे सहमति
  • माओवादी जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा पुनस्र्थापित तत्कालीन प्रतिनिधिसभाले २०६३ साल जेठ ४ गते राजाका केही अधिकार कटौती
  • २०६३ माघ १ गते जारी अन्तरिम संविधान २०६३ ले राजालाई निलम्वन
  • २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले राजतन्त्रको पूर्ण रूपले अन्त्य भएको घोषणा

गणतन्त्रसम्बन्धी पारित प्रस्ताव

१. सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रही स्वतन्त्र, अभिभाज्य सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष समावेशी नेपाल, आजैका मितिदेखि एक संघीय लोकतान्त्रिक गणतन्त्रमा विधिवत् परिणत भएको संविधानसभाको यो पहिलो बैठक घोषणा गर्दछ ।

२. मुलुकमा विधिवत् लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन भएकाले यससँग बाझिने सबै संवैधानिक प्रावधान, कानुन र प्रशासनिक व्यवस्था आजैका मितिदेखि बाझिएको हदसम्म खारेज भएको मानिनेछ ।

यो घोषणा पारित हुनुभन्दा तत्काल अघि प्रचलित कानुन परम्परा रीतिरिवाज, सामाजिक तथा सांस्कृतिक व्यवहार एवं अभ्यासमा रहेका तत्कालीन राजा र निजका परिवारका सदस्यलाई आमनेपाली नागरिकलाई भन्दा भिन्न रूपमा प्राप्त सम्पूर्ण अधिकार सुविधा हैसियत तथा उपाधि स्वतः अन्त्य हुनेछ ।

३ नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा विधिवत् घोषित भएको अवस्थामा राष्ट्रपतिको व्यवस्थालगायतका अति आवश्यक प्रावधानलाई संवैधानिक रूपमा संस्थागत गर्न नेपालको अन्तरिम संविधान २०६३ मा आवश्यक संशोधन विधेयक पेस गरिएको छ । राष्ट्रपतिको निर्वाचन प्रणालीलगायत अन्य आवश्यक विषयमा संविधान संशोधनसम्बन्धी अर्काे विधेयक पेस गरिनेछ ।

४. नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा विधिवत् प्रवेश गरी नयाँ युग प्रारम्भ भएको ऐतिहासिक अवसरमा यो बैठक सम्पूर्ण ज्ञात अज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।

यस अवसरमा सम्पूर्ण नेपाली जनतालाई हार्दिक बधाई ज्ञापन गर्दै आज र अब उप्रान्त प्रत्येक सालको जेठ १५ गते गणतन्त्र दिवसलाई हर्षोल्लासपूर्ण वातावरणमा व्यापक रूपमा विविध कार्यक्रमका साथ मनाउने देशभित्र र बाहिर रहनुहुने सम्पूर्ण नेपालीमा यो बैठक हार्दिक आहृवान गर्दछ ।

५ नेपालमा लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन भइसकेको सन्दर्भमा नारायणहिटी दरबार परिसरस्थित रहेको सम्पूर्ण सम्पदालाई ऐतिहासिक संग्रहालयलगायत राष्ट्रिय हितमा प्रयोग गर्न नेपाल सरकारले आवश्यक व्यवस्था मिलाउनेछ ।

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd