Tuesday, May 26, 2009
   
अक्षर साइज़
header

वार्ता मालिकसँग

smaller text tool iconmedium text tool iconlarger text tool icon
लेखनाथ न्यौपाने/काठमाडौं, ७ पुस : एकीकृत नेकपा (माओवादी)ले अब वार्ता कठपुतली सरकार र सत्ताधारी दलहरूसँग नभएर सिधैं दिल्लीसँग सुरु गर्ने उद्घोष गरेको छ । दिल्लीसँग वार्ताका लागि उसले पाँचबुँदे एजेन्डासमेत सार्वजनिक गरेको छ ।

मालिकसँगै वार्ता गर्ने रणनीति लिएको माओवादीले वर्तमान कठपुतली  सरकारको वास्तविक मालिक भारत नै भएकाले अब सिधै दिल्लीसँग वार्ता सुरु गर्ने उद्घोष गरेको हो । नागरिक सर्वोच्चताको तेस्रो चरणको अन्तिम दिन तीनदिने आमहडतालको समापनमा मङ्गलबार नयाँ बानेश्वरमा आयोजित विशाल विरोधसभालाई सम्बोधन गर्नुहुँदै माओवादी अध्यक्ष प्रचण्डले वार्ता दिल्लीसँग गर्ने उद्घोष गर्नुभएको हो ।

नागरिक सर्वोच्चताको मुद्दा राष्ट्रिय स्वाधीनताको मुद्दासँग जोडिएर दिल्लीमा खुलेआम हुन गएकोले वार्ता दिल्लीसँग गर्नुपर्ने भएकाले अध्यक्ष प्रचण्डले बताउनुभयो । काङ्ग्रेसका नेता, एमालेका नेता र प्रधानमन्त्रीसँग घण्टौं वार्ता गर्दा उनीहरूले अन्तिममा दिल्लीले के भन्छ भन्ने प्रश्न खडा गरेर निकास ननिकाल्ने हुनाले पनि वार्ता दिल्लीसँग गर्नुपर्ने भएको उहाँले खुलासा गर्नुभयो । 

\'हामी जनयुद्धमा छादा प्रतिगमन आधा सच्यो भनेर सरकारमा जाने एमाले र काङ्ग्रेसका नेताहरूले वार्तामा बोलाउँदा हामीले भन्ने गरेका थियौं, वार्ता तिमीहरूसँग होइन, तिम्रा मालिकसँग हुन्छ\', लाखौं नागरिक सहभागी विरोधसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, \'अहिले यो तेस्रो चरणको आन्दोलसम्म आइपुग्दा यो सरकारले सुनेको छैन । अब भन्नेबेला आएको छ, वार्ता मालिकसँग हुन्छ तिमीहरूसँग हुन्न ।\' 

उहाँले नेपालीहरू अझै स्वतन्त्र र सार्वभौम देशका नागरिक नभइसकेको उल्लेख गर्नुहुँदै राष्ट्रियता र स्वाधीनताको लडाइा जित्न भारतसँग वार्ता गर्न तयार भएको बताउनुहुँदै वार्ताका लागि पाँचबुँदे एजेन्डा विरोधसभामै सार्वजनिक गर्नुभयो ।

सन् १९५० को नेपाल भारतबीचको असामान सन्धिको खारेज गरेर नयाँ सन्धि बन्नुपर्ने र अहिलेसम्मका सबै गोप्य सन्धिको सार्वजनिक गर्नुपर्ने पहिलो नं.को ऐजन्डा छ । सीमा समस्याले नेपालीलाई धेरै पिरोली रहेको बताउनुहुँदै उहाँले सुस्तालगायत सीमा समस्याको अबिलम्व हल हुनुपर्ने र कालापानीबाट भारतीय सेना हट्नुपर्ने अर्को एजेन्डा राख्नुभयो । 

नेपालको व्यापार घाटालाई रोक्न अन्तर्राष्ट्रिय मान्यताअनुसार नेपालले पारवहन पाउनका लागि भारतले उदारताकासाथ आफ्नो पारवहन नीतिमा परिवर्तन गर्नुपर्ने, नेपालको विकास लागि भारत, चीन र नेपालको बीचमा उच्चस्तरीय रणनीतिक योजना बनाउनुपर्ने र त्यसमा भारतले सहयोग गर्नुपर्ने र नेपाल-भारत सम्बन्धका लागि विगतको सम्पूर्ण इतिहासको समीक्षा गेरर नयाँ एकताको आधारशीला कायम गर्नुपर्ने गरी प्रचण्डले पाँचवटा एजेन्डा राख्नुभयो । 

वर्तमान कठपुतली सरकारमा मालिक भारत भएकोमा उहाँले पटकपटक दोहोर्‍याउनुभयो । नेपालका प्रधानसेनापति छत्रमानसिंह गुरुङलाई भारतको मानार्थ प्रधानसेनापति दर्जा दिनेक्रममा भारतीय स्थल सेनाध्यक्ष दीपक कपुरले दिएका अभिव्यक्तिको कडा आलोचना गर्नुहुँदै अध्यक्ष प्रचण्डले नागरिक सर्वोच्चता दिल्ली पुगेको बताउनुभयो । 

\'मलाई बडो अनौठो लाग्यो, विषय धेरै गम्भीर छ । भारतको सेनापतिले नेपालको शान्तिसम्झौताविरुद्ध बोल्ने अधिकार कहाँबाट पायो । के नेपालको गभर्नर हो ?\' उहाँले प्रश्न गर्दै भन्नुभयो, \'यो भन्दा नेपाली जनताको लज्जा, अपमानको कुरा के हुन्छ ?\' अध्यक्ष प्रचण्डले कपुरको कुरा नेपालमाथिको नाङ्गो हस्तक्षेप भएको बताउनुभयो । 

केही दिन अगाडि कपुरले खुला कार्यक्रममै नेपालमा सेना समायोजन नगरेर माओवादी लडाकु नेपाली नागरिक भएकाले भर्ना प्रक्रियामार्फत सेनामा सहभागी गराउनुपर्ने अभिव्यक्ति दिएका थिए । 

सेना समायोजन कसरी गर्ने भन्ने मोडेल शान्तिसम्झौतामार्फत तयार भइसकेको बेलामा भारतको सेनाध्यक्षलाई जनमुक्ति सेनालाई नेपाली सेनामा समायोजन गर्न पाइादैन भन्ने कसले दियो भनेर प्रश्न गर्नुभयो । \'खबरदार û भ्रष्ट पार्टी र मन्त्रीहरूलाई के भन्ने हो ?\', भारतले हस्तक्षेप गर्दा पनि नबोल्ने पार्टी र मन्त्रीहरूविरुद्ध प्रचण्को आक्रोश थियो । 

अब वार्ता सिधैं भारतसँग गर्नुपर्ने भएकाले राष्ट्रिय स्वाधीनताको लडाइा नजितेसम्म नागरिक सर्वोच्चता कायम नहुने उहाँको भनाइ छ । प्रचण्डले भन्नुभयो, \'भारतसँग वार्ता गर्नुपर्ने भएपछि राष्ट्रिय स्वाधीनताका लडाइा नजितेसम्म नागरिक सर्वोच्चता कायम नहुने भयो ।\' 

अध्यक्ष प्रचण्डले भारतसँग वार्ता गर्नुपर्ने विषय आफूले भारतसँगको रिसिबीको आक्रोशमा नभइ सच्याइमा भनेकोलाई दोहोर्‍याउनुभएको थियो । \'काङ्ग्रेससँग कुरा गर्‍यो केही आउने होइन, एमालेसँग कुरा गर्‍यो केही आउने होइन, प्रधानमन्त्रीसँग कुरा घण्टौं कुरा गर्‍यो केही आउने होइन, अब कुरा गर्न दिल्ली जाने स्थिति आएको छ,\' उहाँले भन्नुभयो, \'मैले जिम्मेवार पार्टीको अध्यक्षको हैसियतले, संविधानसभाको विपक्ष दलको नेताको हैसियतले भनेको छु । यो मेरो भारतविरुद्धको रिसिइबी होइन, सच्चाइ हो ।\' 

अध्यक्ष प्रचण्डले आफ्नो सम्बोधनमार्फत भारतसँग वार्ता सुरु गरेको घोषणासमेत गर्नुभयो । \'मैले आज यो मञ्चबाट भारतसँग वार्ता गरेा\', उहाँले भन्नुभयो, \'यहाँ वार्ता गर्दा नहुने भएपछि उही वार्ता गर्नुपर्‍यो ।\' उहाँले माओवादी दिल्लीमा गएर खुला वार्ता गर्न तयार भएको पनि बताउनुभयो । 

अध्यक्ष प्रचण्डले यदि भारतले नेपालमा विगतमा जस्तै कठपुतली सरकार खडा गरेर आफूले जे भन्यो त्यो मान्ने सोच्यो भने त्यो उसका लागि ठूलो भुल हुने चेतवानी दिनुभयो । \'नेपाली जनता जागिसकेका छन् झुक्ने छैनन्,\' उहाँले भन्नुभयो, \'यो कुरा भारतले बुझ्नुपर्छ ।\' 

अध्यक्ष प्रचण्डले वर्तमान सरकारलाई रिमोट कन्ट्रोलबाट चलेको रोबोट भएकोले बतउनुहुँदै भारतसँग वार्ता गर्न तयार भएको तर नेपाललाई रोबटबाट चलाउने, कठपुतली बनाउन नदिने उद्घोष गर्नुभयो । \'भारतसँग वार्ता गर्न तयार भएको तर नेपाललाई रोबटबाट चलाउने, कठपुतली बनाउने चाहन्छ भने त्यो युग समाप्त भइसक्यो । हामी जुनसुकै हदसम्म जान तयार छौं तर झुक्दैनौं\', उहाँको भनाइ थियो । 

अध्यक्ष प्रचण्डले नेपाली जनतासँग लड्न शान्तिसम्झौता विपरीत वर्तमान सरकारले भारतबाट अर्बौं रुपियाँको हतियार खरिद गर्न लागेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । \'ति हतियार छिमेकी चीनसँग लड्न ल्याउन लागेको त होइन ? झन् भारतसँग त हतियार दिनेसँग लड्ने कुरै भएन,\' उहाँले भन्नुभयो, \'हतियार नेपाली जनतामाथि दमन गर्न ल्याउन लागेको हो भने जनताविरुद्ध लड्ने अधिकार तिनलाई केछ ? यो नौटङ्की र षड्यन्त्र किन हुँदैछ ?\'

उहाँले सरकारको नौटङ्कीको संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायलाई अनुगमन गर्न अनुरोध गर्नुभयो ।

अध्यक्ष प्रचण्डले जेठ १४ गते संविधान विघटन हुने र राष्ट्रपति शासन आउने हल्ला फैलाएर हावामा तीर चलाएको बताउनुभयो । \'को हो राष्ट्रपति, कसले बनायो राष्ट्रपति ?\', उहाँले भन्नुभयो, \'जुन संविधानसभाबाट राष्ट्रपति बने, त्यो संविधानसभा नै नरहे राष्ट्र्रपति पनि रहादैन ।\' उहाँले संविधानसभाबाट संविधान बनाउन नदिए आफ्नो संविधान आफैं बनाउने जनताको अधिकारलाई कसैले रोक्न नसक्ने चेतावनी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले अब राष्ट्रियताका लागि लेन्डुपपथविरुद्ध लड्न तयार हुनुपर्ने बताउनुभयो ।

उहाँले सन् १९५० देखिका असमान सन्धि खारेजी नभएसम्म नेपाल स्वतन्त्र हुन नसक्ने पनि बताउनुभयो ।

\'हामी देशभित्रका दलालहरूसँग मात्र होइन\' उहाँले भन्नुभयो, \'अब विदेशी प्रभुहरूसँग पनि लड्नुपर्ने अवस्था आउँदैछ, त्यसयुद्धमा लामबद्ध हुन जनतालाई अनुरोध छ ।\'

प्रतिक्रियाहरू (0)

प्रतिक्रियाहरुको RSS फीड

प्रतिक्रियाहरु देखाउनुस्/लुकाउनुस्

प्रतिक्रिया लेख्नुस्

संकुचित | विस्तृत

busy