
लेखनाथ न्यौपाने, काठमाडौं, ७ पुष । एकीकृत नेकपा माओवादीले बर्तमान सरकार भारतको कठपतली भएकोले अब सिधै भारतसंग बार्ता शुरु गर्ने भएको छ । तीन दिने आम हडताल समापन समारोहलाई मंगलवार राजधानीको नयाँ बानेश्वरमा सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले गतिरोध अन्त्यको लागि अब थप बार्ता सत्तारुढ दलहरुको मालिक भारतसंग गर्ने बताउनुभयो । बर्तमान सरकारमा सहभागी दलहरु रिमोट कन्टौलबाट चलेका छन- उहाँले भन्नुभयो- त्यसैले हाम्रो बार्ता अव दिल्लीसंग हुन्छ, यो आजैबाट सुरु भएको छ ।
उहाँले एमाले कांग्रस तथा प्रधानमन्त्रीसंग कुरा गर्दा अन्तिममा दिल्लीमा गएर रोकिने गरेको खुलासा गर्नुभयो । उहाँले केही दिन अघि मात्र भारतीय स्थल सेनाध्यक्ष दिपक कपुरको अभिब्यक्तिलाई इंकित गर्दै नागरिक सर्वोच्चता अहिले दिल्ली पुगेको चर्चा गर्नुभयो ।
भारतीय सेनाध्यक्षले नेपाली जनतालाई आदेश दिने को हो त्यो, गर्भनर हो !उहाँले आक्रोसित हुँदै भन्नुभयो- यो भन्दा लज्जा के हुन सक्छ । खवरदार ! नाङ्गै हस्तक्षेप हुँदा पनि नबोल्ने भ्रष्ट नेता तथा मन्त्रीहरु । अध्यक्ष प्रचण्डले बर्तमान सरकारलाई रिमोट कन्ट्रोलबाट चलेको रोबोट भएकोले उसलाई राष्ट्र र जनताप्रति कुनै दया माया नभएको बताउनुभयो ।
उहाँले नेपालीहरु अझै स्वतन्त्र र सार्वभौम देशका नागरिक भईनसकेको उल्लेख गर्दै राष्ट्रियता र स्वाधिनताको लडाई जित्न भारतसंग बार्ता गर्न तयार भएको र एजेण्डा पनि तय गरिसकेको बताउनुभयो । उहाले भारतसंग गर्ने बार्ताका पाँच एजेण्डा पनि सुनाउनुभयो ।
अध्यक्ष प्रचण्डले सन १९५० को असमान सन्धि खारेजी र नयाँ सन्धि निर्माण, गोप्य रुपमा भएका सन्धिहरुको खुलासा, असमान पारवहन सन्धि खारेज गरी अन्तराष्ट्रिय पारवहन सुविधा, भारत चीन र नेपालको आर्थिक उन्नतीको सन्र्दभमा नयाँ रणनीतिको खाका र सुस्ता लगायतका सिमा समस्या समाधान र बालापानिबाट भारतीय सेना हटनुपर्ने एजेण्डा सुनाउनुभयो । यसो नगरिए नेपालमा बिगतमा जस्तै कठपुतली सरकार बनाउने षडयनत्र हुनसक्छ- उहाँले भन्नुभयो- त्यसैले अब मैले यो मञ्चबाट बार्ता सुरु गरे । उहाँले अब नेपाली जनता कसैसंग नझुक्ने पनि बताउनुभयो ।

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook 