|
एक
महिनाभित्रै राजतन्त्रको अन्त्य :
महरा
डिल्ली मल्ल,
दाङ, २५ वैशाख
। नेकपा
(माओवादी)का प्रवक्ता एवम्
सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले अबको महिना
दिनभित्रै सामन्तवाद र राजतन्त्रको अन्त्य एवम्
गणतन्त्रको औपचारिक घोषणा गरिने बताउनुभएको छ ।
दाङ क्षेत्र नं. ३ बाट संविधानसभा
सदस्यमा निर्वाचित भइसकेपछि मतदातासंग भेटघाटको क्रममा
आइतबार दाङ आइपुग्नुभएका महराले बुधबार स्थानीय
जनतासमक्ष सो कुरा बताउनुभएको थियो ।
संविधानसभाको पहिलो बैठकबाट
सामन्तवाद र राजतन्त्रको सधैंका लागि अन्त्य र
गणतन्त्रको औपचारिक घोषणा, नयाँ संविधानको निर्माणका
साथै नयाँ सरकारको गठन गरिने उहाँले बताउनुभयो ।
संविधानसभा निर्वाचनबाट प्राप्त
जनादेश माओवादीको नेतृत्वमा नयाँ सरकार भएको चर्चा
गर्दै महराले भन्नुभयो, 'दलीय सहकार्यसहित माओवादीको
नेतृत्वमा नयाँ सरकार नै अहिलेको जनादेश हो र राजनीतिक
समीकरणको म्यान्डेट पनि ।’
सरकार गठनको विषयमा कांग्रेस,
एमालेलगायतका दलहरूले षड्यन्त्र गरिरहेको उल्लेख गर्दै
मन्त्री महराले दलहरूलाई सरकार गठनको विषयमा तीनवटा
विकल्प दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, 'देशकै ठूलो
पार्टीको हैसियतले माओवादीको नेतृत्वमा सरकार
बनाउनुपर्छ भनेका छौं । त्यो स्वीकार्य छैन भने हामी
एक्लै सरकार बनाउँछौं । तपाइँहरू बाहिर बस्नुस् । त्यो
पनि स्वीकार्य छैन भने हामी बाहिर बस्छौं, तपाइँहरू नै
सरकार चलाउनुस् भनेर हामीले स्पष्ट रूपमा तीनवटा
विकल्प दिएका छौं ।’
उत्पीडित जाति, वर्ग, क्षेत्र,
लिंग र पछि पारिएका समुदायलाई लक्षित गरी नयाँ संविधान
बनाइने चर्चा गर्दै महराले नयाँ संविधान लेख्ने मुख्य
जिम्मेवारी इतिहासले माओवादीलाई सुम्पिएको विचार
व्यक्त गर्नुभयो ।
नयाँ नेपाल निर्माण गर्ने सवाल
युग परिवर्तनसंग जोडिएको भन्दै उहाँले युग बदल्न
गम्भीर परिवर्तनको आवश्यकता भएको बताउनुभयो ।
नयाँ नेपालका निम्ति व्यक्ति नभई
राज्य संयन्त्र र सोचविचारमै परिवर्तन हुनुपर्ने उहाँको
जोड थियो । विकास निर्माणको सन्दर्भमा माथि ताक्ने
पञ्चायती परनिर्भरमुखी सोच र चिन्तनमा परिवर्तन
गर्नुपर्ने चर्चा गर्दै उहाँले आफूसंगै उपलब्ध स्रोत
साधन, श्रम र सीपको प्रयोग गरी अगाडि बढ्नुपर्ने
बताउनुभयो ।
मतदातासंग भेटघाटको क्रममा महरा
मतदाताका सल्लाह, सुझाव र समस्याहरू बुझ्न सौडियार,
धर्ना, ढिकपुर, नारायणपुर र हापुर गाविसका दुर्गम
गाउँगाउँमा पुग्नुभएको थियो ।
उक्त अवसरमा स्थानीयवासीले
तत्काल राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गर्नुका
साथै जनताको संविधान लेख्न सुझाव दिएका थिए । त्यस्तै
शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानी, सडकलगायत
विकासका पूर्वाधारहरू निर्माणमा सामन्ती व्यवस्थाले
गाउँलाई पछाडि पारेको बताउँदै अबको सरकारले गाउँको
विकासतिर सोच्न मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
आकासिादै गएको महागी, बेरोजगारीजस्ता समस्या तत्काल हल
गर्न सरकारले ठोस कदम चाल्नुपर्ने पनि बताएका थिए ।
विकासको अत्यधिक सम्भावना रहेको
दाङलाई देशकै नमुना जिल्ला बनाउन सकिने बताउँदै
उनीहरूले त्यसका लागि ठोस योजना र कार्यक्रमको माग पनि
गरेका थिए ।
आइतबार साँझ दाङ आइपुग्नुभएका
मन्त्री महरा सोमबार सौडियारको लखबार र सौडियार,
मंगलबार धर्ना गाविसको कप्तानचोक, भैसाप्रथा र ढिकपुरको
कर्मटिया र ढिकपुरमा जनतासंगको भेटमा सहभागी हुनुभएको
थियो भने बुधबार नारायणपुरको लमडरुवा र नारायणपुरका
साथै हापुरको रतनपुर र बिजौरीमा आयोजित सभामा पनि
सम्बोधन गर्नुभएको थियो ।
तीनदिने कार्यक्रमपछि विशेष काम
परेकाले उहाँ बिहीबार राजधानी फकिंदै हुनुहुन्छ ।
|