जनदिशा दैनिक

जनादेश साप्ताहिक

The Red Star

सश्लेषण मासिक

 

भारतीय दूतावासमा गोप्य मन्त्रणा, कोइरालालाई टिकाउन चालीस करोड

कुसुम भट्टराई

काठमाडौं, २६ साउन : बहुमतीय प्रणालीका आधारमा संविधानसभाबाट प्रधानमन्त्री चयनको प्रक्रिया प्रारम्भ भएपछि स्वदेशी तथा विदेशी शक्तिहरू नेकपा-माओवादी)लाई कुनै पनि हालतमा सत्तामा पुग्न नदिने षड्यन्त्रमा लागेका छन् । संविधानसभामा माओवादीको पक्षमा बहुमत जुट्ने अवस्था देखिएपछि उनीहरूले सभासद्को मत खरीदलगायतका सम्पूर्ण हतकन्डा अपनाउने तयारी गरिरहेको तथ्य पत्ता लागेको छ । उच्च सूत्रका अनुसार गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्रीमा टिकाइराख्न शक्तिकेन्द्रहरूले सभासद्को मत खरिदका लागि ४० करोड रुपैयाँ छुटयाइएका छन् ।

नेपालको आन्तरिक मामिलामा प्रत्यक्ष हस्तक्षेप गरिरहेको छिमेकी मुलुक भारतले नेकपा-माओवादी)लाई कुनै हालतमा सत्तामा पुग्न नदिने रणनीतिबमोजिम काठमाडौंस्थित आफ्नो दूतावासलाई सक्रिय बनाउन थालेको छ भने माओवादीविरुद्ध नेपाली काङ्ग्रेस र नेकपा-एमाले)को केपी ओली गुटलगायतका दक्षिणपन्थीहरूले साँठगाठ गर्दैछन् ।

सोही षड्यन्त्रलाई मूर्त रूप प्रदान गर्नेबारे छलफल गर्न गएको शुक्रबार साउन २४ गते) साँझ भारतीय राजदूत राकेश सुदले दूतावासमै आयोजना गर्नुभएको रात्री भोजसहितको छलफलमा काम चलाउ प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सहभागी हुनुभएको सूत्रहरूले जनाएका छन् । सो गोप्य भेटघाटमा एमाले नेता केपी शर्मा ओली, जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा, काङ्ग्रेस नेता रामचन्द्र पौडेल र राजदूत सुदको सहभागिता थियो । भेटघाटमा सकेसम्म माओवादीको नेतृत्वमा सरकार गठन हुन नदिने र त्यसका लागि जुनसुकै हतकन्डा अपनाउने सहमति भएको बुझिएको छ ।

राष्ट्रिय सहमतिका नाममा रक्षा, गृह र अर्थमन्त्रालय अरूका भागमा पारेर माओवादीको नेतृत्वमा सरकार गठनको प्रयास सफल नभएको अवस्थामा संविधानसभाको मत कसरी प्रभावित पार्न सकिन्छ भन्नेबारे दूतावासमा छलफल केन्दि्रत भएको सूत्रको दाबी छ । भारतीय राजदूतसहितको सोही मन्त्रणामा गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्रीमा टिकाइरहन आवश्यक सभासद् संख्या पुर्‍याउन पच्चीस करोड भारु -४० करोड रुपैयाँ) खर्च गर्ने प्रपञ्च रचिएको दूतावास निकट सूत्रले जनदिशालाई बतायो । सो भेटमा कोइरालालाई प्रधानमन्त्री पदमा टिकाउने मात्र नभई, नयाँ सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेटमा समेत भारतको स्वार्थपूर्ति गर्ने समझदारी गरिएको सो सूत्र बताउँछ ।

पन्ध्रौं सार्क सम्मेलनबाट र्फकने क्रममा भारतको राजधानी नयाँ दिल्लीमा रोकिएका कामचलाउ प्रधानमन्त्री कोइरालाले भारतीय शासकहरूसँग आफूलाई पुनः प्रधानमन्त्री बनाउन याचना गर्नुभएको थियो । नयाँ दिल्लीबाट फर्केलगत्तै कोइरालाले भारतले आफूलाई नै प्रधानमन्त्रीका लागि 'गि्रन सिग्नल’ देखाएको बताउँदै प्रधानमन्त्री बन्ने चलखेल सुरु गर्नुभएको बुझिएको छ । कोइरालाले प्रधानमन्त्री बन्न मरिहत्ते गरेकै कारण राष्ट्रिय सहमतिको सरकार गठन गर्ने दलहरूबीचको प्रयास सफल हुन नसकेको हो । प्रधानमन्त्री पदमा टिकिरहनका लागि कोइरालाले नयाँ दिल्लीमा पुनः टनकपुर सन्धिमा जस्तै कुनै राष्ट्रघाती कदम चालेको हुनसक्ने आशंका गर्न थालिएको छ । 'दिल्लीमा पक्कै पनि नेपालको राष्ट्रियताविरोधी 'गिभ एण्ड टेक’ भएको छ ।’, उच्च सूत्र भन्छ ।

काङ्ग्रेस र एमालेको ओली गुटको रणनीति भनेको माओवादीलाई सरकारको नेतृत्व गर्न दिने तर, रक्षा, गृह र अर्थमन्त्रालय नदिने हो । सकेसम्म माओवादीलाई कमजोर बनाएर सरकारमा पठाउने वा नसके सरकारमै जान नदिने दाउपेचमध्ये अहिले दोस्रो दाउपेच सुरु भएको हो । 'माओवादीका पक्षमा संविधानसभामा बहुमत नजुटोस् भनेर भारतकै इशारामा पैसाको खोलो बगाउने तयारी भइरहेको छ ।’, सो सूत्र भन्छ । माओवादीको नेतृत्वमा गठन हुने सरकारबाट आफ्नो स्वार्थपूर्ति नहुने देखेपछि भारतले माओवादीलाई कुनै हालतमा सरकारमा पुग्न नदिने रणनीति बनाएको जानकार सूत्रहरू बताउँछन् ।

'भ्रष्टाचारकै लागि रक्षा/गृह खोजेका हुन्’

जनदिशा संवाददाता

काठमाडौं, २६ साउन : नेकपा (माओवादी)का वरिष्ठ नेता डा. बाबुराम भट्टराईले संविधानसभाको परिणाम घोषणा भएको चार महिना बितिसक्दा पनि सरकार बन्न नसक्नुको पछाडि भ्रष्टाचारलाई जोगाउन चाहने तत्त्वहरूको खेल भएको बताउनुभएको छ । '८४ वर्षीय वृद्धले समेत लामो समयसम्म सत्ता नछोड्नुको पछाडि भ्रष्टाचार लुकेको छ ।’, डा. भट्टराईले भन्नुभयो ।

नारायण मानन्धरद्वारा लिखित भ्रष्टाचारविरोधी पुस्तकको आइतबार विमोचन गर्दै डा. भट्टराईले रक्षा र गृहमन्त्रालयमा सबैभन्दा बढी भ्रष्टाचार हुने भएकाले काङ्ग्रेसलगायतका दलहरूले ती मन्त्रालयहरू छाड्न नसकेको बताउनुभयो । 'सबैभन्दा बढी भ्रष्टाचार सुरक्षा संयन्त्रमा हुने गरेको छ । प्रहरी संयन्त्रभित्रको भ्रष्टाचारले अपराधलाई पक्षपोषण गरेको छ ।’, उहाँले भन्नुभयो ।

उहाँले भन्नुभयो, -'एउटा प्रधानमन्त्रीको सामान्य आयलाई हेर्ने हो भने ऊ करोडपति बन्न चालीस-पचास वर्ष लाग्छ । तर नेपालमा एउटा मान्छे छ महिना एक वर्ष मन्त्री बन्न नपाउँदै अर्बपति बन्ने गरेको छ । त्यसैले अदृश्य रूपमा सम्पत्ति कमाउने मूल्य मान्यतालाई नत्यागेसम्म परिवर्तन आउँदैन ।’

कार्यक्रममा नागरिक समाजका अगुवा डा. देवेन्द्र पाण्डेले भ्रष्टाचार नियन्त्रण गर्न राज्यसत्ताले चासो नदिएको उल्लेख गर्दै भ्रष्टाचारीलाई सजाय नभएसम्म भ्रष्टाचार नरोकिने बताउनुभयो ।

लेखक मानन्धरले भ्रष्टाचारविरुद्ध काम गर्नेहरू निरुत्साहित भएको भन्दै भ्रष्टाचारविरुद्धको आन्दोलनमा लाग्न सबैले सहयोग पुर्‍याउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

'सात बुँदा बहाना मात्र

यसैबीच आइतबार राजधानीमा स्वर्गीय धर्मरत्न यमीको 'जीवन सरिता’ नामक कवितासङ्ग्रह विमोचनपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेता भट्टराईले भन्नुभयो- 'काङ्ग्रेसले तेस्र्याएका विभिन्न माग नयाँ सकार बनाउन नदिन थापेको अड्को मात्र हुन् । अब हामी त्यसको भण्डाफोर गछौर्ं ।’

काङ्ग्रेसले अगाडि सारिरहेका माग बहानाबाजीमात्र भएको नेता भट्टराईले टिप्पणी गर्नुभयो । 'सातबुँदे, पाँचबुँदे, रक्षामन्त्रालय यी सबै बहानाबाजी मात्रै हुन् ।’ उहाँले भन्नुभयो -'यो सबै हलो अड्काएर गोरू चुट्ने काम हो ।’ काङ्ग्रेसका मागहरु पूरा गर्नसम्भव नभएको भट्टराईको भनाइ थियो ।

वरिष्ठ नेता भट्टराईले रक्षा, गृह र अर्थ तीन मन्त्रालय प्रधानमन्त्रीभित्र पर्ने बताउँदै रक्षा काङ्ग्रेसलाई दिन नसकिने अडान दोहोर्‍याउनुभयो । यथास्थितिवादी सोच चिन्तनका कारण अहिलेसम्म नयाँ सरकार बन्न नसकेको उहाँको भनाइ थियो । उहाँले नयाँ सरकार निर्माणका लागि जनदबाब आवश्यक पर्ने पनि बताउनुभयो ।

स्वर्गीय यमीको कविता विमोचनमा भट्टराईले स्वर्गीय यमी राजनीतिक सहकार्यको पक्षमा विचार राख्ने व्यक्ति भएको र अब नेपालमा त्यो प्रयोग हुनुपर्ने बताउनुभएको थियो । माओवादी केन्द्रीय सदस्य तथा स्वर्गीय धर्मरत्न यमीका छोरी हिसिला यमीले धर्मरत्न एक विद्रोही नेता भएको र उहाँका कृतिहरू विद्रोही धारका भएको आफूले पाएको बताउनुभयो ।

वि.सं. १९७२ मा जन्मनु भएका धर्मरत्नको २०३२ मा देहावसान भएको थियो । औपचारिक शिक्षा हासिल नगरेका धर्मरत्नले प्रकाशित र प्रकाशोन्मुुख गरी चार दर्जनभन्दा बढी कृतिहरू रचना गर्नुभएको छ । बाल्यकालमा जुत्ता सिलाउनेसम्मको काम गर्नुभएका धर्मरत्न दुईपटकसम्म मन्त्रीसमेत हुनुभएको थियो । चौहत्तर वटा कविता समेटिएको 'जीवन सरिता’को डा.खुमनारायण पौडेल र डा. ईशान गौतमले सम्पादन गर्नुभएको छ । कृतिमा माओवादी वरिष्ठ नेता तथा स्वर्गीय यमीका ज्वाँई डा. बाबुराम भट्टराईले चार पृष्ठ लामो मन्तव्य लेख्नुभएको छ ।

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd

This page has viewed  
free hit counter
times since 7 Baishakh 2065