जनदिशा दैनिक

जनादेश साप्ताहिक

The Red Star

सश्लेषण मासिक

 

किन थुनिए एलडिओ ?

- सुरेशकुमार यादव

काठमाडौं, ४ असार : विभिन्न कर्मचारी संगठनहरूले जिल्ला विकास समितिका ललितपुरका स्थानीय विकास अधिकारी (एलडिओ)डण्डुराज घिमिरेले ठेकेदारहरूसँगको मिलेमतोमा अनियमित ढंगले ढुंगाखानी सञ्चालन गरेको खुलासा गरेका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा निज एलडिओले स्थानीय स्रोतमा जनताको पहुँच र अधिकारप्रति खेलवाड गरेको कुरा उल्लेख छ । उक्त विज्ञप्तिमा उनले बिनाइजाजत खानीबाट ढुंगा निकाली वातावरण तथा जनजीविकामा असर पर्नेगरी जनचाहनाविपरीत मनोमानी गरेको जनाइएको छ ।

एक स्रोतका अनुसार निज एलडिओले चापागाउँ तथा देवीचौर क्षेत्रको सामुदायिक वनबाट यसरी ढुंगाखानी सञ्चालन गरेपछि जनता त्यसबाट प्रत्यक्ष पीडित भएका थिए । त्यसैले उनीहरूले वन मन्त्रालयमा पटक पटक उजुरी समेत गरेका थिए । मन्त्रालयले सोही उजुरीको अध्ययन गरेर तत्कालै त्यसको छानबिन गरी निज एलडिओलाई उक्त कार्य रोक्न/रोकाउन आग्रह गरेको थियो । तर एलडिओले त्यसमा कुनै पहल नगरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार वन तथा भू-संरक्षणमन्त्री मातृकाप्रसाद यादव स्वयम्ले उक्त खानी निरीक्षण गरी ठेकेदार र सम्बन्धित निकायलाई सो काम रोक्न आग्रह गर्नुभएको थियो । तर यति हुँदा पनि ढुंगा उठाउने कार्य रोकिएन ।

वन विभागका एक अधिकृतका अनुसार त्यस्तो खानी चलाइएको झन्डै वर्ष हुनलाग्यो । मन्त्रालयले खानी बन्द गर्न आग्रह गरेको पनि त्यति नै समय भयो । तैपनि एलडिओले यो कुरा नमानेपछि मन्त्री यादवले यस्तो कदम चाल्नुभएको हो ।

स्थानीयबासीका अनुसार खानीले गर्दा यस क्षेत्रको वनजंगल विनाश हुनेक्रममा पुगेको छ । वरिपरिको वातावरण बिग्रदैं गएपछि जनताले मन्त्रालयमा आई हारगुहार मागे । अनि मन्त्री यादवले मंगलबार जिविस ललितपुरका एक कर्मचारीसहित स्थानीय विकास अधिकारीलाई आफ्नो मन्त्रालयमा बोलाउनुभयो ।

खानी सञ्चालन गर्न खानी विभाग र जिल्लाभित्र कुनै खानी सञ्चालन गर्दा जिविसबाट अनुमति लिनुपर्ने प्रावधान छ । तर एलडिओले उक्त प्रावधानअनुसार काम नभएको पनि मन्त्री यादवसमक्ष स्वीकार्नुभयो । यता कुनै वनमा पनि ढुंगा र बालुवा खानी सञ्चालन गर्नहुँदैन । गर्नपरेमा पनि वन विभागबाट अनुमति लिनुपर्छ ।

स्रोत थप्छ,'त्यसपछि मन्त्री यादवले तपाइले अहिलेसम्म यो कार्य किन रोक्नुभएन, जनता यतिको मर्कामा परेका छन्, वन दिनदिनै विनाश भइरहेको भन्नुभयो ।’

एलडिओले भने-'ठेकेदारहरूले मानिरहेका छैनन्, म के गर्नसक्छु ?’

मन्त्री यादवले फेरि भन्नुभयो-'त्यसो भए त्यहाँको अनियमितता रोक्नुस् ।’

एलडिओले भने-'त्यो पनि सकिदैन ।’

मन्त्री यादवले भन्नुभयो-'त्यसो भए खानी बन्द गराउन सकिना, त्यहाँ अनियमित तरिकाले काम भइरहेको छ भनेर लेखेर दिनुस् ।’

एलडिओले जवाफ दिए-'मन्त्रीजी तपाइजस्तो व्यक्तिले यस्तो कुरा त बुझ्नुहुन्न भने कसले बुझ्छ ।’

मन्त्री यादवले फेरि भन्नुभयो-'तपाइले मलाई के बुझाउन खोज्नुभएको त्यो प्रस्ट पार्नुस् ।’

एलडिओले फेरि त्यही कुरा दोहार्‍याए-'तपाइ यस्तो कुरै बुझ्नुहुन्न ।’

'मलाई अरू कुरा केही थाहा छैन, स्थानीयबासी साह्रै मर्कामा छन्, त्यसका लागि सो खानी तत्काल बन्द गर्नुपर्छ’- मन्त्री यादवले अन्तिम आग्रह गर्नुभयो ।

एलडिओले अझै थपे-'हैन, मैले अहिलेसम्म जनतालाई कुनै अप्ठ्यारो देखेको छैन । वातावरण पनि बिग्रेको छैन ।’

अन्त्यमा मन्त्री यादवले 'त्यसो भए वातावरण दूषित हुँदा कस्तो र कसरी अप्ठ्यारो हुन्छ ? भन्दै एलडिओलाई शौचालय लगेर बाहिरबाट एकछिन चुकुल लगाइदिनुभयो ।

मन्त्री यादवले फेरि चुकुल खोलेर सोध्नुभयो-'थाहा पाउनुभयो, वातावरण दुर्गन्धित हुँदा कस्तो हुन्छ ?’

त्यसपछि एलडिओ केही बोलेनन् ।

त्यहाँ खनिज विभागका इन्जिनियर, मन्त्रालयका सचिव, सहसचिवहरू तथा मन्त्रीलाई बाहिरबाट भेट्न आएको केही सर्वसाधारणको समेत उपस्थिति रहेको मन्त्रालयका एक कर्मचारीले बताए ।

स्रोतका अनुसार ढुंगाखानी सञ्चालन गर्न कसैबाट अनुमति नलिइए पनि जिल्ला विकास समितिमा चुंगीकरको नाममा रकम उठाइरहेको बताइन्छ । उक्त खानीमा स्वयं स्थानीय विकास अधिकारी पनि साझेदार रहेको स्रोतको दाबी छ ।

त्यसैगरी खानी सञ्चालन गरेको विरोधमा स्थानीयबासीले आवाज उठाएपछि ठेकेदारहरू अराजक समूह लगाएर कुटपिट गर्न लगाएकोसमेत स्थानीय बासिन्दा बताउँछन् ।

यसैबीच मन्त्रालयले एक प्रेस विज्ञप्ति प्रकाशित गरी वन संरक्षण गर्न मन्त्रालयले उठाएको कदमलाई केही अराजक समूह तथा यथास्थितिवादीले विरोध जनाउनेक्रममा सरकारी कार्यालयमा भएको तोडफोडको निन्दा गरेको छ । त्यस्तै केही कर्मचारी संघ/संस्थाहरूले पनि वनमन्त्रीको कार्यप्रति असन्तुष्टि जनाउन मन्त्रालय अगाडि गरिएको कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष रुक्म लामिछानेलाई बोल्न लगाएर पछि तिनीहरूले नै हुटिङ गर्दै लामिछानेमाथि आक्रमणको प्रयास गरेको संगठनका महासचिव ठाकुर देवकोटाले जनाउनुभएको छ ।

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd

This page has viewed  
free hit counter
times since 7 Baishakh 2065