जनदिशा दैनिक

जनादेश साप्ताहिक

The Red Star

सश्लेषण मासिक

 

सत्ता नछाड्ने गिरिजा हठ कायमै, माओवादीले आज सरकार छाड्ने सम्भावना

- कुसुम भट्टराई

काठमाडौं, ५ असार : प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बिहीबार पनि पदबाट राजीनामा नदिएका कारण हालसम्म कायम रहेको सत्तारुढ गठबन्धन भंग हुने सम्भावना बढेको छ । सहमतिका आधारमा नयाँ सरकार गठन, शक्ति बाँडफाँड र अन्य प्रक्रिया अघि बढ्ने अवस्था नरहेकाले नेकपा (माओवादी) शुक्रबार सरकारबाट अलग हुने सम्भावना बढेको छ ।

'परिस्थिति यस्तै रहेमा शुक्रबार नै माओवादीका हामी सबै मन्त्रीहरूले लिखित रूपमै सरकारबाट राजीनामा दिनेछांै । सहमतिका आधारमा अघि बढ्ने सम्भावना नरहेकाले अब जे हुन्छ, संविधानसभाको बैठकमै हुन्छ,’ माओवादीका केन्द्रीय सचिवालय सदस्य एवं स्थानीय विकासमन्त्री देव गुरुङले बैठकपछि भन्नुभयो ।

बिहीबार प्रधानमन्त्री कोइरालाले राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खुला गर्ने आशा गरिएको थियो । तीन प्रमुख दलहरूबीच सहमतिको प्रयास सफल हुन नसके पनि नेपाली कांग्रेसलगायतका अन्य सहयात्री दलहरूको आग्रहमा माओवादीले सरकारबाट अलग हुने निर्णयलाई बिहीबार बिहानसम्म थाती राखेको थियो । सहमतिको प्रयासका लागि बिहान नौ बजेसम्मको 'डेटलाइन’ तोकिएको थियो ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन प्रमुख दलहरूबीचको बैठकमा कांग्रेसका नेता शेरबहादुर देउवाले आफ्नो पार्टी सत्ताबाट अलग हुने, प्रधानमन्त्री कोइरालाले राजीनामा दिने, कांग्रेसले राष्ट्रपति पदमा दाबी नगर्ने र माओवादीको नेतृत्वमा सरकार गठनका लागि सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभएको स्रोतको भनाइ छ ।

कांग्रेसको सकारात्मक धारणा आएपछि तीन प्रमुख दलहरूबीचको बिहानको बैठक सौहार्दपूर्ण बनेको थियो । प्रधानमन्त्री कोइरालाले बिहीबार नै बस्ने सात दलको बैठकमै आफ्नो राजीनामा प्रस्तुत गर्ने विश्वास कांग्रेसका नेताहरूले अन्य सहयात्री दलहरूलाई दिलाएका थिए । सोही समझदारीबमोजिम तीन प्रमुख दलबीच संविधान संशोधन, शक्ति बाँडफाँडलगायतका विषयमा सहमति पनि भएको थियो । प्रधानमन्त्रीले राजीनामा दिने, कांग्रेस प्रतिपक्षमा बस्ने र राष्ट्रपतिमा दाबी नगर्ने भएपछि माओवादीले पनि लचकता प्रदर्शन गरेको थियो । तीन दलबीच बिहीबार बिहान संविधान संशोधन गरी सामान्य बहुमतका आधारमा सरकार गठन एवं प्रतिपक्षी दलको प्रावधान थप्ने तथा सेना समायोजन गर्नेबारे समझदारी पनि भएको थियो ।

तर अपराह्न कांग्रेस आफ्नो वचनमा अडिग रहन सकेन । सहमतिका बुँदा तयार गर्न र देशलाई नयाँ निकास दिन तीन बजे बस्ने भनिएको सात दलको बैठक अढाई घण्टा ढिलो सुरु भयो । साढे पाँच बजेदेखि सुरु भएको सात दलको बैठकमा उपस्थित हुनुभएका प्रधानमन्त्री कोइरालाले सहयात्री दलहरूको अपेक्षाबमोजिम राजीनामा दिनुभएन । उहाँले 'मलाई केही भन्नु छ’ भन्दै घुमाउरो भाषामा राजीनामा नदिने अडान दोहोर्‍याउनुभएको बुझिएको छ । सात दलको बैठकमा प्रधानमन्त्री कोइरालाले राजीनामा दिनुको साटो गोलमटोल एवं धम्कीपूर्ण अभिव्यक्ति दिएको सूत्रहरू बताउँछन् ।

आफ्नो पार्टीले कुनै पदमा नबसी संविधान निर्माणको प्रक्रियालाई मात्र सहयोग गर्ने बताउँदै कोइरालाले आफूलाई सत्तामा बस्ने कुनै रहर नभएको जिकिर गर्नुभएको थियो । तर अन्य दलहरूले तत्काल राजीनामाको कुरो उठाउँदा भने उहाँले अनेक बहानाबाजी गर्नुभएको थियो । कोइरालाको तर्क थियो- 'प्रधानमन्त्री पदबाट राजीनामा दिने ठाउँ नभएकाले म पदमा बसिरहन बाध्य भएको हुँ, मैले कसलाई आफ्नो राजीनामा दिने ?’

सूत्रहरूका अनुसार सात दलको बैठकको सुरुमै प्रधानमन्त्रीले आफ्नो भनाइ राख्नुभएको थियो । प्रधानमन्त्रीले भाषणको सुरु र अन्त्यमा आफूलाई राजीनामा दिने ठाउँ देखाइदिन समकक्षी दलका नेताहरूलाई चुनौती दिनुभएको थियो । 'सात दलले नै मलाई शान्तिप्रक्रियाका लागि जिम्मेवारी दिएकाले सात दलले राजीनामा देऊ भनेमा दिन्छु, नदेऊ भनेमा दिन्न,’ भन्दै कोइरालाले राजीनामा नदिन खोचे थाप्नुभएको सूत्रहरू बताउँछन् ।

सात दलीय सहमतीका आधारमा आफूले आन्दोलन र शान्तिप्रक्रियामा विशेष भूमिका निर्वाह गरेकाले आफ्नो मूल्यांकन हुनुपर्ने कोइरालाको आसय रहेको थियो । 'सात दलले मेरो मूल्यांकन जस्तो गर्छ म स्विकार्न तयार छु,’ भन्दै कोइरालाले आफ्नो सम्बोधन टुंग्याउनुभएको थियो ।

आफ्नो राजीनामाको विषयलाई विषयान्तर गर्दै कोइरालाले १२ बुँदे सहमति हुँदै देशमा रक्तपातबिना नै गणतन्त्र स्थापना भएको भन्दै सहमतिको राजनीतिमा अवरोध देखिएको जिकिर गर्नुभएको थियो । 'अरू दलहरूले गणितीय हिसाब थालेकाले सहमतिको राजनीतिमा अवरोध देखिएको हो,’ कोइरालाको जिकिर थियो । माओवादी र एमालेका नेताहरू प्रधानमन्त्री कोइरालालाई राष्ट्रपति बनाउन सहमत नभएको बेला उहाँले बैठकमा यस्तो धारणा राख्नुभएको थियो । तीन मिनेटमा आफ्नो भनाइ राखिसकेर कोइराला आफ्नो कक्षमा जानुभएको बताइन्छ ।

कोइरालाले राजीनामा दिनुको साटो अनेक बखेडा झिकेपछि माओवादी सरकारबाट अलग हुने सम्भावना बढेको छ । 'सहमति हुन नसकेपछि अब संविधान संशोधनको कुरा पनि रहेन, हामी सरकारमा रहने कुरा पनि भएन । अबको प्रक्रिया कांग्रेसले कसरी अगाडि बढाउने हो, उसैले जान्ने कुरा हो,’ मन्त्री देव गुरुङले भन्नुभयो ।

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd

This page has viewed  
free hit counter
times since 7 Baishakh 2065