|
माओवादी
मन्त्रीहरुद्वारा राजीनामा
जनदिशा संवाददाता
काठमाडौं, ६ असार
: सहमतिबाटै राजनीतिक निकास निकाल्न निकै
प्रयास गर्दागर्दै पनि कांग्रेसको सत्तालिप्साका कारण
दलहरुको बीचमा सहमति हुन सकेन । नयाँ जनादेशअनुसार
सरकार गठन गर्ने प्रक्रियाको ढोका नखुलेपछि अन्ततः
माओवादीका मन्त्री र राज्यमन्त्रीहरुले हिजो सात दलको
बैठकमा राजीनामा दिएका छन । राजीनामा पछि जनदिशालाई
अन्तर्वार्ता दिदै माओवादीका केन्द्रीय सचिवालय सदस्य
देव गुरुङले भन्नुभयो- 'प्रधानमन्त्रीले राजीनामा दिएर
नयाँ सरकार गठन गर्नका लागि मार्गप्रशस्त नगरेका कारण
हामीले राजीनामा दिएका हौं ।’
मन्त्रीहरुको राजीनामापत्रमा 'संविधानसभा निर्वाचन
भई गणतन्त्रको कार्यान्वयनपछि पनि देशमा राजनीतिक
अन्यौलता कायमै रहिरहेकाले नयाँ सरकार निर्माणका लागि
मार्गप्रशस्त गर्न तपसिलका हामी पाँचजना मन्त्री र
दुईजना राज्यमन्त्रीले आ-आफ्नो पदबाट राजीनामा दिएका
छांै ।’ भनिएको छ ।
डेडलक
फुकाउन राजीनामा दिएका हौं :
गुरुङ
तपाइँहरुले किन राजीनामा
दिनुभयो ?
संविधानसभा निर्वाचन सम्पन्न
भएको दुई महिनाभन्दा पनि बेसी भएको छ र संविधानसभाले
नयाँ प्रकारको जनादेश पनि दिइसकेको छ । त्यसप्रकारको
ताजा जनादेश आइसक्दा पनि अन्तरिम सरकारको नेतृत्व
गरिरहेको नेपाली कांग्रेसले नयाँ सरकार गठन गर्नका लागि
मार्ग प्रशस्त गर्नका लागि राजीनामा नदिएको हुनाले
हामीले राजीनामा दिएका छौं ।
हामीले पटकपटक मौखिक रूपले
उहाँलाई राजीनामा दिन आग्रह गर्यौं र सात दलको बैठकमा
पनि आग्रह गर्यौं, तर पनि उहाँले राजीनामा दिनुभएन ।
तुरुन्तै अन्तरिम संविधान संशोधन गर्नुपर्दछ र राजीनामा
दिएर नयाँ सरकार गठन प्रक्रियामा जानुपर्छ भनेर कुरा
चलिरहेको बेलामा प्रधानमन्त्रीको राजीनामा नआउनुलाई
हामीमाथि षड्यन्त्र भइरहेको छ भन्ने लाग्यो । एकातिर
त्यो सहमतिको प्रक्रिया नटुंगिरहेको र ढिलासुस्ती हुन
गइरहेको अवस्था छ भने अर्कोतिर यहीबेला कांग्रेसकै
तर्फबाट अहिलेको अन्तरिम पिरियडका लागि सभाध्यक्ष
बन्नुभएको सभाध्यक्षले आपनो ढंगले सदनलाई ११ गतेसम्मका
लागि स्थगित गरेर यो मुलुकलाई झन् डेटलक बनाउने
प्रक्रियामा अगाडि बढेको देखियो ।
संवादको प्रक्रियामा सात
दलबीचमा कैयौं कुरामा सहमति हुन नसकिराखेको अवस्था,
सदनलाई स्थगित गरिराखेको अवस्था र प्रधानमन्त्रीले
राजीनामा नदिइरहेको अवस्था यी सबै कुराले गर्दा
हामीलाई यहाँ गम्भीर षड्यन्त्र भएको छ भन्ने अनुभूति
भयो ।
जनताको जनादेश भनेको प|mेस
म्यान्डेटका आधारमा मुलुक अगाडि बढ्नुपर्ने हो, तर त्यो
रूपले अगाडि बढ्नलाई मार्ग प्रशस्त गर्नुको सट्टा
षड्यन्त्रका सञ्जालहरू देखिएको हुनाले त्यसलाई चिर्नका
लागि हामी जनतामा जान राजीनामा दिएका छौं । जनताप्रति
उत्तरदायी भएको हिसाबले नैतिक रूपले पनि यो अन्तरिम
सरकारमा बसिरहन ठीक हुँदैन । यो सरकार विघटनका लागि
छिटोभन्दा छिटो प्रक्रिया हामीले चाल्नुपर्दछ ।
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले यो मार्ग
प्रशस्त गर्ने प्रक्रिया नचाल्नुभएको हुनाले हामीले
मार्ग प्रशस्त गर्ने प्रक्रिया चालेका छौं ।
तपाइँहरुको यो राजीनामाले
डेडलकलाई फुकाउन मद्दत गर्छ ?
निश्चित रूपमा हाम्रो
राजीनामाले यो डेडलकलाई फुकाउन मद्दत गर्छ । किनभने यो
डेडलक हुनुको पछाडिको प्रमुख कारण प्रधानमन्त्रीले
राजीनामा नदिनु हो । अब हामीले राजीनामा दिइसकेपछि यो
सरकार अल्पमतमा जाने छ किनभने एमालेले पहिले नै
राजीनामा दिइसकेको छ ।
यो सहमतिको सरकार हो । सहमति
ब्रेक भइसकेपछि यो सरकारको वैधानिकता समाप्त हुनेछ ।
यो वैधानिकता समाप्त भइसकेपछि यो सरकार विघटनको
प्रक्रिया जानेछ । त्यसपछि नयाँ सरकार बनाउने
प्रक्रियामा मुलुक अगाडि बढ्नेछ ।
शान्तिप्रक्रियालाई
तार्किक निष्कर्षमा पुर्याउन तपाइँहरुको राजीनामाले
सहयोग गर्छ ?
शान्तिप्रक्रियाको निरन्तर
जारी रहिरहन्छ । सात दलको बीचको सहकार्यबारेमा पनि त्यो
चलिरहन्छ । त्यसलाई हामीले अहिले भंग गर्नुपर्छ भनेका
छैनौं । शान्तिप्रक्रियालाई छोड्नुपर्छ भनेर पनि भनेका
छैनौं । खालि यो डेडलकको स्थितिलाई फुकाउनलाई मात्र
हामीले राजीनामा दिएका हौं । हामीलाई विश्वास छ हाम्रो
राजीनामाले शान्तिप्रक्रियालाई सहयोग नै गर्छ ।
अहिलेको डेडलकलाई अन्त्य
हुन के हुनुपर्छ ?
सबभन्दा पहिले प्रधानमन्त्रीले
बिनासर्त सदनमा गएर राजीनामा दिनुपर्दछ । राजीनामा
दिइसकेपछि नयाँ सरकार गठनको प्रक्रियाको ढोका खुल्छ ।
यसले नयाँ सरकारका निम्ति आवश्यक पर्ने न्यूनतम
कार्यक्रमको प्रक्रियाको पनि ढोका खुल्छ । त्यहाँबाट
संविधान संशोधन गर्ने प्रक्रियाको सुरुवात हुन्छ ।
त्यसकारणले गर्दा सबभन्दा पहिलो कुरा राजीनामा
नदिँदासम्म यो ढोका खुल्दैन त्यसो भएको हुनाले राजीनामा
दिनुपर्छ भन्ने कुरा हामीले मौखिक रूपमा भन्दै आएका
थियौं । तर प्रधानमन्त्रीले राजीनामा नदिएको हुनाले
हामीले राजीनामा दिएर ढोका खोल्ने कोसिस गरेका छौं ।
राजनीतिक गतिरोध अन्त्य
गर्नका लागि माओवादीले कस्तोखालको सहकार्यलाई अगाडि
बढाएको थियो ?
यसका लागि हामीले
लोकतान्त्रिक आन्दोलनकारी दलहरूबीचमा विशेषतः सात दलकै
बीचमा सहकार्य गर्ने र सहमतिकै आधार अगाडि बढ्नुपर्छ
भनेर हामी दुई-दुई महिनासम्म लागिरहृयांै ।
धैर्यतापूर्वक, संयमतापूर्वक गम्भीरतापूर्वक, लचकताका
साथ हामी लागिरहृयौं आजसम्म ।
तर हाम्रो लचकता र धैर्यता,
संयमताबाट नाजायज फाइदा उठाएर हाम्रो कमजोर ठानेर हरेक
सवालमा उल्टो हामीलाई आत्मसमर्पण गराउन खोज्ने प्रकारका
प्रवृत्तिहरू देखापरे । जनताको अग्रगामी चेतना अग्रगामी
सोच र विचारभन्दा विपरीत ढंगबाट पछाडि लैजाने र
यथास्थितिवादमा राख्न खोज्ने प्रवृत्तिहरू पनि देखापरे
। यो चिन्तत र धारणाबाट मुलुक अगाडि बढ्न सक्दैन भन्ने
हाम्रो विश्वास हो । यो यथास्थितिवादी चिन्तनलाई ब्रेक
गर्नका लागि राजीनामा प्रक्रियाबाट अगाडि नबढी हुँदैन
भनी निष्कर्षमा पुग्यौं र त्यहीअनुसार अगाडि बढ्ने
कोसिस पनि गरिरहेका छौं ।
अबको दिनमा कस्तो कदम
चाल्नुहुन्छ ?
अबको दिनमा फेरि पनि हामी सात
दलको बीचमा सहमतिका लागि कुराकानी गर्न तयार छौं ।
शनिबार बिहान आठ बजे कुराकानी गर्ने समय पनि तय भएको छ
। नीति तथा कार्यक्रमलगायत संविधान संशोधनसँग गासिएका
कैयौं सवालहरूमा कुराकानी गर्न हामी तयार छौं । सदनमा
नयाँ संविधान निर्माण प्रक्रिया पनि सक्रिय भूमिका
निर्वाह गर्न तयारी छौं ।
तर सरकारको हकमा गिरिजाप्रसाद
कोइरालाले सरकार नछोड्नुभएको हुनाले हामीले छाडेका छौं
। यदि उहाँले चलाउन चाहनुहुन्छ भने अरू सहयोगी दलहरू
लिएर चलाउनहुनेछ । हामी प्रतिपक्षमा बस्न पनि सक्छौं
अथवा उहाँले राजीनामा दिनुभयो भने नयाँ सरकार गठन गर्ने
प्रक्रियामा नयाँ ढंगले अगाडि बढ्न पनि सक्छौं ।
त्यसकारण आगामी दिन कसरी अगाडि जान्छ भन्ने कुरा
प्रधानमन्त्रीको राजीनामाको प्रक्रिया के हुन्छ भन्ने
कुरामा धेरै अन्तरनिहित छ । हामी सहमतिको आधारमा सरकार
गठन गर्न पनि तयार छौं । जनताको जनादेशअनुसार आवश्यकता
परे भने हामी प्रतिपक्षमा बस्न पनि तयार छौं । हामी
जनुसुकै चुनौतीहरूको पनि सामना गर्न तयार छौं ।
कति विश्वस्त हुनुहुन्छ
प्रधानमन्त्रीको राजीनामा आउने कुरामा ?
हामीले पनि राजीनामा दिइसकेको
स्थितिमा यो सरकारको वैधानिकता समाप्त हुने प्रक्रियामा
जान्छ । किनकि यो सहमतिले बनेको सरकार हो । एमालेल
पहिले नै छोडिसकेको छ । हामीले छोड्नेबित्तिकै सहमति
टुटेको मात्रै नभईकन वैधानिक रूपमा यो अल्पमत परिसकेको
हुन्छ । त्यसो भएको हुनाले अब स्वाभाविक रूपले राजीनामा
दिएर नयाँ मार्ग प्रशस्त गर्नुपर्दछ । या त त्यो मार्ग
प्रशस्त गर्नुपर्दछ या त उहाँले संविधानसभाबाट
विश्वासको मत लिएर नयाँ सरकार गठन गर्न सक्नुपर्दछ ।
त्यो स्थितिमा हामी प्रतिपक्षमा बस्न पनि तयार छौं ।
|