|
'कांग्रेसका कारण सहमति भएन’
-
हरि लामिछाने
काठमाडौं, ७ असार
: नेकपा (माओवादी)का
वरिष्ठ नेता मोहन वैद्य 'किरण’ले
'प्रधानमन्त्री कोइरालाको हठ र सत्तालिप्साका कारण
राजनीतिक सहमति जुट्न नसकेको बताउनुभएको थियो ।’
राजधानीमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा
उहाँले त्यस्तो विचार व्यक्त गर्नुभएको हो ।
अहिलेसम्म कांग्रेस सरकारमा बसिरहनु अनैतिक,
अशोभनीय र अराजनीतिक क्रियाकलाप भएको बताउँदै उहाँले
भन्नुभयो- 'सिधा र प्रस्ट रूपमा कांग्रेसले राजीनामा
दिनुपर्छ । कांग्रेसले राजीनामा नगरेका कारण वास्तविक
निष्कर्ष आउन सकेको छैन । सत्ताको कुरा नै मुख्य
हुँदोरहेछ ।’
उहाँले 'प्रधानमन्त्रीले
राजनीतिक रूपमा सात दलमा र पदीय रूपमा संविधानसभामा
राजीनामा दिए हुने बताउनुभयो ।
माओवादीले सहमतिको
प्रक्रियालाई अगाडि बढाउँदा अवरोध आइरहेको उल्लेख गर्दै
उहाँले भन्नुभयो- 'यदि सहमति हुँदैन भने हामी सरकारमा
जाँदैनौं र प्रतिपक्षमा बस्न तयार छौं । अरू
पार्टीहरूले सरकार बनाए हुन्छ ।’
वर्तमान अवस्थाको विकल्प अगाडि सार्दै नेता किरणले
भन्नुभयो- 'सहमतिको आधारमा माओवादीको नेतृत्वमा सरकार
बन्न दिइयोस् कि प्रतिपक्षमा बस्न दिइयोस्, यी दुईवटा
विकल्पबाहेक अरू विकल्प छैन ।’
माओवादीको विकल्पलाई अन्यथा रूपमा लिए देश गम्भीर
स्थितिमा जाने उल्लेख गर्दै उहाँले भन्नुभयो- 'त्यस
मामिलामा हाम्रो पार्टी कसैसँग झुक्दैन ।’
एमालेका निवर्तमान महासचिव माधवकुमार नेपाललाई
राष्ट्रपति बनाउने सहमति भएको भन्ने प्रचारप्रति उहाँले
राष्ट्रपतिको सम्बन्धमा एमालेसँग छलफल प्रक्रिया अगाडि
चलाइराखेको र सहमतिको केही नजिक पनि पुगेको बताउनुभयो
। 'तर अहिलेसम्म निष्कर्ष आएको छैन र माधवकुमार
नेपाललाई नै राष्ट्रपति बनाउने भन्ने सहमति पनि भएको
छैन,’ उहाँले थप्नुभयो ।
नेकपा (एमाले)का
नेता वामदेव गौतमले संविधानसभा चुनावपछि देशको
राजनीतिक स्थिति परिवर्तन भएको उल्लेख गर्दै नेपालको
पहिलो राष्ट्रपति एमालेले पाउनुपर्ने दावी गर्नुभयो ।
कांग्रेसले गिरिजालाई
राष्ट्रपतिको प्रस्ताव गरेको बताउँदै उहाँले भन्नुभयो-
'कांग्रेसले गिरिजाको नाम प्रस्ताव गरेको छ । त्यो
प्रस्ताव सम्भव छैन ।’
उहाँले भन्नुभयो- 'कांग्रेस प्रतिपक्षमा बस्न
चाहन्छ भने हामीलाई कुनै आपत्ति छैन ।’
मधेसी जनअधिकार फोरमका संयोजक
उपेन्द्र यादवले प्रधानमन्त्रीले राजीनामा नदिनाले नयाँ
सरकार बन्न नसकेको उल्लेख गर्दै राजनीतिक गतिरोधको
बाधक कांग्रेस पार्टी नै हो भन्नुभयो ।
संयोजक यादवले भन्नुभयो- 'गिरिजाले
पहिला राष्ट्रपतिको ग्यारेन्टी गर । अनि मात्र संविधान
संशोधन र नयाँ सरकार बनाउने बाटो खोल्छु भनी अडान लिनु,
जनताको अपमान हो । लोकतन्त्रको उपहास हो र कांग्रेसको
सत्तालिप्सा हो ।’
उहाँले आफ्नो पार्टीको पहिलो प्रस्ताव गिरिजाको
राजीनामा भएको बताउँदै वर्तमान राजनीति गतिरोधको
अन्त्य गर्न प्रधानमन्त्री कोइरालाले राजीनामा
दिनुपर्छ,’ भन्नुभयो ।
'माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार बन्नुपर्छ
भन्ने नै जनताको म्यान्डेट हो,’
उहाँको कथन थियो ।
|