जनदिशा दैनिक

जनादेश साप्ताहिक

The Red Star

सश्लेषण मासिक

 

३ डीएसपीसहित १७ जना अधिकृतहरू नियन्त्रणमा, सशस्त्रका जवानहरु आन्दोलित

- अम्बिका चन्द

नेपालगन्ज, ८ असार : प्रहरी संगठनभित्र चरम अन्याय, अत्याचार र भेदभाव भएको भन्दै शनिबार राती बाँकेको शमशेरगन्जस्थित बागेश्वरी सशस्त्र गणका प्रहरी जवानहरू संगठित रूपमा आन्दोलित भएका छन् ।

गुणस्तरहीन राशन उपलब्ध गराएको, क्यान्टिनमा मनपर्दी ढंगले मूल्य राखेर ठगेको, टेलिफोनमा बाहिरभन्दा दोब्बर मूल्य लिएको, भ्रष्टाचार गरेको तथा जवानहरूलाई माथिल्लो दर्जाका अधिकारीहरूले अभद्र व्यवहार गरेको भन्दै पीडित जवानहरू गणका गणपतिलगायत आधा दर्जनभन्दा बढी अधिकृतहरूलाई नियन्त्रणमा राखिरहेका छन् ।

उनीहरूले गणका तीनजना डिएसपी र १४ जना इन्स्पेक्टरसहित डेढदर्जन बढी अधिकृतहरूलाई नियन्त्रणमा राखेर सम्पूर्ण गणलाई नै आफ्नो कब्जामा लिएका छन् । ती सबै सशस्त्र प्रहरी अधिकृतहरू जवानहरूको नियन्त्रणमा छन् भने आन्दोलनरत जवान र हवल्दारहरू सशस्त्रकै युनिर्फममा रहेका छन् । उनीहरू 'युनिर्फम’ लगाएरै विद्रोह गर्ने बताउँछन् ।

गुणस्तरहीन र कमसल क्वालिटीको राशन उपलब्ध गराएको भनि पटकपटक विरोध जनाउँदै आएका सो गणका पाँचसय बढी जवान र हवल्दारहरूले शनिबार बेलुकी ७ः३० बजे क्यान्टिनमा खाना खाइरहेका बेला अश्लिल शब्द प्रयोग गर्दै जवानहरूलाई थर्काउँदै भित्र छिरेका प्रहरी अधिकृतहरूलाई नम्र र सभ्य भाषामा हामी पनि तपाईहरूजस्तै हौं नि अब त गणतन्त्र आइसकेको छ किन पहिलेजस्तै व्यवहार देखाउनुहुन्छ भनेर प्रहरी जवान र हवल्दारहरूले भन्दा उल्टै हाकिमहरुले लात्ताले हान्न थालेपछि उनीहरूले प्रतिरोध गरेका हुन् । संगठित प्रतिरोधमा केही अधिकृतहरू घाइते पनि भएका छन् । त्यसपछि केही डीआईजी र एसपीहरू भागेर कोहलपुरको त्रिपुरा गणमा शरण लिन पुगेका छन् भने बाँकीलाई नियन्त्रणमा राखिएको छ ।

नेपालगन्जबाट ३३ किलोमिटर टाढाको दुरीमा रहेको उक्त बाग्ोश्वरी गणमा हाल करिब एक हजारको हाराहारीमा प्रहरी फोर्स रहेको बताइएको छ ।

सबै प्रकारहरूको विभेद अन्त्य गर्नुपर्ने र भ्रष्ट अधिकारीहरूलाई कारबाही गर्नुपर्ने प्रहरी जवानहरूको माग रहेको छ । गणका वरिष्ठ हवल्दार हरि पौडेलको नेतृत्वमा आन्दोलित भएका जवान र हवल्दारहरूले सुर्खेतबाट आएका सशस्त्र प्रहरीका नायब प्रहरी महानिरीक्षक राजकुमार राना, पत्रकारहरू तथा मानव अधिकारवादीहरूलाई समेत गृहसचिव र सशस्त्र प्रहरी महानिरीक्षक आएपछि मात्र वार्ता गर्ने भनी गणभित्र प्रवेश गर्न नदिई फर्काएका थिए ।

सो गणभित्र क्यान्टिन सञ्चालक सशस्त्र सहायक प्रहरी निरीक्षक रमेश पाण्डे, टेलिफोन नियन्त्रक सशस्त्र नायब प्रहरी निरीक्षक दिलीप खड्का र कर्मचारी प्रशासनप्रमुख सशस्त्र नायब प्रहरी निरीक्षक सूर्यबहादुर ओलीले जवान र हवल्दारहरूसँग अभद्र व्यवहार गर्दै आएको आरोप पनि उनीहरूको छ ।

आन्दोलित जवान र हवल्दारहरूसँग वार्ता गर्न गृहमन्त्रालयका प्रवक्ता एवं सहसचिव मोदराज डोटेल तथा सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक नारायणप्रसाद पाण्डेको उच्चस्तरीय टोली आइतबार अपरान्ह नेपालगन्ज पुगेको छ । टोलीले आन्दोलनकारीसँग वार्ता गरेर घटनाको छानबिन र सबै समस्या समाधान गर्ने गृहमन्त्रालयका सहसचिव डोटेलले बताउनुभयो ।

तर आन्दोलनरत जवान र हवल्दारहरू सात राजनीतिक दलको रोहवरमा सशस्त्र महानिरीक्षकसँग मात्र वार्ता गर्न तयार रहेको बताउँछन् ।

जवान र अधिकृतहरूको भीडन्तका क्रममा गणभित्र केही राउण्ड गोलीसमेत चलेको स्थानीयवासिन्दाले बताएका छन् ।

आन्दोलित प्रहरीहरूको कुटाइबाट एसपी बुढाथोकीको ढाडमा चोट लागेको छ । उनलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

आन्दोलनकारीहरूले गणका कोर्टमास्टर सशस्त्र प्रहरी निरीक्षक शेरबहादुर अधिकारीलाई नियन्त्रणमा लिन खोज्दा अधिकारी भागेकाले उनको खोजीमा निस्केका जवानहरूले कोर्टमास्टरलाई लुकाएको आरोपमा गण बाहिर रहेको दावा होटेलका सञ्चालक देवभक्त अधिकारी, उनकी श्रीमती सरिता अधिकारी र छोराछोरीलाई समेत कुटपिट गरेका थिए ।

आज बिहान ८ बजे वार्ता हुने बताइएको छ । यो विवरण तयार पार्दासम्म गण पूरै प्रहरी जवानहरूको नियन्त्रणमा रहेको छ ।

एसपीलाई जवानको आदेश

आइतबार बिहान सो गणमा पुगेका सशस्त्रका एसपी मानसिंह मुल्मी र हर्क रावललाई एक जवानले तुरुन्तै पर्कने आदेश दिएपछि उनीहरूभित्र नछिरी फर्किएका थिए । जवानले तपाईंको पनि बुढाथोकीको जस्तो हालत होला नि भनी फर्काइदिएका थिए । सशस्त्र प्रहरीको इतिहासमा जवानको आदेश एसपीले मानेको यो पहिलो घटना हुनसक्छ ।

पर्वतको सशस्त्र प्रहरीबल चण्डीका गणका प्रहरी जवानहरुले निम्न मागहरु राख्दै आन्दोलन गरेका छन् । आन्दोलन गर्नुको कारण उल्लेख गरी सशस्त्र प्रहरी प्रहरी बल मुख्यालय पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, पोखरामा पठाएको पत्र-

श्रीमान सशस्त्र प्रहरी महानिरीक्षकज्यू,

श्री सशस्त्र प्रहरी बल मुख्यालय मुक्तिनाथ बाहिनी

पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, पोखरा

विषयः जानकारी सम्बन्धमा ।

१. सिपाही र हवल्दारहरूलाई मान्छेसरह नभएको । मानव अधिकारको हनन गर्न पाइँदैन ।

२. जथामावि संवेदनशील अंगहरूमा जबर्जस्ती कुटपिट गर्ने गरेको । कसैलाई पनि कुटपिट गर्न पाइँदैन ।

३. तल्लो दर्जाका सिपाही तथा जवानहरू विरामी हुँदा बेवास्था गरी उपचार नगरिएको र विरामीमाथि शारीरिक तथा मानसिकरूपमा चरम यातना दिइएको । कसैलाई पनि शारीरिक तथा मानसिक यातना र अनावश्यक दबाब दिन पाइँदैन ।

४. उपल्लोस्तरको आन्तरिक बैठकमा सिपाही हवल्दारलाई तह लगाउनुपर्छ भनी निर्णय गरी त्यस्तै व्यवहार गरिएको । बैठकमा भएका निर्णयहरू सबैलाई जानकारी हुनुपर्ने र मनोमानी निर्णय गर्न नपाइने ।

५. अत्याधिक चरम यातना दिएको कारण गत वर्ष कृष्णनगर भन्सारबाट स.प्र.व.ह.श्यामकुमार काफर ४/४ नाल हतियारसहित भागेको पनि यस्तै कारणले हो । चरम यातना दिने कार्य तुरुन्त रोकिएन र मानवीय व्यवहार गरिएन भने हतियारसहित विद्रोह गर्ने छौं ।

६. गणभित्र आउने बजेट माथिल्लो दर्जाकाले आफ्नो व्यक्तिगत स्वार्थमा खर्च गर्ने तर काम जति सबै तल्लो दर्जाकाले पूरा गर्नुपर्ने किन ? गणभित्रको बजेटलाई व्यवस्थित गरिनुपर्छ । कसैले व्यक्तिगत प्रयोग गर्न पाइँदैन ।

७. संविधानसभा चुनावका लागि आएको तलवभत्ता नदिएको र त्यसबारेमा बुझ्न खोज्ने जो कोहीलाई पनि जागिर खाईदिने, कारबाही गर्ने धम्की दिने गरेको । तुरुन्त आजसम्मको तलवभत्ता सबैले पाउनुपर्छ र भयरहित भएर आफ्नो काम गर्न पाउनुपर्छ ।

८. विरामी अवस्थामा रहेको सिपाहीलाई विरामी छु भन्दाभन्दै पीच गरिएको भुइँमा सुताएर नाक, मुखबाट खलखली रगत आउनेगरी लाठी, भाटा र लात्ती लात्तीले भकुरेर चरम यातना दिएको । विरामीलाई आरम गर्न दिनुपर्छ र समयमै उपचार गरिनुपर्छ ।

९. ड्यूटीमा रहेका सिपाहीहरूलाई एसपीले बिना कसुर अनावश्यक रूपमा हातपात गर्ने गरेको र निजको परिवारले एसएसपीले जस्तो गरी काममा लगाउने र गालीगलौज गर्ने गरेको । बिना कारण अनावश्यक रूपमा कसैलाई पनि हातपात गर्न पाइँदैन । मानवीय व्यवहार हुनुपर्छ ।

१०. कुनै पनि तल्लोस्तरको सिपाही वा जवानले महिनौं दिनमा घरमा जानको लागि भाडा माग्दा भाडा छैन भनी कुटपिट गर्ने तर उपल्लो दर्जाकाले दिनहुँ ऐसआराम गरी आफ्नो व्यक्तिगत काममा लगाउने गरेको र जवानहरूको आर्थिक एवं श्रम शोषण गरी काठमाडौंजस्तो ठाउँमा महल बनाउने गरेको । सबैले उचित तलवभक्ता ठीक समयमा चाँडै नै पाउनुपर्छ, हिसाबकिताब पारदर्शी हुनुपर्छ र आयव्यय सबैलाई जानकारी हुनुपर्छ ।

११. बिहानदेखि बेलुकीसम्म एकछिन पनि फुर्सद नदिइ भोकै काममा लगाउने र एकछिन बसेको देखिए कुटपिट गर्ने गरेको । ड्यूटीको समयावधि तोकिनुपर्छ, समयमा खान तथा खाजा खान पाउनुपर्छ ।

१२. एसपी र उसको परिवारले कोठामा बसी ऐसआराम गरी वाईनाकुलरले काम गरे/नगरेको हेर्ने र यसो बसेको देखे पशुभन्दा निच व्यवहार गर्ने गरेको । सबैले ड्यूटी गर्नुपर्छ र उपल्लो दर्जाका घरपरिवारको हस्तक्षेप तुरुन्त बन्द हुनुपर्छ ।

१३. कुनै पनि सिपाहीले सिपमुलक तालिमको माग गर्दा गणमा रहेका सवारी साधन चलाउन खोज्दा वा कार्यालयका आवश्यक सामानहरू चलाए पनि एसपी र निजका परिवारले दुव्र्यवहार गर्ने गरेको । जो कोहीले पनि आवश्यक सामग्री प्रयोग गर्न पाउनुपर्ने र इच्छाएको सीप सिक्न पाउनुपर्ने ।

१४. अहिलेसम्म पनि सि.अ.ले एउटा विभागको मानिसलाई आफ्नो व्यक्तिगत कामका लागि घरमा लगी काममा लगाउने गरेको । कुनै पनि सिपाही, जवान, हवल्दार तथा अरू कसैलाई पनि व्यक्तिगत काममा लगाउन नपाइने ।

१५. सिपाही हवल्दारको राशनपानीले सि.अ.ले भोजभतेर गर्ने तर तल्लोस्तरको सिपाही जवानहरूलाई अति तल्लोस्तरको खाना दिने गरेको । सबैलाई समान खाना र समान राशन हुनुपर्छ ।

१६. काम विशेषले बाहिर जान पनि नदिने दिइहाले पनि अति छोटो समय दिने र आउँदा ढीला भयो भनी गेटमा नै लाठी र भाटाले कुट्ने र भगाई दिन्छु भनी धम्काउने गरेको । सबैलाई समानुपातिक ड्यूटी हुनुपर्ने र ड्यूटी सकिएपछि स्वतन्त्र हुन पाउनुपर्छ ।

१७. एउटा विभागको हवल्दारलाई आफ्नो व्यक्तिगत घरको काम गर्न जान्न भनेकाले एक हप्तासम्म ज्वरो आउने गरी स.प्र.ना.उ.रोशन श्रेष्ठले कुटपिट गरेको । विभागीयबाहेक अन्य कार्यमा लगाउन नपाइने ।

१८. सही र सत्य रिपोर्ट दिादा पनि अनावश्यक गालीगलौज गर्ने गरेको । सबैलाई न्यायपूर्ण व्यवहार गरिनुपर्ने ।

१९. एक वेसमा रहने डीएसपीले आफूभन्दा उपल्लो दर्जाकालाई घुस दिने गरेको तर तल्ला दर्जाका जवानहरूलाई शोषण गर्ने गरेको छ । यस्तो कार्य तुरुन्त रोकिनुपर्ने ।

२०. कार्य अवधि पुगेका उपल्लो दर्जाका व्यक्तिहरूबाट अझै बढी यातना दिने गरिएको । कार्यअवधि पुगेकाहरूको चाँडोभन्दा चाँडो अवकास हुनुपर्ने ।

२१. सशस्त्र प्रहरीबलका लागि छुट्याइएको अरवौं रकम भ्रष्टाचार भएको छ, त्यसको छानबिन गरी दोषीउपर कारबाही गरिनुपर्छ ।

२२. माथि उल्लेखित विषयवस्तुहरूको समस्या समाधान चाँडोभन्दा चाँडो गरी यथाशीघ्र हाम्रा मागहरू पूरा नगरिए अझै सशक्त, कठोर तथा कडा कदम चालिने जानकारी गराउँदछौं ।

निवेदकहरु

सम्पूर्ण शोषित, पीडित हवल्दार, सिपाही तथा जवानहरू

सशस्त्र प्रहरीबल चण्डीका गण कुश्मा, पर्वत

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd

This page has viewed  
free hit counter
times since 7 Baishakh 2065