|
'संविधानसभाले मात्र डेडलक
तोड्नसक्छ’
-
दयानिधि भट्ट
काठमाडौं, ९ असार
: नेकपा
(माओवादी)का केन्द्रीय सचिवालय सदस्य देव
गुरुङले थाती रहेका राजनीतिक मुद्दाहरूको समाधान
संविधानसभाबाट खोजिनुपर्ने बताउनुभएको छ । 'बालुवाटारबाट
समाधान गर्ने प्रयत्न धेरै गरियो, तर अब समाधान खोज्ने
थलो संविधानसभालाई बनाइनुपर्छ, त्यसले डेडलक
तोड्नुपर्छ,’
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गुरुङले
भन्नुभयो ।
गुरुङले एकपछि अर्को
अप्रजातान्त्रिक सर्त तेस्र्याएर नेपाली कांग्रेस
राजनीतिक निकासको बाधक बनेको आरोप लगाउनुभयो ।
कांगे्रसको व्यवहारले सहमतिभन्दा विपरीत धु्रव खडा
गरेर बखेडा झिकिरहेको भनाइ उहाँको थियो ।
आफ्नो पार्टी सहमतिका लागि
हदैसम्म लचिलो बन्दै आएको बताउँदै गुरुङले राष्ट्रिय
सुरक्षा परिषद्मा विपक्षी दलका नेता रहनुपर्ने
कांग्रेसको प्रस्ताव मान्न नसकिने बताउनुभयो । उहाँले
विपक्षी दलका नेतालाई राष्ट्रिय सुरक्षा परिषद्मा
राखिएको उदाहरण सैनिक शासन भएका बर्मा र
पाकिस्तानबाहेक विश्वका कुनै मुलुकमा नभएको उल्लेख
गर्नुभयो । कांग्रेसले सुरक्षा परिषद्मा बस्नका लागि
आफ्नो पार्टीको नेतृत्वमा गठन हुने सरकारमा सहभागी
हुनुपर्ने उहाँको भनाइ थियो ।
जनमत गुमाउँदासमेत कांग्रेसले
राष्ट्रपतिको दाबी गरेर बखेडा झिकेको आरोप लगाउँदै
गुरुङले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति मान्न
आफूहरू तयार नरहेको धारणा राख्नुभयो । कांग्रेसको
नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन
नसक्ने दाबी गर्नुभयो ।
आफ्नो पार्टीले छलफलका लागि
राष्ट्रपतिमा केही सम्भावित नामहरू मात्र अघि सारेको
बताउँदै गुरुङले कुनै पनि नाममा सहमति नभइसकेको
बताउनुभयो । उहाँले राष्ट्रपतिको चयन मधेसी, दलित,
महिला र जनजातिमध्येबाट गर्ने पक्षमा माओवादी रहेको
खुलासा गर्नुभयोे । कांग्रेसले अरूको नेतृत्वको सरकारमा
बस्न नमानेर अहंकार र एकाधिकारवादी सोच प्रस्तुत गरेको
आरोप गुरुङको थियो ।
कांग्रेसका केन्द्रीय सदस्य
डा. प्रकाशशरण महतले प्रधानमन्त्री गिरिजाप्रसाद
कोइरालाले बुधबार बस्ने संविधानसभाको बैठकमा राजीनामा
घोषणा गर्नसक्ने संकेत गर्नुभयो । 'प्याकेजमा सहमति भए
पनि नभए पनि प्रमले संविधानसभाको बुधबारको बैठकमा
राजीनामा पेस गर्न सक्नुहुन्छ,’
महतले भन्नुभयो । महतले गणितीय आधारमा सत्ता समीकरण बने
कांग्रेस प्रतिपक्षमा रहने बताउनुभयो । कांग्रेसलाई
लाग्दै आएको सत्तालिप्साको आरोपको खण्डन गर्दै महतले
भन्नुभयो- 'हामी प्रक्रियाको कुरा गरिरहेका छौं, यसलाई
सत्तालिप्सा भन्न मिल्दैन ।’ माओवादी र एमालेले
प्रधानमन्त्री र राष्ट्रपति छानेपछि आफूहरू छोक्राका
रूपमा फालेको पद लिने पक्षमा नभएको महतले स्पष्ट
पार्नुभयो । सुरक्षा निकायको मापदण्डअनुसार मात्र सेना
समायोजन गर्नुपर्ने कांग्रेसको अडान महतले दोहोर्याउनुभयो
।
नेकपा एमालेका केन्द्रीय सदस्य भीम रावलले एमालेले
राष्ट्रपतिका लागि आधिकारिक रूपमा कसको नाम प्रस्ताव
गर्ने भन्नेबारे निर्णय नगरेको बताउनुभयो । आफ्नो
पार्टीबाट केही नेताहरूले चर्चामा ल्याएका नाम
व्यक्तिगत आधारमा ल्याइएको उहाँको दाबी थियो । रावलले
माओवादीको नेतृत्वको सरकारमा एमाले जाने बताउनुभयो ।
त्यसलाई नयाँ गठबन्धनको खोजी भनेर प्रचार गरिएकोप्रति
रावलले असहमति जाहेर गर्नुभयो । सात दलको राजनीतिक
सहयात्रा पदका लागि मात्र नभएकाले भनेको पद नपाए
विपक्षमा बस्छौं भन्ने कांग्रेसको भनाइ गलत रहेको
टिप्पणी गर्नुभयो । 'सात दलको एकताको आधार पद होइन जनता
हुन्,’ रावलले भन्नुभयो ।
अरू दल कांग्रेसको नेतृत्वको सरकारमा बसेको स्मरण
गराउँदै रावलले कांग्रेस पनि अरू दलको नेतृत्वको
सरकारमा सहभागी हुनुपर्ने बताउनुभयो । सुरक्षा परिषद्मा
विपक्षी दलका प्रतिनिधि रहने व्यवस्था बेठीक हुने
रावलको ठहर थियो ।
नागरिक समाजका अगुवा निलाम्बर
आचार्यले दलहरूले शक्ति बाँडफाँडको टुंगो लगाउन नसक्दा
संविधान निर्माणको प्रक्रिया अगाडि बढ्न नसकेको
बताउनुभयो । सहमतिमा नगएर ध्रुवीकरणमा लागे राजनीतिक
दुर्घटना हुने चेतावनी आचार्यले दिनुभयो । सातदलीय
गठबन्धन भंग हुन नहुनेमा जोड दिँदै आचार्यले एकतालाई
अझै सशक्त ढंगबाट लानुपर्ने बताउनुभयो ।
प्रधानमन्त्रीलाई राजीनामा दिनका लागि कुनै अवरोध नभएको
तर्क गर्दै आचार्यले राजीनामा दिने ठाउँ छैन भन्नु
बहानाबाजी मात्र भएको आरोप लगाउनुभयो ।
|