कांग्रेस र एमाले विघटनतिर

सन्तोष पौडेल

काठमाडौं, १५ वैशाख

संविधानसभा निर्वाचनमा १० वर्ष सशस्त्र जनयुद्ध लडेर आएको माओवादी २२० सिटसहित सबैभन्दा ठूलो दल बनेपछि विद्यमान नेपाली राजनीतिक समीकरण जबर्जस्त क्रमभंग भएको छ ।

संविधानसभामा आफूलाई हात्ती पार्टी दाबी गर्दै आएका नेपाली कांग्रेस र एमालेको सर्मनाक पराजय हात लागेपछि यी पार्टीहरू पूर्णतः विघटनको प्रक्रियामा पुगेका छन् ।

विगतमा २०५ सिटमध्ये ११३ सिटसहित सत्ताको बागडोर सम्हालेको नेपाली कांग्रेस अहिले ५७५ सिटमा ११० सिट अर्थात् १९ दशमलव १३ प्रतिशत र एमाले १०३ सिट अर्थात् १७ दशमलव ९१ प्रतिशत सिटमा सीमित बन्न पुगेपछि देशैभरि विघटनको संघारमा पुगेका हुन् ।

पराजयको कारण माओवादी अवरोध भनेर प्रचार गरे पनि आन्तरिक छलफलमा उनीहरूले आन्तरिक कारण र मुख्यतः नेतृत्वको अक्षमता, नातावाद र व्यक्तिवादी सोच नै भएको निष्कर्ष निकालिरहेका छन् ।

संविधानसभामा देशव्यापी पराजयको संकेतबाट विक्षिप्त भएर कांग्रेसका कार्यबाहक सभापति सुशील कोइरालाले चैत २९ गते नै राजीनामा दिए भने एमालेका महासचिव माधवकुमार नेपालले काठमाडौं २ बाट माओवादीका झक्कुप्रसाद सुवेदीसंग हारेपछि पार्टीको सर्वोच्च पद महासचिवबाटै राजीनामा दिनुभयो ।

संविधानसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक प्रणालीको मतगणनाको अन्तिम परिणाम आउादासम्म कांग्रेसको १६ जिल्ला कार्यसमिति पूर्ण रूपमा विघटन भएका छन् भने केन्द्रीय सदस्य, महासमिति सदस्यसहित २० हजारभन्दा बढी नेता कार्यकर्ता कारबाहीका लागि सिफारिसमा परेका छन् । एमालेका युवाहरूले पार्टी केन्द्रीय समिति पूर्ण रूपमा विघटन गरी नयाँ कार्य समिति बनाउन माग गरेका छन् भने कांग्रेसका अधिकांश कार्यकर्ताहरूले विद्यमान नेतृत्वको पूर्ण रूपमा विघटन गर्न माग गरेका छन् ।

यसरी विघटन भएका कांग्रेसका जिल्ला समितिहरूमा मोरङको ८० सदस्यीय जिल्ला समिति, सोलुखुम्बुको ३५ जिल्ला सदस्यीय जिल्ला समिति, उदयपुरको जिल्ला समिति, बैतडीको ४२ सदस्यीय जिल्ला समिति, दोलखाको ४१ सदस्यीय जिल्ला कार्यसमिति रहेका छन् ।

त्यसैगरी सर्लाहीको जिल्ला समिति र महासमिति सदस्यसहित ५०० कार्यकर्तालाई कारबाहीका लागि सिफारिस गरिएको छ भने सप्तरीमा जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा पराजय भोगेपछि जिल्ला समिति विघटन भएको छ ।

दोलखाका उम्मेदवार ताराबहादुर कोइरालालाई असहयोग र अन्तर्घात गरेको भनी देवी न्यौपानेको अध्यक्षतामा रहेको ३५ सदस्यीय जिल्ला कार्यसमिति पूर्ण रूपमा विघटन गरिएको छ भने अन्तरिम विधायक रामजीवन सिंह, महासमिति सदस्य माधवमणि राजभण्डारी, बलबहादुर केसी र सचिव केशवराज चौलागाईंलाई पार्टीबाट निष्काशन गरी कार्बाही गर्न सिफारिस गरेको छ ।

त्यसैगरी कपिलवस्तुमा पराजय भोगेपछि सुरु भएको कांग्रेसको आन्तरिक विवाद चरमचुलीमा पुग्दा जिल्ला समिति नै दुई फ्याक भएको छ भने क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति केदारनाथ शुक्लाले साधारण सदस्यबाट राजीनामा दिएका छन् ।

कांग्रेस विघटनको प्रक्रिया पूर्वी नेपालको ओखलढुंगामा पनि तीव्रताका साथ अगाडि बढेको छ । दुवै क्षेत्रमा सर्मनाक हार भोगेपछि पार्टीभित्रकै अन्तर्घातका कारण २०१५ सालदेखिको पकडबाट हात धुनुपरेको ठहर गर्दै पूर्वमन्त्री बलबहादुर राई, होमनाथ दाहाल, जिल्ला सभापति प्रेमराज राई, सचिव मित्रसेन दाहाल, जनजाति संघका अध्यक्ष लेखबहादुर राई, तरुण दलका केन्द्रीय सदस्य राजबहादुर किरातीलगायतलाई कार्बाहीका लागि केन्द्रमा सिफारिस गरिएको छ । नेपाली कांग्रेसका उम्मेदवारलाई हराउनकै लागि भनेर पूर्वमन्त्री बलबहादुर राई जिल्लामा नगई राजधानीमै बसेको उम्मेदवारहरूको दाबी छ ।

आफ्नो दरिलो किल्ला दाबी गर्दै आएको कांग्रेसको धादिङ जिल्ला कार्यसमिति र मकवानपुरको जिल्ला कार्यसमितिले पनि निर्वाचनमा नराम्ररी पराजय बेहोरेपछि पूर्ण रूपमा विघटित भएका छन् ।

धादिङ जिल्लाका तीन र मकवानपुरका चारवटै क्षेत्रमा माओवादी उम्मेदवारले विजय हासिल गरेपछि पार्टीलाई अन्तर्घात गरेको भनी ती जिल्ला समितिहरू विघटन गरिएको दाबी गरिएको छ ।

त्यसैगरी हिमाली जिल्ला रसुवामा पनि निर्वाचनमा भोगेको लाजमर्दो हारपश्चात् कांग्रेस र एमालेको जिल्ला कार्यसमिति भंग भएका छन् ।

मोरङमा कांग्रेसका समानुपातिकका उम्मेदवारले माओवादीलाई भोट माग्दै हिँडेको भन्दै जिल्ला कार्यसमिति नै विघटन गरिएको छ भने सक्रिय १० हजार कार्यकर्तामध्ये अधिकांश क्रियाशील कार्यकर्तालाई पार्टीबाट पूर्णतः निष्काशन गर्न केन्द्रमा सिफारिस गरिएको छ ।

२०५६ सालमा तीन सिट जितेको कांग्रेस एक सिटमा सीमित भएपछि अन्तर्घातकै कारण चुनाव हारेको विश्लेषण गर्दै सो निर्णय गरिएको जनाइएको छ । विधिवत् र आधिकारिक विज्ञप्ति निकालेर विघटन गरिएकाबाहेक अन्य दर्जनौं जिल्ला समितिमा तीव्र विवाद बढेको र लगभग विघटनका संघारमा पुगेका खबरहरू आइरहेका छन् । यसले कांग्रेसको ६० बर्सेर् इतिहासमा यति धेरै विघटन पहिले कहिल्यै नआएको र यदि नेतृत्व पूर्ण रूपमा परिवर्तन गर्न नसके कांग्रेस यसभन्दा अगाडि जान नसक्ने युवा नेता गगन थापालगायतको भनाइ छ ।

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd