'स्पष्ट
नीतिकै कारण चुनाव जितियो’

काठमाडौं, १६ वैशाख
। नेकपा (माओवादी)
ले १० वर्षे जनयुद्धको प्रभाव, पार्टीले राज्य
पुनर्संरचना, गणतन्त्र र संघीयताको बारेमा लिएको
स्पष्ट नीतिको कारणले नै संविधानसभा निर्वाचनमा
उल्लेख्य विजय हासिल भएको ठहर गरेको छ ।
संविधानसभा निर्वाचन समीक्षा,
समानुपातिक सदस्य छनोट र पार्टीको आगामी नीति तय गर्न
सोमबारदेखि राजधानी काठमाडौंमा सुरु भएको माओवादी
केन्द्रीय समितिको पूर्ण बैठकले सो ठहर गरेको हो ।
काठमाडौं नयाँबजारस्थित एक घरमा
सोमबार सुरु भएको उक्त बैठकले संविधानसभा निर्वाचनको
समीक्षा गर्नुका साथै संविधान निर्माण प्रक्रिया,
निर्वाचनमा ठूलो पार्टी भएको नाताले सरकार गठनलगायतका
विषयमा छलफल भएको माओवादी स्रोतले बताएको छ ।
सोमबारको बैठकमा अध्यक्ष
प्रचण्डले संविधानसभा निर्वाचनमा विजयी भएका सबै
केन्द्रीय सदस्य र अन्य उम्मेदवारहरूलाई धन्यवाद दिादै
समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको सहभागी
एक केन्द्रीय सदस्यले बताउनुभयो ।
अध्यक्षको उक्त प्रतिवेदनमा
संविधानसभा निर्वाचनमा पार्टीले पाएको सफलताको समीक्षा
गर्नुका साथै निर्वाचनमा माओवादीलाई हराउन देशी-विदेशी
शक्ति केन्द्रहरूले खोलेको भूमिकाको बारेमा उल्लेख
गरिएको छ ।
प्रतिवेदनमा निर्वाचनको
परिणामलाई लिएर देशभित्रका विभिन्न वर्ग, समुदाय र जनता
तथा दातृनिकायहरू र कूटनीतिक नियोगहरूले व्यक्त गरेको
प्रतिक्रियाबारेका कुरा पनि अध्यक्ष प्रचण्डले
प्रतिवेदनमा समेट्नुभएको छ ।
उक्त प्रतिवेदनमा जनताले माओवादी
एजेन्डाहरू अनुमोदन गरेकाले अब ती एजेन्डाहरू
कार्यान्वयन गर्ने पार्टीको आगामी चुनौती रहेकाले सबै
त्यसमा लागिपर्नुपर्ने उल्लेख गरिएको छ ।
बैठकमा अध्यक्ष प्रचण्डले
संविधानसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फका सयजना
सदस्यको छनोट तथा सरकार निर्माणको गर्ने विषय पनि
छलफलका क्रममा प्रस्तुत गर्नुभएको र उहाँले नयाँ सरकार
बनाउने विषयमा अहिलेसम्म अन्य राजनीतिक दलहरूसंग भएको
वार्ताको उपलब्धिको बारेमा समेत केन्द्रीय सदस्यहरूलाई
जानकारी गराउनुभएको बताइएको छ ।
सोमबारको बैठकमा एघारवटा राज्य
समितिका इन्चार्जहरूले संविधानसभा निर्वाचनमा पार्टीले
पाएको सफलता र असफलताको बारेमा रिपोर्टिङ गरेका थिए ।
उनीहरूले संविधानसभा निर्वाचनमा
१० वर्षे जनयुद्धको प्रभाव, पार्टीले राज्य पुनर्संरचना,
गणतन्त्र र संघीयताको बारेमा लिएको स्पष्ट नीति, नयाँ
नेपाल निर्माणको विषयमा प्रतिबद्धतापत्रको प्रभाव र
आमकार्यकर्ताको परिश्रमको कारणले सफलता हासिल भएको
बताएका थिए ।
त्यस्तै विदेशीको चलखेल,
स्रोत-साधन र कार्यकर्ताको केन्द्रीकृत परिचालनको अभाव
र अन्य राजनीतिक दलहरूले गरेको पैसाको चलखेललाई
पूर्णतया रोक्न नसक्दा केही क्षेत्रमा असफलता
भोग्नुपरेको बताएका थिए ।
राज्य समितिका इन्चार्जहरूले
संविधानसभा निर्वाचनमा हारेपछि कांग्रेस र एमालेका
नेताहरू मनोगत प्रचारमा लागेको, अमेरिका र भारतले
माओवादीलाई हराउन अपनाएको विभिन्न हथ्कन्डाहरू असफल
भएको भन्दै आगामी सरकार माओवादीकै नेतृत्वमा हुनुपर्ने
प्रस्ताव राखेको सहभागी एक केन्द्रीय सदस्यले बताउनुभयो
।
माओवादी संविधानसभा निर्वाचनबाट
सबैभन्दा ठूलो दलका रूपमा स्थापित भएपछि सुरु भएको यो
उसको पहिलो बैठक हो । माओवादीले संविधानसभा निर्वाचनको
प्रत्यक्षतर्फ १२० र समानुपातिकतर्फ १०० गरी २२०
स्थानमा विजय हासिल गरेको छ ।
माओवादीको यो बैठक मंगलबार पुनः
बस्ने बताइएको छ ।