देश टुक्र्याउन
खोजे नयाँ ध्रुवीकरण :
विप्लव
-
मनोज घर्तीमगर
काठमाडौं, १४ असार
: नेकपा (माओवादी)का
केन्द्रीय सचिवालय सदस्य नेत्रविक्रम चन्द 'विप्लव’ले
नेपाली कांग्रेसले विदेशीको षड्यन्त्रमा देश
टुक्र्याउन खोजे नयाँ ध्रुवीकरण हुने चेतावनी दिनुभएको
छ ।
'कांग्रेसले विदेशी षड्यन्त्रमा देश टुक्र्याउने
खेल खेल्दैछ । त्यसो भयो भने नेपालमा नयाँ ध्रुवीकरण
हुनेछ,’ अछाम- काठमाडौं
गणतान्त्रिक मञ्चको आयोजनामा शनिबार काठमाडौंमा
सम्पन्न एक कार्यक्रममा उहाँले सो चेतावनी दिनुभएको हो
। तर नेता विप्लवले नयाँ ध्रुवीकरण कस्तो हुने भन्ने
विषयमा भने स्पष्ट पार्नुभएन ।
नेता विप्लवले बिहीबार संविधानसभा बैठकमा मधेसवादी
दलले गरेको प्रदर्शनलाई संकेत गर्दै भन्नुभयो- 'गिरिजाप्रसादले
संविधानसभामा प्रधानमन्त्रीको राजीनामा दिए तापनि
उत्तेजित पारेर गए ।’
उहाँले गिरिजाप्रसादले राष्ट्रपति खोजेर हारेको सत्ता
फर्काउन खोजेको आरोप लगाउँदै भन्नुभयो- 'कांग्रेस शक्ति
सञ्चयमा लागेको छ । र, उसले ब्याटलको अन्तिम तयारी पनि
गर्दैछ ।’
गिरिजाप्रसादको मातहतमा रहेर माओवादी कहिल्यै दलीय
प्रतिस्पर्धा नगर्ने ठोकुवा गर्दै विप्लवले बहुदलीय
प्रतिस्पर्धा सबै समान हैसियतमा रहेर मात्र हुने धारणा
राख्नुभयो । 'त्यो लोकतान्त्रिक गणतन्त्रमा होइन,
जनवादी राज्य व्यवस्थामा मात्र हुन्छ,’
उहाँले जनगणतन्त्रमा मात्र जनताका वास्तविक सत्ता आउने
बताउँदै लोकतान्त्रिक गणतन्त्र पुँजीवादको मात्र भएको
बताउनुभयो ।
'विभिन्न देशीविदेशी शक्तिबाट नेपाली जनताको विजयको
झन्डालाई ओझेलमा पार्ने षड्यन्त्र भइरहेको छ । ती
षड्यन्त्रहरू नेपाली जनताका लागि अहिलेका मुख्य चुनौती
बन्न पुगेको छ,’ नेता
विप्लवले भन्नुभयो । 'दलाल पुँजीपति र नोकरशाह पुँजीपति
नेपाली जनताको मुख्य चुनौतीका रूपमा रहेका छन्,’ उहाँको
भनाइ थियो ।
उहाँले कांग्रेसले माओवादीलाई
अहिले लगाइरहेका विभिन्न आरोपहरू १९औं शताब्दीमा
कम्युनिस्टले पुँजीवादलाई लगाएको आरोप हो भन्नुभयो ।
सो अवसरमा नेता विप्लवले जनताबाट दुई/दुई ठाउँमा
पराजित भएका एमालेका पूर्वमहासचिव माधवकुमार नेपाल
राष्ट्रपति हुन्छु भनेर तम्सनु हास्यास्पद भएको
बताउनुभयो ।
नेता विप्लवले संविधानसभामा
विभिन्न बहानामा अवरुद्ध पार्दै सही राजनीतिक निकास
निस्कन नदिनुलाई साम्राज्यवादको षड्यन्त्रको खेल हो
भन्नुभयो । उहाँले प्रतिक्रान्तिलाई क्रान्तिले परास्त
पारेको दाबी गर्दै माओवादीको कााधमा नयाँ जिम्मेवारी
थपिएको बताउनुभयो ।
संविधानसभामा माओवादीको विजयको
प्रसंग कोट्याउँदै नेता विप्लवले भन्नुभयो- 'टाउकोमाथि
उठेको प्रतिक्रान्तिको बादललाई क्रान्तिले परास्त गरेको
छ ।’
कार्यक्रममा माओवादी केन्द्रीय सदस्य तथा सभासद्
लेखराज भट्टले प्रम कोइरालाले संविधानसभामा राजीनामाको
नाटक मात्र गरेको आरोप लगाउनुभयो । 'राजीनामाको नाटकले
अरूलाई उकासियो,’ सभासद्
भट्टको भनाइ थियो । उहाँले संविधानसभाबाट सरकार
निर्माण गर्न नदिए सडकमा पनि आउने चेतावनी दिनुभयो ।