|
देश बिखण्डन
गर्ने खेल भइरहे आन्दोलन :
प्रचण्ड
जनदिशा संवाददाता
काठमाडौ, १५ असार
: नेकपा (माओवादी)का
अध्यक्ष प्रचण्डले देश बिखण्डन गर्ने खेल भइरहे देशभरि
आन्दोलन गरिने चेतावनी दिनुभएको छ ।
शेर्पा राष्ट्रिय मुक्ति
मोर्चाद्वारा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा
बोल्दै उहाँले भन्नुभयो-'एक साताभित्र पनि राजनीतिक
गतिरोध कायमै रहे देशभरका जनतालाई त्यसविरुद्धमा लाग्न
आग्रह गरिनेछ ।’
अध्यक्ष प्रचण्डले मुलुक
बिखण्डन गर्ने कुनै मागमा सहमति नगरिने स्पष्ट पार्दै
एक मधेस एक प्रदेशको माग तराईका जनताको भावनाविपरीत
भएकाले यसबाट साम्प्रदायिक दंगा भड्किने खतरा रहेको
बताउनुभयो ।
उहाँले एक मधेस एक प्रदेशले
आत्मनिर्णयको अधिकारलाई समेट्न नसक्ने पनि स्पष्ट
पार्नुभयो ।
मधेसवादी दलहरूले भने एक मधेस
एक प्रदेशको माग उठाएर संविधानसभा बैठक अवरुद्ध पार्दै
आएका छन् ।
उनीहरूले संविधानसभा
व्यवस्थापिका-संसद्को हैसियतमा आइतबार बस्न लागेको सातौं
बैठक पनि अवरुद्ध पारे । सभाध्यक्ष कुलबहादुर गुरुङले
सभाको कार्यबाही थाल्नेबित्तिकै उनीहरूले रोष्ट्रम गई
नाराबाजी गरेर बैठक अगाडि बढ्न दिएनन् ।
सभाध्यक्ष गुरुङले 'तपाईंहरूको
कुरा मिलिसक्नुपर्ने मिलेन र ? माननीय सभासद्हरू बैठकको
कार्यक्रम अगाडि बढाउन म तपाईंहरूलाई आग्रह गर्दछु ।’
भन्नुभएको थियो । उनीहरूले त्यसरी नै नाराबाजी गरे ।
त्यसपछि सभाध्यक्ष गुरुङले बैठक सोमबार ४ः०० बजे चल्ने
गरी स्थगित भएको घोषणा गर्नुभयो ।
चार बजे बस्ने भनिएको बैठक
साँझ ५:०० बजेपछि मात्र सुरु
भएको थियो ।
मधेसवादी दलहरूले यही असार ११
र १४ गते बस्न लागेको बैठक पनि अवरद्ध पारेका थिए ।
यसैबीच यही मागका विषयमा सहमति
खोज्न माओवादी र मधेसवादी दलबीच आइतबार भएको छलफल विना
निष्कर्ष टुङ्गिएको छ । यद्यपि मधेसवादी दलका नेताहरूले
वार्ता सकारात्मक नै बताएका छन् । वार्ता
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको
थियो ।
यसै विषयलाई लिएर माओवादी,
कांग्रेस र एमालेबीच बसेको बैठक पनि कुनै टुङ्गो नलागी
सकिएको छ । समाचार स्रोतका अनुसार माओवादी र एमालेले
यो मागलाई संविधान संशोधनबाट नभई राजनीतिक रुपमा छलफल
गरी समाधान गर्नुपर्ने विचार राखे । नेपाली कांग्रेसले
संविधान संशोधन गरेर पनि माग पूरा गर्नुपर्ने भनाइ
राखेको थियो । यसरी कुरा नमिलेपछि आइतबारको बैठकले कुनै
टुङ्गो लगाउन नसकेको बताइएको छ ।
|